मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ २७ शनिबार
  • Saturday, 12 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ २७ शनिबार २२:o१:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शनिबार १० बजेसम्मका प्रमुख १० खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ २७ शनिबार २२:o१:oo

नेपाल दोस्रोपटक एसिया कपमा छनोट

आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतक मद्दतमा नेपालले एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै एसिया कपमा स्थान बनाएको छ।

शनिबार मलेसियाको बायुमास ओभलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएईले ४९.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र ३०५ रन बनाउन सक्यो।

यो जितसँगै नेपाल सन् २०२७ को एसिया कपमा स्थान बनाउन सफल भएको हो। नेपाल र युएई दुबै दोस्रोपटक एसिया कप खेल्ने योजनामा थिए। सन् २०२५ को एसिया कपमा नेपाललाई हराउँदै युएई पहिलोपटक प्रतियोगितामा सहभागी भएको थियो। त्यसअघि नेपालले सन् २०२३ मा पनि युएईलाई नै हराउँदै पहिलोपटक एसिया कप खेलेको थियो।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे बैठक बस्ने भएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई पनि उपस्थितिका लागि आग्रह गरिएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा सम्बन्धित सबैलाई उपस्थित हुन आग्रह गरिएको जानकारी दिए।

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ८ (साबिक ठिला गाउँ विकास समिति) का ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

इन्द्रजात्राको साइत सार्वजनिक

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार इन्द्रजात्राका लागि वन यात्रा जाने साइत भदौ २८ गते बिहान ९ः५३ बजे र रुख काट्ने साइत राति ८ः४७ बजे रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिंगोका लागि रुख काट्ने परम्परा छ।

लिंगो नगर प्रवेश गराउने साइत असोज ३ गते बिहान ८ः०५ बजे र इन्द्रध्वजोत्थान असोज ७ गते बिहान ७ः४७ बजे रहेको समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए।

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङबाट एकजना पक्राउ

रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटबाट बगाएको सुनका गरगहना लुकाएको आरोपमा धादिङबाट एकजना पक्राउ परेका छन्। अस्थायी प्रहरी पोस्ट आदमघाट धादिङबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका– ६, बन्छेटार बस्ने अन्दाजी ३५ वर्षका रामबहादुर तामाङलाई पक्राउ गरेको हो।

बाढीको भोलिपल्ट भदौ ११ गते सुनका गरगहना फेला पारी नियतवश कोही कसैलाई कुनै जानकारी नगराई आफैँले राखेको सूचनापछि प्रहरीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारतमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि भारत भ्रमणका क्रममा शनिबार नयाँ दिल्ली पुगेका छन्। १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति सी नयाँ दिल्ली पुगेका हुन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीसँगै उच्च अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयका निर्देशक साइ ची र परराष्ट्रमन्त्री वाङ यी पनि सहभागी छन्।

हिमालयलाई साझा पर्यावरणीय सम्पदाका रूपमा लिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

काठमाडौंमा शनिबारदेखि सुरु भएको तेस्रो ‘काष्ठमण्डप संवाद’अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले भोटेकोशीको हालैको बाढीले नेपाल र चीनबिचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारे।

हत्याका चार दोषी पक्राउ, ४० वर्षदेखि बसिरहेका थिए आफ्नै घरमा

हत्या कसुरमा अदालतबाट दोषी ठहर भएपछि फरार भएका चारजना ४० वर्षपछि पक्राउ परेका छन्। २०४३ असार १५ गते तत्कालीन डाँगीहाट–८ र बाहुनी–१, पञ्चायतको सीमास्थित काकुम झोडाको खेतमा घाँस काट्ने विषयमा विवाद हुँदा स्थानीय आशाराम खवासको हत्या आरोपमा तीनै तहका अदालतबाट दोषी ठहर भई फरार उनीहरू ४० वर्षदेखि आफ्नै घरमा बस्दै आएका थिए।

पक्राउ पर्नेमा बेलबारी–४, काकुम बाबुराम टोलका रामकुमार राई, बालकुमार राई र बाबुराम राई र कमल ढकाल छन्। रामकुमार, बालकुमार र बाबुराम एकाघरका नातेदार हुन्। उनीहरू चारैजना ६० वर्ष कटिसकेका छन्। उनीहरूलाई बुधबार राति इलाका प्रहरी बेलबारीका इन्स्पेक्टर राजीव गिरीको टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो।

शिक्षामा स्थानीय तहको एक अर्बभन्दा बढी लगानी, एसइई नतिजा कमजोर

बर्दियामा रहेका संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसइईको नतिजा कमजोर देखिएको छ। पछिल्ला तीन वर्षको एसइई नतिजाको तथ्यांक हेर्दा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको हो।

सामुदायिक विद्यालयको एसइई नतिजामा सुधार देखिए पनि संस्थागत विद्यालयको तुलनामा नतिजा कमजोर रहेको छ। पछिल्ला तीन वर्षको एसइई नतिजाको तथ्यांकले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या धेरै भए पनि उत्तीर्ण हुने विद्यार्थीको संख्या भने संस्थागत विद्यालयको तुलनामा निकै कम रहेको देखाएको छ।

बाढी प्रभावित क्षेत्रमा राख्न भारत सरकारले दियो तीनवटा ७० मिटरका मोड्युलर पुल

भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध सडक सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई तीनवटा ७० मिटर लम्बाइका एकतर्फी सिंगल मोड्युलर पुल उपलब्ध गराएको छ।

भारत सरकारको सहयोगस्वरूप प्राप्त पुल शनिबार सडक डिभिजन हेटौँडालाई हस्तान्तरण गरिएको हो ।