मानव के हो ? किन जन्मिन्छन् ? मूल्य कति ? बाँचे के हुने ? र, मृत्यु के हो ? भन्ने दर्शन मानवशास्त्रले धेरै अध्ययन गरिसकेको छ । राज्य, शासन र मानव मूल्यको अन्तरसम्बन्ध पुष्टि गर्ने सरल उदाहरण हो कविर महर्जन । गत भदाै १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा नेपालले व्यहोर्नुपरेको महाविपत्तिमा कविर महर्जनको दसाैँ दिनमा जीवितै उद्धार गरिएको थियो । उक्त महाविपत्तिले पृथ्वी जगत् र जलवायु परिवर्तनको ज्वलन्त नतिजासँगै मानव जीवनको मूल्य के हो भनी सार्थक सबक सिकाएको छ । राज्य के हो ? राज्यको उपस्थिति र औचित्य कुन ठाउँमा सान्दर्भिक हुन्छ भन्ने सन्देश पनि महाविपत्तिबाट हामीले पाएका छौँ । प्रस्तुत लेखमा पृथ्वी किन आवश्यक छ ? सजीव प्राणी र पृथ्वीको अन्तरसम्बन्धलाई मुख्य चार चरणमा शीर्षकगत क्रमशः चर्चा गरेको छु ।
विपतको कारण र विपतको अवस्था
गत भदौ १० गतेको विपतको कारण हिमालय र तिब्बत क्षेत्रमा झरेको चट्टान र चट्टान फुटेर हिमताल छताछुल्ल भई ताल फुटेर एकैपटक आएको बाढी हो भनी विभिन्न अनुसन्धान र सिमुलेसनले सामाजिक सञ्जालहरूमा सन्देशहरू दिएका छन् । यसको मूल कारण पृथ्वीको तापमान वृद्धि र जलवायु परिवर्तनले पृथ्वीको नियमित संरचनामा आएको फेरबदल हो भनी वैज्ञानिकहरू निष्कर्षमा पुगेका छन् । जलवायु परिवर्तनले हिमालय क्षेत्रको हिमताल फुट्ने मात्र होइन, चट्टानी पहिरो जान सक्ने, सेता हिमाली पहाडहरू कालापथ्थरमा परिवर्तन हुने, हिमाली वन्यजन्तु र वनस्पतिहरूमा पुराना प्राकृतिक अनुकूलता चक्र भत्किएर नयाँ खालको अनुकूलन निर्माण हुने र प्राकृतिक चक्रहरूमा क्रमशः रूपान्तरण हुने वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन् । पृथ्वी हाम्रो साझा घर हो भन्ने मान्यताका साथ सन् १९९२ मा दिगो विकाससम्बन्धी पृथ्वी सम्मेलन ब्राजिलको रियो दि जेनेरियोमा भएको थियो। सन् २००० को दशकमा सहश्राब्दी विकास लक्ष्यसँगै सन् २०१५ मा दिगो विकासका १७ वटा लक्ष्य निर्धारण गरिएको थियो । यी १७ वटा लक्ष्यहरू मूलतः विकास, वातावरण, समाज र राज्यको साझा हितसँगै हुनुपर्नेमा केन्द्रित रहेको छ । संयुक्त राष्ट्रसंघले समेत पिपल, प्लानेट, पिस र प्रोसपेरिटीलाई सँगसँगै लानुपर्ने मान्यता राखेको छ । पृथ्वीको क्रमिक विकास र जलवायु परिवर्तनले विपत मात्र होइन, क्रमशः नयाँ प्रजाति र पारिस्थितिक प्रणाली निर्माण र नयाँ किसिमको अनुकूलन निर्माण हुँदै जान्छ ।
