Skip This
सल्यानमा तीन दिनपछि विद्युत् सेवा सञ्चालनमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा तीन दिनपछि विद्युत् सेवा सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १५:o६:oo

लगातारको वर्षासँगै आएको पहिरोले रुख ढल्दा विद्युत् प्रसारणलाइनमा क्षति पुगेपछि तीन दिनदेखि अन्धकारमा रहेको सल्यानमा विद्युत् सेवा पुनः सुरु भएको छ। विद्युत् अवरुद्ध हुँदा जिल्लाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको थियो।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा विद्युतका पोल ढल्नुका साथै तारमा क्षति पुगेपछि दाङ–श्रीनगर ३३ केभी प्रसारणलाइन पूर्ण रूपमा अवरुद्ध भएको थियो। विद्युत् प्रसारणलाइनमा ठुलो क्षति पुगेपछि जिल्लाका अधिकांश क्षेत्रमा तीन दिनसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको थिएन।

नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावतका अनुसार पहिरो तथा रुख ढलेर विद्युतका पोल र तारमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको थियो। क्षतिग्रस्त संरचना मर्मत तथा विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएपछि विद्युत् सेवा नियमित भएको उनले बताए।

३३ केभी लाइन सञ्चालन भए पनि ११ केभी एलटी लाइनमा धेरै क्षति पुगेको र उक्त क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ। उनका अनुसार दाङ–श्रीनगर ३३ केभी प्रसारणलाइनमा वर्षाका कारण ठुलो क्षति पुगेको थियो। ठाउँ–ठाउँमा पहिरो खसेका कारण क्षतिग्रस्त स्थानसम्म पुगेर मर्मत कार्य गर्नसमेत कठिनाइ भएको थियो। लगातारको वर्षा र सडक अवरोधका कारण प्राविधिक टोलीलाई विद्युत् प्रसारणलाइनको क्षति भएको स्थानमा पुग्न समस्या भएको उनको भनाइ छ।

विद्युत् अवरुद्ध हुँदा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय, सञ्चारमाध्यम, शैक्षिक संस्था तथा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका थिए। मोबाइल चार्ज गर्नेदेखि इन्टरनेट तथा अन्य विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या भएको थियो।
 

↑