मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ३० मंगलबार
  • Wednesday, 16 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ भदौ ३० मंगलबार २२:oo:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ भदौ ३० मंगलबार २२:oo:oo

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। लामिछानेले बुधबारका लागि शीर्ष नेतृत्व सहभागी हुने गरी बैठक आह्वान गरेका हुन्।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए। खरेलका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन)सम्बन्धी छलफलका लागि बैठक बोलाइएको हो।

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रालयले आज एक पत्र जारी गर्दै निजामती सेवा नियमावलीअनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साबिककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ। कर्मचारीको सरुवा र व्यवस्थापनलाई व्यवस्थित गर्न यस्तो कडाइ थालिएको मन्त्रालयले जनाएको छ। 

अब पदको लोभ छैन, आवश्यक परे पछि हट्दिनँ : शेरबहादुर देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद र जिम्मेवारीप्रति लोभ नभएको बताएका छन्। यद्यपि, पार्टी र राज्यले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठाने जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने देउवाले स्पष्ट पारे।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर, राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्नेछैन।’

छिमेकीसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभको औजार बनाउने गलत अभ्यास ‘ओल्ड ब्यागेज’ हो : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा आफूले व्यक्त गरेको ‘ओल्ड ब्यागेज’को अर्थ स्पष्ट पार्दै सो अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्ताबेजहरूको संरक्षणप्रति लक्षित नभएको स्पष्ट पारे।

बैठकमा सांसद सीता थपलियाले परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति दिएको सन्दर्भमा त्यसको अर्थ, विगतका सरकारका कुन–कुन निर्णय ‘ब्यागेज’ हुन्, लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय ‘पुरानो ब्यागेज’ हो कि होइन तथा विगतका सरकारका परराष्ट्र नीतिमा के–कस्ता गल्ती भए भन्ने विषयमा प्रश्न गरेकी थिइन्।

बुढानीलकण्ठको क्यासिनोमा जुवा खेलिरहेका ११ नेपाली पक्राउ

बुढानीलकण्ठस्थित होटेल लेमन ट्रीमा रहेको गरुड क्यासिनोमा प्रहरीले छापा हानेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले छापा हानी त्यहाँबाट ११ जना नेपालीलाई पक्राउ गरेको छ। 

पक्राउ परेकालाई दुई दिन थुनामा राख्ने म्याद लिई जुवा ऐनमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । सो क्यासिनोबाट बारम्बार नेपालीहरू जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्दै आएका छन्। तर, प्रहरीले सञ्चालकलाई भने कारबाहीको दायरामा ल्याएको छैन। 

भारतबाट दैनिक १६० बुलेटमा ग्यास ल्याएर आपूर्ति सहज गर्दै छौँ : उद्योगमन्त्री साह

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले भारतबाट दैनिक १६० वटा बुलेटमा ग्यास ल्याएर चाँडै आपूर्ति सहज गर्ने बताएका छन्।

मंगलबार दिउँसो सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै मन्त्री साहले जतिसक्दो छिटो आपूर्ति सहज गराई डिलरअगाडि खाली सिलिन्डर राखेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए।

‘भारतबाट नियमित रूपमा अबको केही दिन १६० बुलेटका दरले ग्यास ल्याउन व्यवस्थापन भइसकेको छ,’ उनले भने, ‘उक्त ग्यास बजार पठाएपछि छिट्टै आपूर्ति सहज हुने अपेक्षा छ।’

इन्द्रसरोवरमा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु, चालकसहित चार घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन्।

काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको म. प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक गाडी मंगलबार दिउँसो करिब २ बजे हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा सडकबाट करिब हजार मिटर तल खसेको हो।

नुवाकोट–रसुवा जोड्न फलाँखुमा बेलिब्रिज बनाइँदै, विदुर र धुन्चेको दूरी छोटिने

भोटेकोशी बाढीका कारण रसुवा जिल्ला मुख्य सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत र सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न सरकारले वैकल्पिक मार्ग निर्माण कार्य अघि बढाएको छ।

पूर्वाधार विकास मन्त्रालयले रसुवालाई पुनः सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रूपमा नुवाकोट र रसुवाको सीमास्थित फलाँखुमा बेलिब्रिज जोड्ने तयारी अघि बढाएको हो।

डेभिड वार्नरले काठमान्डुबाट खेल्ने

डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्। अस्ट्रेलियाका असाधारण ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपिएल खेल्न दसैँपछि नेपाल आउनेछन्।

एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठुला नाम हुन्। अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए। २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’मा चुनिएका थिए।

नवलपरासी पूर्वमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिका– ३, चिसापानीमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

प्रहरीका अनुसार चिसापानीनिवासी अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। गम्भीर चोट लागेकी उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।