सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सप्तरीको सदरमुकाम राजविराजमा सद्भाव र्याली निकालिएको छ। हिन्दु–मुस्लिम समुदायबिच सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले आइतबार बिहान सद्भाव र्याली निकालेको हो।
स्थानीय शिव मन्दिरको प्रांगणबाट निकालिएको र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए। सुनसरी र सिराहा जिल्लामा हालै भएका घटनापछि सप्तरीमा विकसित परिस्थितिलाई सामान्य बनाउन र सामाजिक सद्भाव कायम राख्न र्याली निकालिएको उनले बताए।
र्यालीमा सहभागी आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले सुनसरी घटनालाई बहाना बनाएर समाजमा विभाजन र द्वेष फैलाउने प्रयास हुन नदिन सबै समुदाय सचेत रहनुपर्ने बताए। अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहँदै सामाजिक एकता र आपसी विश्वासलाई बलियो बनाउन उनले आग्रह गरेका छन्। मिथिलाको गौरवशाली संस्कृति र मर्यादालाई आत्मसात् गर्दै शान्ति र सद्भाव कायम राख्न आमनागरिकमा अपिलसमेत गरेका छन्।