मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार २२:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा ८५ वर्षमाथिका १५२ ज्येष्ठ नागरिक सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार २२:३८:oo

हेटौँडा उपमहानगरपालिकाले ३६औँ ज्येष्ठ नागरिक दिवसको अवसरमा ८५ वर्षभन्दा माथिका १५२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका १९ वटै वडाबाट आठ–आठजना ज्येष्ठ नागरिक छनोट गरी सम्मान गरिएको हो।

नगरप्रमुख मीनाकुमारी लामाले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्दै मह, टर्चलाइट, ब्ल्यांकेट, लौरो र योगा म्याट प्रदान गरेकी थिइन्। उपमहानगरपालिकाका अनुसार प्रत्येक वडाबाट छनोट भएका ज्येष्ठ नागरिकलाई कार्यक्रममा सहभागी गराइएको थियो।

कार्यक्रममा नगरप्रमुख लामाले ज्येष्ठ नागरिकको सम्मानलाई औपचारिक कार्यक्रममा मात्र सीमित गर्न नहुने बताइन्। उनीहरूको आवश्यकता, सुरक्षा र सामाजिक सहभागितालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। परिवार र समाज निर्माणमा ज्येष्ठ नागरिकले पुर्‍याएको योगदानको कदर गर्नु राज्य र नयाँ पुस्ताको दायित्व भएको उनले उल्लेख गरिन्।

लामाले जीवनका अनेकौँ संघर्ष र कठिनाइ पार गर्दै ज्येष्ठ नागरिकले समाजलाई वर्तमान अवस्थासम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। उनीहरूको अनुभव, ज्ञान र योगदान नयाँ पुस्ताका लागि मार्गदर्शनको स्रोत भएको उनको भनाइ थियो।

जीवनका विभिन्न चरणमा ज्येष्ठ नागरिकले हासिल गरेका अनुभव र सिकाइलाई नयाँ पुस्ताले आत्मसात् गर्न सके समाजलाई थप व्यवस्थित र समृद्ध बनाउन सहयोग पुग्ने लामाले बताइन्। ज्येष्ठ नागरिकले देखाएको बाटो र दिएको मार्गदर्शनअनुसार आफूहरू अघि बढिरहेको उल्लेख गर्दै उनले उनीहरूप्रति सधैँ सम्मानको भावना रहने धारणा राखिन्।

ज्येष्ठ नागरिकलाई परिवार तथा समुदायमा सक्रिय रूपमा जोडिराख्नुपर्नेमा पनि लामाले जोड दिइन्। उनीहरूको अनुभव र योगदानको सम्मान गर्दै सामाजिक सहभागिता बढाउन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनको भनाइ थियो।

ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समितिका अध्यक्ष रामबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीको सहभागिता थियो। हेटौँडा उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

↑