यसका अतिरिक्त अन्य बहुआयामिक असरहरू पनि हुन्छन्, जस्तै तराईमा पाइने जीवचक्र क्रमशः माथिल्लो उचाइतर्फ सर्दै जाने, डेंगु, झाडापखाला, मलेरिया र सर्पदंशजस्ता रोगहरूको संक्रमण दर बढ्न सक्ने सम्भावना रहन्छ । पृथ्वीमा आउने असामान्य परिवर्तनको असर कुन तहमा कति हुन्छ भन्ने विषयमा एउटा छुट्टै लेख लेख्नुपर्ने हुन्छ, यसको असर र प्रभावबारे हालै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सशक्त रूपमा बोल्नुभएको विषयबाट प्रस्ट हुन्छ । जलवायु परिवर्तनको कारण भोटेकोशी र त्रिशूलीमा सिर्जित बाढीले हजारौँको जीवन समाप्त भयो, हजारौँ बेपत्ता छन् र खर्बौँको आर्थिक गतिविधि नष्ट भयो । योसँगै सयौँ वर्षदेखिको चल्दै आएको दैनिकी जनजीवन, समुदाय र भूगोल प्रणालीसमेत तहसनहस भएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विध्वंसकारी बाढीले बगाएर निसासिएका कविर महर्जनलाई १० दिनपछि उद्धार गरी अस्पताल लगिएको थियो र अस्पतालबाट डिस्चार्जसमेत भइसकेका छन् । यो बाढी आउनुमा कविर महर्जनको कार्बन फुट प्रिन्टबाहेक अरू कुनै गल्ती थिएन, तर उनले उक्त विपत्तिको सामना गर्नुपर्याे ।त्यसैले पृथ्वीको पारिस्थितिक प्रणाली बचाउनु संसारभरिका मानवजातिको साझा दायित्व र जिम्मेवारी हो ।
उद्धार नहुँदाको अवस्थामा कविरको मनस्थिति र जीवनको मूल्य
‘म निस्कनुपर्छ, म निस्कन्छु, एनिहाउ म टनेलको माउथसम्म पुग्नुपर्छ म बाँच्नुपर्छ, म बाँच्छु भन्ने सोचेँ, अरू केही सोचिनँ। सञ्जय र म टनेलभित्र थियौँ, पानी आएपछि म कहाँ पुगेँ कहाँ पुगेँ थाहै भएन, म भएको सबै ठाउँमा हिलो थियो, एकछिन निस्कन खोजेँ सकिनँ, त्यसपछि निदाएछु, म निदाउने ब्युँझिने भइरहेको थियो, एक दिन कुनै दिन बत्ती बलिरहेको र कोही बोलिरहेकोजस्तो आवाज सुनेँ त्यसपछि तपाईं को हो कहाँ हो भनेपछि म कहाँ छु थाहा छैन भनेँ, म धेरै बोल्न सक्ने अवस्था थिइनँ । नेपाली सेनाको रेस्क्यु टिम आएपछि म अब बाँच्छु भन्ने लाग्यो । केही समयपछि नेपाली सेनाको रेस्क्यु टिमले मलाई दोस्रो जीवन दिनुभएकोमा धन्यवाद भनेँ र सबैलाई नमस्कार गरेँ, मलाई उद्धार गरेपछि हेलिकाेप्टरबाट काठमाडाैं लगे । अस्पतालमा कसैबाट तपाईंको परिवारको नम्बर थाहा छ ? भनी सोधेपछि मैले नम्बर भनेँ र मेरो परिवार आए ।’ कविर महर्जनले उद्धारपछि अस्पतालमा शय्यामा बताएको अनुभव ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ ।नेपालको संविधानको धारा १६ ले समेत बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ । मौलिक हक र मानव अधिकारको अवधारणा र घोषणा आउनुअघि वा राज्य प्रणाली नआए पनि बाँच्न पाउने अधिकारलाई मानव उत्पत्तिसँगै स्वीकार गरिएको विषय हो । बाँच्न पाउने अधिकार प्राकृतिक नैसर्गिक अधिकारसमेत हो र बाँच्न पाउनु सबै सजीवको सार्वभौम अधिकार हो। मानव मात्र नभई सबै प्राणीहरूले समेत बाँच्नलाई संघर्ष गरिरहेका हुन्छन् र जीवजन्तु, चराचुरुंगीले समेत बाँच्न पाउने अधिकारको महसुस गर्छन्। बाँच्ने अधिकारलाई राष्ट्रियता, जात, धर्म पेसा, लिंग वा वर्ण केहीले पनि नियमन गर्न मिल्दैन, यो गर्भदेखि नै स्वाभाविक रूपमा पाउने अधिकार हो । त्यसैले कविर महर्जनजस्तै जीवन र मरणको दोसाँध भएको अवस्थामा एकदेश वा अर्को देश भनिँदैन ।सबै राष्ट्रहरूले मानव सास र शरीरलाई कुनै मूल्यसँग तुलना नगरी व्यक्तिको जीवन बचाउन सबै शक्तिको प्रयोग गरेका हुन्छन् । शरीर रहेमा मात्र अन्य अधिकार, राष्ट्रियता वा नागरिकताको अर्थ रहन्छ । यो क्षणमा शरीरको अस्तित्व मात्र हेरिन्छ । शरीर बचाउन सके सबै कुरा बाँच्छ भन्ने मान्यता रहन्छ । यो जीवन जगत्, धर्म वा राज्यको पहिलो प्राथमिकता सर्त वा अनिवार्य दायित्यभित्र बाँच्न पाउने अधिकार रहने र यो अधिकार कसैको कृपाले पाइने अधिकार नभई स्वस्फूर्त रूपमा पाइने शाश्वत सत्य हो । सृष्टिको प्रथम सर्त र उपहार नै बाँच्न पाउने अधिकार हो ।
उद्धार हुँदाको क्षण, राज्य र सरकार भएको अनुभूति र औचित्य
जब हाम्रो शरीरको जन्म हुन्छ तब प्राकृतिक व्यक्ति र कानुनी हैसियत दुवै निर्माण हुन्छ । त्यो कानुन संसद्ले बनाउँछ र राज्य प्रणालीमा चलायमान रहन्छ । कविर महर्जनको उद्धार हुनु अघिसम्म शरीर र मानवजीवन अर्थात् सास मात्रको सवाल थियो, त्यसैले सीमाविहीन मानवहितकेन्द्रित सहयोगका लागि संसारभरि चासो र सरोकार मानवजीवन बचाउन थियो र राज्यको सीमा वा राष्ट्रियता भन्ने विषय गौण थियो । त्यसैले जीवनका लागि अन्य राज्यको पनि उपस्थिति रह्यो । कविर महर्जन एक व्यक्तिको उद्धार गर्नु भनेको मानवता र मानव जातिबिचको भ्रातृत्व र प्रेमको सवाल थियो । तर, उद्धार भएपछि अब जन्म अर्थात् पुनर्जन्म भएको अनुभूति सबैले गरेका थियौँ ।
जब नेपाली सेना र मित्रराष्ट्रहरूको उद्धारकर्मीले दिनरात नभनी साहसीपुर्ण तवरले उद्धार गरे तब उपचार, पुनर्स्थापन र सामाजिकीकरणको चरणमा कविर महर्जन प्रवेश गर्नुभयो । मानव सासबाट कानुनी अधिकार हैसियत र राज्य प्रणालीमा समाहित हुने अवस्थामा कविर महर्जन पुग्नुभयो । त्यो समय सरकारको उपस्थिति र औचित्य पुष्टि गर्ने समयसमेत थियो। संघ, प्रदेश वा स्थानीय निकाय वा विश्वव्यापी सरकार भएको अनुभूति त्यो वेला हुन्छ जतिवेला च्यापिएको वा निस्सासिएको वेला सरकारले सास भर्छ, जतिवेला नागरिक रोएको वेला सरकारले आँसु पुछिदिन्छ र सहानुभूति प्रदान गर्छ, जब घरबार हराउँछ त्यो वेला झुपडि भए पनि ओत्ने टहरा सरकारले बनाइदिन्छ, जब भोकमरी हुन्छ सरकारले खानेकुरा प्रदान गर्छ। त्यसैले सरकारको मूल दायित्व भनेकै बेपत्ता परेका नागरिकको सुखदुःखमा बलियो साथ प्रदान गर्नु र बिचल्ली र विपत्तिमा परेका परिवारको सहारा बन्नु हो । सामान्य अवस्थामा दैनिकी सहज बनाउँदा सरकारको उपस्थिति अनुभूति न्यून हुन्छ, तर विपतको समयमा सरकार तथा राज्य नागरिकको अभिन्न अविभावक भएर खडा हुनु अति जरुरी रहन्छ ।
उद्धारपछि सामाजिक जीवनमा प्रवेश
