Skip This
निकास नहुँदा मलंगवा क्षेत्र डुबानमा, विद्युत् आपूर्ति बन्द, चन्द्रनगरमा एक घर ढल्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
श्रवण थापा सर्लाही
२o८३ असोज १२ सोमबार १५:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निकास नहुँदा मलंगवा क्षेत्र डुबानमा, विद्युत् आपूर्ति बन्द, चन्द्रनगरमा एक घर ढल्यो

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १५:२६:oo

लगातारको भारी वर्षाका कारण सर्लाही सदरमुकाम मलंगवा क्षेत्र डुबानमा परेको छ। भारी वर्षाको पानीले मलंगवा बजार र सडकहरू जलमग्न बनेका छन्। पानीको निकास नहुँदा यहाँका घरहरूमा आइतबार रातिदेखि नै पानी पसेको थियो।

सडकहरू जलमग्न भएपछि आवागमनसमेत अवरुद्ध भएको मलंगवा नगरपालिका– ९ का दिनेश महतोले जानकारी दिए। यहाँ शनिबार साँझदेखि भारी वर्षा भएको हो।

पानी घरभित्र पस्दा अन्नपात, लत्ताकपडालगायतका सामान डुबानमा परेका छन्। स्थानीयको जनजीवनसमेत प्रभावित भएको छ। मलंगवा बजारका दीपेन्द्र सिंहले रातभरि पानी परेर घरवरिपरि तलाउ बनेको र घुँडाभन्दा माथिसम्म पानी जमेको बताए। उनका अनुसार घरका कोठाभित्रसमेत घुँडाघुँडासम्म पानी जमेको छ।

मलंगवा नगरपालिका– १० का विभिन्न स्थानमा पानी जमेर डुबान भएको वडाध्यक्ष मुकेश झाले जानकारी दिए। वडाको डुबानको अवस्थाबारे बुझ्ने काम भइरहेको उनले बताए। निकासको सुविधा नभएका स्थानमा रहेका होचा घरहरूमा पानी जमेर बस्न नमिल्ने अवस्था भएको उनको भनाइ छ। त्यस्ता नागरिकको विवरण संकलनको काम भइरहेको उनले बताए।

यस्तै, दिउँसोदेखि पानी पर्न रोकिएपछि स्थानीयले केही राहत महसुस गरेका छन्। पानी पर्न रोकिएपछि घरमा जमेको पानी हटाउने तथा जाम भएका नाला सफा गर्ने काममा स्थानीय जुटेका छन्। मौसम उघ्रिएपछि थप डुबानको जोखिम टरेको स्थानीयको भनाइ छ।

यसैबिच, वर्षाको पानीका कारण जिल्लाको चन्द्रनगर गाउँपालिका– १, किसनपुरमा एक घर ढलेको छ। स्थानीय रोहित पासवानको फुसको भुइँघर ढलेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। घर ढलेर बिचल्लीमा परेको पासवान परिवारलाई गाउँपालिकाको तर्फबाट तत्काल खाद्यान्न, त्रिपाललगायतका सामग्री उपलब्ध गराइएको उनले बताए।

घर ढल्दा अन्नपात, लत्ताकपडालगायतका जायजेथा गरी अन्दाजी दुई लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ।

रातिदेखि सबस्टेसन बन्द, दर्जनौँ स्थानमा विद्युत् अवरुद्ध
पानी पसेपछि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाको सबस्टेसन रातिदेखि बन्द भएको छ।

मलंगवा नगरपालिका– २ मा रहेको सबस्टेसनमा पानी पसेपछि वितरण केन्द्रअन्तर्गतका दर्जनौँ स्थानमा विद्युत् आपूर्ति बन्द भएको हो। सबस्टेसनको कन्ट्रोल प्यानलसमेत डुबानमा परेका कारण रातिदेखि नै वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत् अवरुद्ध रहेको केन्द्रका प्रमुख माधवेन्द्र यादवले जानकारी दिए। सबस्टेसन नजिकै पानी निकासमा अवरोध भएका कारण पानी रोकिँदा समस्या भएको उनको भनाइ छ।

उनका अनुसार मध्यरातिदेखि पानीले सबस्टेसनको कन्ट्रोल प्यानल डुबाएको हो। अहिले पम्पसेटबाट पानी निकाल्ने काम भइरहेको उनले जानकारी दिए।

‘साँझदेखि परेको पानीले सबस्टेसनको कन्ट्रोल प्यानलसमेत डुबेको छ,’ उनले भने, ‘हामी बिहान झिसमिसेदेखि दमकल लगाएर पानी फाल्ने काम गरिरहेका छौँ। केही समयपछि प्यानल सुकाएर फेरि विद्युत् नियमित गर्छौँ।’

विद्युत् अवरुद्ध भएसँगै मलंगवाआसपासका टेलिकम टावरहरूसमेत बन्द हुँदा फोन नेटवर्कमा समेत समस्या भइरहेको स्थानीयले गुनासो गरेका छन्।

जिल्लाका अन्य स्थानमा भने अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए। निरन्तर वर्षा भए पनि नदीहरूमा पानीको सतह नबढेको उनले बताए। सम्भावित जोखिमका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको उनको भनाइ छ। जिल्ला विपत् व्यवस्थापन समितिले विगतका अवस्थालाई समेत ध्यानमा राखेर रणनीतिक योजना तयार गरी काम गरिरहेको उनले बताए।

↑