आज नेपालसहित विश्वभर विश्व रेबिज दिवस मनाइँदै छ। हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यस दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘साझेदारीबाट बलियो’ रहेको छ।
रेबिज नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, स्थानीय समुदाय, विद्यालय, सरकार तथा अन्तर्राष्ट्रिय साझेदारबिच समन्वय र सहकार्य आवश्यक रहेको सन्देश यस वर्षको नाराले दिएको छ।
नेपालमा पनि दिवसको अवसरमा विभिन्न सचेतना तथा रेबिज नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्। नेपाल भेटेरिनरी एसाेसिएसनले विश्व रेबिज दिवसलाई लक्षित गर्दै देशका विभिन्न क्षेत्रमा पशु चिकित्सकको क्षमता अभिवृद्धिदेखि विद्यालयस्तरीय जनचेतना कार्यक्रमसम्म सञ्चालन गरिरहेको जनाएको छ।
एसाेसिएसनले पशु सेवा विभागको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरणसम्बन्धी तीनदिने तालिम सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गरेको छ। धनगढीमा सुदूरपश्चिम प्रदेशका १० जना पशु चिकित्सकलाई तालिम प्रदान गरिएको र आगामी चरणमा लुम्बिनी, मधेश तथा गण्डकी प्रदेशमा समेत तालिम सञ्चालन गरी थप ४५ जना पशु चिकित्सकलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको एसाेसिएसनले जनाएको छ।
सामुदायिक कुकुरको बन्ध्याकरणलाई रेबिज नियन्त्रणको समग्र रणनीतिसँग जोडेर अघि बढाउने प्रयास गरिएको हो। बन्ध्याकरणले कुकुरको संख्या व्यवस्थापनमा सहयोग पुर्याए पनि रेबिज नियन्त्रणका लागि कुकुरमा व्यापक खोप, रोग निगरानी, जिम्मेवार कुकुर व्यवस्थापन, जनचेतना तथा कुकुरको टोकाइपछि तत्काल पोस्ट–एक्सपोजर उपचारमा पहुँच पनि उत्तिकै आवश्यक हुन्छ।
विश्व स्वास्थ्य संगठनले पनि रेबिज नियन्त्रणका लागि कुकुरको खोप, निगरानी, जनचेतना तथा मानवमा समयमै उपचारको पहुँचलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।
रेबिजसम्बन्धी जनचेतना विद्यालय तहसम्म पुर्याउने उद्देश्यले एसाेसिएसनले देशभरका करिब ५५० विद्यालयमा ३० हजारभन्दा बढी विद्यार्थीलाई रेबिजसम्बन्धी सचेतना कक्षा सञ्चालन गर्ने कार्यक्रमसमेत अघि बढाएको छ।
विद्यार्थीलाई रेबिजको जोखिम, कुकुरको टोकाइबाट बच्ने उपाय, टोकाइपछि घाउ तत्काल सफा गर्ने तथा समयमै स्वास्थ्य संस्थामा पुगेर खोप लगाउने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने मानव रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ।