रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले प्रभावितहरूको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि खाडी मुलुक कतारमा विभिन्न पेसा व्यवसाय र रोजगारी गरिरहेका नेपाली मुस्लिमहरूले ४१ लाख सात हजार ७२१ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन्।
बाढी प्रभावित नागरिकहरूको सहयोगका लागि कतारस्थित नेपाली मुस्लिमहरू आबद्ध रहेको सामुदायिक संस्था अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको पहलमा सञ्चालित ‘नेपाल बाढीपीडित राहत अभियान’अन्तर्गत संकलन गरिएको उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अध्यक्ष अजमत अलीले विज्ञप्तिमार्फत जनाएका छन्। बाढीले पुर्याएको क्षतिको पुनरुत्थान र प्रभावित परिवारहरूको पुनर्स्थापनाका लागि सहयोग रकम संकलन जारी रहने समाजले जनाएको छ।
समाजका अध्यक्ष अलीका अनुसार कतारमा क्रियाशील नेपाली मुस्लिम शान्ति समाज, फख्र मिल्लत फाउन्डेसन, नेपाल इस्लामिक ग्रुप, नेपाली मुस्लिम फाउन्डेसन धनुषा, रमौल मुस्लिम सेवा समाज, महोत्तरी मुस्लिम कमिटी संघ, नेपाली मुस्लिम परिषद्, मन्सुरी एकता मञ्च, नेपाल मुस्लिम एकता समाज, महदिय्या मुस्लिम युवा संघ कतार, इस्लामिक सेवा समाज रौतहट र फिक्रे नेपाललगायत सम्पूर्ण नेपाली मुस्लिम संघ–संस्थाहरूको सहकार्यमा राहतका लागि स्वैच्छिक सहयोग संकलन गरिएको हो।
‘चेन कमान परियोजना’ सञ्चालन हुँदै
बाढी प्रभावितहरूका लागि संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरणसँगै आयोजित अन्तर्क्रिया कार्यक्रममा समाजका प्रमुख संरक्षक मोहम्मद मुक्तदा मुसलमानले राहत अभियानलाई निरन्तरता दिँदै दीर्घकालीन सामाजिक परियोजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सम्पूर्ण नेपाली मुस्लिम संघ–संस्थाहरू आबद्ध रहेको संयुक्त बोर्ड गठनका लागि पहल गर्न आग्रह गरे।
समाजका अर्का संरक्षक मोहम्मद अजिज अलीले संस्थालाई थप व्यापक र सुदृढ बनाउँदै सामाजिक सेवाका कार्यक्रमहरूलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। संरक्षक करिम बक्स मियाँले प्रस्तावित दीर्घकालीन परियोजनाको अवधारणा प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक आत्मनिर्भरतासँग जोडिएका कार्यक्रमहरूको महत्व औँल्याए।
सामाजिक सेवाका कार्यक्रमहरूसम्बन्धी प्रस्तावित दीर्घकालीन परियोजनाहरूका लागि न्यूनतम एक करोड रुपैयाँको प्रारम्भिक कोषबाट ‘चेन कमान परियोजना’ थालिने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा सामुदायिक आत्मनिर्भरता तथा आर्थिक सशक्तीकरण परियोजना कृषि, प्रशोधन, उत्पादन र बजारीकरणको दिगो प्रणाली विकास गरी त्यसबाट हुने आम्दानीले विपन्न विद्यार्थीको शिक्षा र स्वास्थ्यमा सहयोग, युवा उद्यमशीलताको विकास, धार्मिक सांस्कृतिक सम्पदाको संरक्षणमा उपयोग गरिने लक्ष्य रहेको जनाइएको छ। त्यसका लागि ‘योगदानबाट पुँजी, पुँजीबाट उत्पादान, उत्पादनबाट आम्दानी, आम्दानीबाट समुदायको विकास गरिने समाजले जनाएको छ।