माथि चर्चा गरिएको शीर्षकहरू मानव जीवनका चरणबद्ध चक्र हुन् । पहिलो चरण पृथ्वीको जीवनसँग सरोकार राख्दछ । यसमा जलवायु परिवर्तनको कारण पृथ्वी क्षति हुनुहुँदैन, पृथ्वी बचाएमा सृष्टि र सास बाँच्छ भनी चर्चा गरिएको छ । दोस्रो चरणमा निरपेक्ष रूपमा जीवन र सास रहनुपर्छ भन्ने विषयमा बखान गरेको छु । तेस्रो चरणमा सरकार रहनुपर्छ र राज्यको उपस्थिति अनिवार्य रहन्छ भनिएको छ । यी अगाडिका तीन चरण पूरा भएपछि मात्र व्यक्ति समाजमा प्रवेश गर्न सक्दछ अर्थात् पहिलो नभई दोस्रोको अस्तित्व रहँदैन, दोस्रो नभई तेस्रो र तेस्रो नभई चौथोको अस्तित्व रहन सक्दैन र यिनीहरूबिच निकै कडा सम्बन्ध रहन्छ। कविर महर्जनको जीवनसँग तुलना गरौँ। रसुवाको भोटेकोशी नदीमा बाढी आउनु पृथ्वीको अस्तित्व, जलवायु परिवर्तनसँग जोडिन्छ, कविर महर्जन भित्र थुनिनु र उद्धारपूर्वको अवस्थामा सजीव सास र जीवनसँग समरूप रहन्छ, उद्धार हुनु र अस्पतालसम्म पुग्नु–पुर्याउने कार्य सरकार र राज्यको औचित्यसँग तुलना हुन्छ जसलाई माथि चर्चा गरिएको छ । अब अन्तिम चरणको रूपमा सामाजिकीकरण सामाजिक जीवनसँग रहन्छ ।
जब कविर महर्जन अस्पतालबाट डिस्चार्च भए, तब उनी सामाजिक जीवनमा प्रवेश गरेका छन् । उनलाई सामाजिक संस्कारअनुसार फूलमाला र नेवारी संस्कारअनुसारको बाजागाजासहित स्वागत गरिएको थियो । स्वागत वा खुसीको संस्कृति समाज वा समुदायअनुसार पृथक्–पृथक् हुन्छ । समाजको रीतिरिवाज वा संस्कृतिअनुसारको वेशभूषा, चालचलन, रीतिरिवाज वा चाडपर्व अवलम्बन गरिन्छ । कविर महर्जनले दसैँ मनाउन पाएका छन् किनकि यिनले अगाडिका तीन चरण पार गरी सामाजिक चरणमा प्रवेश गरिसकेका छन् । समाज वा संस्कृति हाम्रो परम्परागत अमूर्त सम्पदा हो । यो चौथो चरण अन्य सजीवमा गौण हुन्छ । अलिअलि देखिन्छ जस्तै मौरीमा, तर संस्कृतिको मामिलामा मानव जाति जति अब्बल सर्वश्रेष्ठ कुनै जाति पनि रहँदैन । डार्बिनको विकासवादी सिद्धान्तले समेत क्रमशः विकास हुने रहनसहन र जीवनशैलीले संस्कृति स्वतः जन्म हुन्छ भनी पुष्टि गरिसकेको छ । संस्कृति, धर्म रीतिरिवाज र चालचलनहरू मानव जीवनको अभिन्न अंग हो । यसैले समाजको पहिचान, राज्यको लगानी र व्यक्तिको खुसी जोडिएको हुन्छ । हाम्रो समाजको विकासको स्वरूप र यात्रा संस्कृति, सभ्यता रहन्छ यसलाई सबै समाजले अनिवार्य कानुनको रूपमा स्वीकार गरेको हुन्छ ।
त्यसैले पृथ्वी र प्रकृति, जीवन, राज्य र समाज नै जीवन जगतका अभिन्न एकपछि अर्को आउने जीवनचक्रीय तत्त्व हुन् । यिनीहरु एक–अर्कामा अनोन्यास्रित सम्बन्ध मात्र नभई एकले अर्कोलाई क्रमशः अस्तित्व स्वीकार र सिर्जना गर्ने आधारभूत पूर्वसर्तको रूपमा अविरल रहेका हुन्छन् र हामी मरेर गए पनि मानव अस्तित्व, राज्य र पृथ्वी रहेसम्म निरन्तर रहन्छन् ।
(लेखक बैतेश्वर गाउँपालिका दोलखाको प्रमुख प्रशासकीय अधिकृत हुन्।)