बर्दियामा रहेका संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसइईको नतिजा कमजोर देखिएको छ। पछिल्ला तीन वर्षको एसइई नतिजाको तथ्यांक हेर्दा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको हो।
सामुदायिक विद्यालयको एसइई नतिजामा सुधार देखिए पनि संस्थागत विद्यालयको तुलनामा नतिजा कमजोर रहेको छ। पछिल्ला तीन वर्षको एसइई नतिजाको तथ्यांकले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या धेरै भए पनि उत्तीर्ण हुने विद्यार्थीको संख्या भने संस्थागत विद्यालयको तुलनामा निकै कम रहेको देखाएको छ।
शिक्षामा सुधारका लागि पालिकाहरूले आन्तरिक स्रोतबाट पछिल्ला तीन आर्थिक वर्षमा मात्रै एक अर्ब आठ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेका छन्। आर्थिक वर्ष ०८२/८३ मा ३७ करोड ३३ लाख ६४ हजार ७८४ रुपैयाँ, ०८१/८२ मा ३५ करोड ८३ लाख ९२ हजार १८२ रुपैयाँ र ०८०/८१ मा ३४ करोड ८१ लाख ३२ हजार ४७० रुपैयाँ शिक्षाका लागि बजेट विनियोजन गरेका थिए।
शिक्षामा बर्सेनि करोडौँ रुपैयाँ लगानी भइरहे पनि सामुदायिक विद्यालयको एसइई नतिजामा अपेक्षित सुधार देखिएको छैन। २०८२ को एसइईमा सामुदायिक विद्यालयबाट ४ हजार ५१४ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ हजार ६३२ जना उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयबाट ७४३ विद्यार्थीले परीक्षा दिएकामा ६९३ जना उत्तीर्ण भएका थिए।
त्यसैगरी, २०८१ को एसइईमा सामुदायिक विद्यालयका ४ हजार ७६५ विद्यार्थीमध्ये २ हजार ४८० जना उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयबाट ६६० विद्यार्थीले परीक्षा दिएकामा ६०३ जना उत्तीर्ण भएका थिए। २०८० को एसइईमा सामुदायिक विद्यालयबाट ५ हजार ७७० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९९० जना मात्रै उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयबाट ६८१ विद्यार्थीले परीक्षा दिएकामा ५३१ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ, बर्दियाले जनाएको छ।
शिक्षामा लगानी बढाउँदैमा मात्र शैक्षिक उपलब्धि सुधार नहुने एसइईको नतिजाले देखाएको छ। शिक्षामा कति बजेट विनियोजन भयो भन्नेभन्दा पनि बजेट कहाँ र कसरी खर्च भयो, त्यसबाट विद्यार्थीको सिकाइमा कति सुधार आयो र त्यसको परिणाम के भयो भन्ने विषय महत्वपूर्ण देखिन्छ।
शिक्षामा सुधारका लागि सरकारसँगै अन्य साझेदार संस्थाले पनि काम गरिरहेको शिक्षा विकास तथा समन्वय इकाइ, बर्दियाका प्रमुख देवमणि चौधरीले बताए। विगतको तुलनामा सामुदायिक विद्यालयको भौतिक संरचना र आन्तरिक व्यवस्थापनमा सुधार आए पनि एसइईको नतिजामा अपेक्षाकृत सुधार हुन नसकेको उनको भनाइ छ।
विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने प्रमुख आधार परीक्षापछि प्राप्त हुने नतिजा भएकाले सामुदायिक विद्यालयको एसइई नतिजामा थप सुधार आवश्यक रहेको चौधरीले उल्लेख गरे। विगतका वर्षको तुलनामा एसइईको नतिजामा केही सुधार देखिए पनि अपेक्षित उपलब्धि हासिल गर्न अझै धेरै काम गर्नुपर्ने उनले बताए।
‘एसइईको नतिजा सुधारका लागि विद्यार्थीमा नियमित अध्ययन गर्नुपर्छ भन्ने भावना विकास गर्नुका साथै विद्यार्थीलाई अनुशासित बनाउन आवश्यक छ। त्यसका लागि विद्यार्थीलाई पठनपाठनप्रति थप जिम्मेवार बनाउनुपर्छ,’ उनले भने, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन पनि स्थानीय तहले लगानी र सहजीकरण गर्न आवश्यक छ। त्यसका साथै विद्यालयको पठनपाठन सुधारमा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुन्छ। अभिभावकले आफ्ना छोराछोरी नियमित विद्यालय गएका छन् कि छैनन्, उनीहरूको पढाइको अवस्था कस्तो छ भन्ने विषयमा चासो राख्नुपर्छ।’
बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालयका प्रधानाध्यापक मतीराम शर्माले विद्यालयको पठनपाठन सुधार गर्न विद्यार्थी, अभिभावक, विद्यालय र स्थानीय तहले मिलेर काम गर्न आवश्यक रहेको बताए। उनले भने, ‘सामुदायिक विद्यालयको पठनपाठन सुधार गर्नका लागि अभिभावकले आफ्ना छोराछोरी विद्यालय आए–नआएको सोधखोज गर्ने, उनीहरूको आनीबानीको ख्याल गर्ने आवश्यक छ। विद्यार्थीले पनि अध्ययनमा रुचि देखाउने र मेहनत गर्ने, विद्यालय र शिक्षक पनि जिम्मेवार भए विद्यालयको पठनपाठनमा सुधार हुन्छ।’
शिक्षा क्षेत्रमा विनियोजन गरिएको बजेटको प्रभावकारी मूल्यांकनसँगै विद्यालयको शैक्षिक अवस्था, शिक्षकको कार्यसम्पादन, विद्यार्थीको नियमित उपस्थिति, सिकाइ उपलब्धि र विषयगत नतिजाको नियमित अनुगमन आवश्यक देखिन्छ। सामुदायिक विद्यालयको कमजोर नतिजालाई विद्यार्थी वा शिक्षकको कमजोरीमा मात्रै सीमित गरेर हेर्नुभन्दा विद्यालय व्यवस्थापन, शिक्षण सिकाइको अवस्था, स्रोतको उपयोग, अभिभावकको सहभागिता र स्थानीय तहको शैक्षिक व्यवस्थापनलगायत समग्र पक्षबाट समीक्षा गर्नुपर्ने देखिन्छ।
शिक्षामा गरेको लगानीको प्रतिफल मापन गर्दै कमजोर नतिजा भएका विद्यालय पहिचान र विषयगत समस्या विश्लेषण गरी सुधारका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।