मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o९:२१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

३३ जिल्लाका ३५ कारागारमा आगजनी र तोडफोड  

क्षतिको भौतिक विवरण संकलन, तर मूल्यांकन हुन बाँकी, आठ हजार ६६२ कैदीबन्दी अझै फरार

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२१:oo

जेन–जी आन्दोलनका क्रममा विभिन्न ३३ जिल्लाका ३५ कारागारमा आगजनी तथा तोडफोड भएका छन् । कारागार व्यवस्थापन विभागका अनुसार लतिलपुरको नक्खु, कैलाली, काठमाडौंको डिल्लीबजार, मकवानपुरको भीमफेदी, तनहुँ र सुनसरीको कारागारमा सबैभन्दा ठुलो क्षति पुगेको छ । ती कारागारमा तोडफोडका साथै आगजनी पनि गरिएकाले ठुलो क्षति हुन पुगेको हो । बाँकी २९ कारागारमा भने तोडफोड मात्रै गरिएका छन् । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा भन्छन्–

आन्दोलनका क्रममा २८ जिल्लाका ३५ कारागारमा क्षति पुगेको छ । केही कारागारमा ताल्चा मात्रै फोरिएका छन् । केही भने बस्नै नहुने गरी ध्वस्त पारिएका छन् । क्षति भएका सबै कारागारका भौतिक विवरण संकलन भएका छन्, तर मूल्यांकन हुन सकेका छैनन् । यसका लागि प्राविधिक जाँचको आवश्यकता पर्ने भएकाले टोली खटाउने तयारी छ ।

क्षतिको भौतिक विवरण संकलन गरिए पनि मूल्यांकन भने अझै हुन सकेको छैन । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले आन्दोलनका क्रममा मुलुकका ३३ जिल्लाका ३५ कारागारमा आंशिकदेखि सघन क्षति पुगेको बताए । क्षतिको विवरण संकलन हुन अझै केही दिन लाग्ने उनको भनाइ छ । ‘जेन–जी आन्दोलनका क्रममा २८ जिल्लाका ३५ कारागारमा क्षति पुगेको छ । केही कारागारमा ताल्चा मात्रै फोरिएका छन् । केही भने बस्नै नहुने गरी ध्वस्त पारिएका छन् । क्षति भएका सबै कारागारका भौतिक विवरण संकलन भएका छन् । तर, मूल्यांकन हुन सकेका छैनन् । यसका लागि प्राविधिक जाँचको आवश्यकता पर्ने भएकाले टोली खटाउने तयारी छ,’ उनले भने ।

विभागका अनुसार आन्दोलनका क्रममा ३५ मध्ये सबैभन्दा धेरै क्षति नक्खु कारागारमा पुगेको छ । कारागारको मूलगेट र भेटघाट कक्ष पूर्ण क्षति भएको छ । कारागारभित्र राखिएका एउटा बस, एउटा पिकअप र २०१ वटा मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । ती साधन कारागारभित्र रहेको मनोसामाजिक बन्दी अस्पतालको हो । जनपथ र सशस्त्र प्रहरीको कारागार सुरक्षा बेस भवन र ती भवनमा रहेका फर्निचर, कम्प्युटर, प्रिन्टर जलेर नष्ट भएका छन् । बन्दीगृहभित्रको कम्प्युटर, टेलिफोन, टेलिभिजन पूर्ण रूपमा जलाइएको छ । कारागारभित्र जडान गरिएका सबै सिसिक्यामरा नष्ट गरिएका छन् । खानेपानी ट्यांकीसमेत तोडफोड गरिएको छ । 

आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारमा पनि क्षति पुगेको छ । विभागका अनुसार कारागारको तीनवटा गेटमा क्षति पुगेको छ । हार्डडिस्कसहित ६ वटा सिसिक्यामरा, तीनथान कम्प्युटर चोरी भएको छन् । कारागार भवनको सातवटा झ्यालमा क्षति, टेबुल, कुर्सी, बेन्च, गरी ५२ थान सामग्रीमा तोडफोड भएका छन् । डिल्लीबजारस्थित सदरखोर कारागारको प्रशासनिक भवन, फर्निचर, कम्प्युटर, कार्यालयका कागजात जलेका छन् । सुरक्षा ब्यारेक, जेलको ठुलो ब्लक, मूलगेट र तीनवटा सहायक गेटमा तोडफोड गरिएको छ । त्यसबाहेक हार्डडिस्कसहितको सिसिक्यामरामा तोडफोड गरिएको छ । कैलालीस्थित कारागार रहेको १४ सिटे गाडी, टेलिभिजन भिडियो कन्फरेन्स सिस्टम, टेबुल, कुर्सी, स्टिल दराज, कैदीबन्दीसम्बन्धी अभिलेख, मनिटरसहित सिसिक्यामरामा तोडफोड तथा आगजनी भएका छन् ।

झुम्का कारागारमा ब्लकहरूको केही ताला तोडिएका, म्याग्दी र कपिलवस्तु कारागारमा केही ताल्चा फुटाएको तथा जाजरकोट कारागारमा बन्दीगृहको पर्खाल भत्काएको विभागले जनाएको छ ।

साढे १४ हजार कैदीबन्दी भागेकामा झन्डै ६ हजार नियन्त्रणमा : फरारमध्ये लागुऔषध र जबर्जस्ती करणी कसुरका धेरै

विभागका अनुसार तोडफोड तथा आगजनीपछि २८ वटा कारागारबाट १४ हजार ५५५ कैदीबन्दी फरार भएका थिए । त्यसमध्ये पाँच हजार ८९३ कैदीबन्दी कारागारको नियन्त्रणमा आएका छन् । बाँकी आठ हजार ६६२ कैदीबन्दी भने फरार छन् । फरारमध्ये ९६४ बाल सुधारगृहका कैदीबन्दी हुन् । बाँकी १३ हजार ५९१ भने वयस्क कैदीबन्दी हुन् । विभागका महानिर्देशक शर्माका अनुसार फरार रहेका कैदीबन्दी सबैभन्दा धेरै लागुऔषध र जबर्जस्ती करणी कसुरका छन् । ‘मुलुकभरका जेलमा झन्डै ६८ प्रतिशत कैदीबन्दी लागुऔषध कसुरका छन् । फरार हुने पनि उनीहरू नै धेरै छन् । त्यसपछि जबर्जस्ती करणी कसुरका कैदीबन्दी धेरै फरार भएका छन्,’ उनले भने । कारागार तोडफोडपछि भाग्ने क्रममा १० कैदीबन्दीको मृत्यु भएको छ । भाग्ने क्रममा सेना र प्रहरीको गोली लागेर भक्तपुरको बाल सुधारगृहमा पाँच, रामेछापको कारागारमा तीन र धादिङ कारागारमा दुईजनाको मृत्यु भएको थियो ।