मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ पौष ७ सोमबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ पौष ७ सोमबार १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनाव ‘अल्टिमेट रिजल्ट’ होइन, आन्दोलनको माग सम्बोधन हुनुपर्छ : सागर ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ पौष ७ सोमबार १६:३४:oo

जेन–जी प्रतिनिधि सागर ढकालले आन्दोलनको म्यान्डेटअनुसार चुनाव हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले सिंहदरबारमा आयोजना गरेको सर्वपक्षीय छलफलमा ढकालले जेन–जीको माग पूरा नगरी हुने चुनावको औचित्य नरहेको धारणा राखे।

जेन–जीको मागअनुरूप चुनाव हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘फेरि जस्ताको तस्तै गराउनका लागि किन चुनाव गराउने हो र ? केही त परिवर्तन गर्नुपर्‍यो। जेन–जीको आन्दोलनको म्यान्डेट त पूरा गर्नुपर्‍यो नि।’

७५ वर्षदेखि देशमा आन्दोलन मात्र भएको, तर एउटा स्थिर सरकार नबनेको उल्लेख गर्दै ढकालले चुनाव मात्र अन्तिम परिणाम नभएको प्रस्ट्याए।

‘७५ वर्ष भइसक्यो आन्दोलन भएको भयै। हाम्रो देशमा स्थिरता कसले दिने हो? देशमा विकास कहिले लिएर जाने हो? ७५ वर्षमा हामीले एउटा सरकार स्थायी रूपमा लगेका छैनौँ। पूर्वाधारका आयोजना सबै ठप्प छन्। चुनाव मात्र अल्टिमेट रिजल्ट होइन। जनताले मागेको विकास र सुशासन हो,’ उनले भने।