Skip This
तीन दिनअघि कमला नदीमा नुहाउने क्रममा बेपत्ता चालकको खोजी जारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन दिनअघि कमला नदीमा नुहाउने क्रममा बेपत्ता चालकको खोजी जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १८:४४:oo

सिराहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका– ६, भोक्राहा हुँदै बग्ने कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

भोक्राहामा निर्माणाधीन कमला पुलको निर्माण कम्पनीका हलुका सवारीचालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ५ घर भएका करिब ४७ वर्षीय गोविन्दराज दुलाल शनिबार बिहान करिब १० बजेतिर नदीमा डुबेर बेपत्ता भएपछि खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार दुलाल बेपत्ता भएको सूचना पाए लगत्तैदेखि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले भोक्राहाआसपास हुँदै सारश्वर, बेलहा, बसबिट्टासम्म खोजी गरिरहेको छ।

‘धनुषा प्रहरीसँग पनि समन्वय गरी तटीय क्षेत्रमा खोजी हुँदै छ,’ उनले भने, ‘कमला नदीमा आइतबार साँझसम्म पानीको बहाब बढेको र त्यसपछि क्रमशः घट्दै गएकाले सम्भावित ठाउँहरूमा खोजीलाई तीव्रता दिइएको छ।’ कमला पुल निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनका हलुका सवारीचालक दुलालकी श्रीमतीसहित आफन्तहरू आइतबार प्रहरीको सम्पर्कमा आएको उनले बताए।

नुहाउन नदीमा पसेलगत्तै अकस्मात् आएको भेलले बगाएको स्थानीय प्रहरीबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैया, सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्प कल्याणपुर र अस्थायी प्रहरी पोस्टबाट प्रहरी परिचालन गरी खोजी भइरहेको उनले बताए।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार नुहाउने क्रममा बेपत्ता भएको सूचना पाएपछि खोजीका लागि शनिबार २४, आइतबार ४२ र सोमबार २२ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ। ‘नदीआसपास र सम्भावित ठाउँहरूमा खोजी जारी रहेको भए पनि सोमबार साँझसम्म फेला नपरेकाले मंगलबार गोताखोरको टोली मगाउने योजना छ,’ उनले भने, ‘बाढीको पानी घुम्ने ठाउँ, नदीकिनारका झाडीलगायतका ठाउँमा खोजी गर्दै छौँ।’
 

↑