भोटेकोशीको विनाशकारी बाढीबाट विस्थापित भएर काठमाडौंको फुन्सोक छोलिङ गुम्बा (एलो गुम्बा)मा गुम्बामा आश्रय लिइरहेका रसुवाका बाढी प्रभावितहरूलाई मुख्मयन्त्री किरण थापाले भेटेका छन् ।
मुख्यन्त्री थापाले रसुवाका १७५ घरधुरीका ५२० जनासँग शनिबार भेट गरेका हुन्। उनले भेटका क्रममा विस्थापित परिवारसँग उनीहरूका समस्या, गुनासा र तत्काल आवश्यकताबारे जानकारी लिएका थिए ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि रसुवाका विभिन्न क्षेत्रका ठुलो संख्यामा नागरिक विस्थापित भएका छन्। घर तथा सम्पत्ति गुमाएका र तत्काल आफ्नो गाउँ फर्किन सक्ने अवस्था नरहेका रसुवाबाट विस्थापित परिवारलाई यहाँ राखिएको हो।
मुख्यमन्त्री थापाले घरबार, सम्पत्ति र जीवनका आधार गुमाएका नागरिकको पीडा केवल सुन्ने विषय नभई राज्यको जिम्मेवारी भएको बताएका थिए। उनले विस्थापित परिवारलाई तत्काल आवश्यक राहत, सुरक्षित बसोबास, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
विपतपछि विस्थापित नागरिकलाई तत्काल सुरक्षित राख्नुका साथै उनीहरूको दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।
‘विपतको घरबार, सम्पत्ति र आफ्ना जीवनका आधारहरू गुमाउनुपरेको यस कठिन परिस्थितिमा उहाँहरूको पीडा केवल सुन्ने विषय मात्र होइन, राज्यको जिम्मेवारी र हाम्रो साझा दायित्व हो,’ उनले भने, ‘बागमती प्रदेश सरकार पीडित नागरिकको साथमा छ।’
मुख्यमन्त्री थापाका अनुसार प्रभावित परिवारको अवस्था बुझेर तत्काल आवश्यक सहयोगको व्यवस्था गर्न तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय भइरहेको छ। उनले विपतको समयमा नागरिकलाई राज्य उनीहरूको साथमा रहेको अनुभूति गराउनु सरकारको प्राथमिकता भएको बताए।
‘विपतको घडीमा नागरिकलाई एक्लो महसुस हुन नदिने, पीडामा साथ दिने र आवश्यक सहयोग तथा समन्वयलाई प्रभावकारी बनाउने हाम्रो स्पष्ट प्राथमिकता हो,’ उनले भने, ‘दुःखमा साथ र विपतमा सहयोग गर्दै प्रभावित परिवारको पुनर्स्थापनाका लागि प्रदेश सरकारले निरन्तर काम गर्नेछौँ।’
रसुवाको बाढीपछि प्रदेश सरकारले प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत, स्वास्थ्य उपचार र विस्थापितको व्यवस्थापनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको छ।