बर्दियामा प्रजाति नखुलेको च्याउ खाँदा एउटै परिवारका चारजना बिरामी परेका छन्। गुलरिया नगरपालिका–३, खैरीका उनीहरू प्रजाति नखुलेको च्याउ खाएपछि बिरामी परेका हुन्।
च्याउ खाएर बिरामी हुनेमा गुलरिया नगरपालिका–३, खैरीकी ३८ वर्षीया रिता गोडिया, २० वर्षीया आशा गोडिया, ३१ वर्षीया ज्ञानवती गोडिया र २ वर्षीय युवराज गोडिया रहेका छन्। उनीहरूले बुधबार दिउँसो करिब १ बजे प्रजाति नखुलेको च्याउ खाएका थिए।
च्याउ खाएपछि चारैजनामा बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। च्याउ खाएर बिरामी भएका चारैजनालाई उपचारका लागि बुधबार साँझ करिब ६ बजे बर्दिया अस्पताल, गुलरिया लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार बिरामीहरूले खाएको च्याउ कुन प्रजातिको हो भन्ने खुलेको छैन।
‘च्याउ खाएर बिरामी भएका चारजनाले कुन प्रजातिको च्याउ खाएको हो भन्ने खुल्न सकेको छैन,’ बोहराले भने।