
नेपाली श्रमिक युवाको सबैभन्दा आकर्षक गन्तव्यका रूपमा परिचित संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालीका लागि भिजिट र वर्किङ भिसा रोकेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार युवाहरू काम खोज्दै पुग्ने देशहरूको सूचीमा युएई सबैभन्दा अगाडि छ । गत आर्थिक वर्ष ०८१/८२ मा आठ लाख ३९ हजार दुई सय ६६ युवा श्रम स्वीकृति लिएर विदेश गएकोमा सबैभन्दा धेरै युएईमा दुई लाख ७४ हजार पाँच सय ९० युवा पुगेका थिए । चालू आव ०८२/८३ को साउनमा मात्रै पनि काम खोज्दै बिदेसिने युवामध्ये सबैभन्दा धेरै युएई नै पुगेका छन् । युएईको पछिल्लो निर्णयले आउँदा दिनमा नेपालीको प्रमुख रोजगारीको गन्तव्यमा जान कठिन देखिएको छ ।
विभागका अनुसार साउनमा श्रम स्वीकृति लिएर ६८ हजार एक सय १० युवा बिदेसिएका थिए । त्यसमध्ये युएई जानका लागि २३ हजार आठ सय ३८ ले श्रम स्वीकृति लिएका थिए । रोजगारदाताले गर्ने व्यवहार, मौसम, तलब र अन्य सुविधाका कारण तुलनात्मक रूपमा राम्रो भएकाले अदक्ष तथा अर्धदक्ष युवाको पहिलो रोजाइ युएई बनिरहेको छ । तर, केही दिनयता युएईले नेपाली श्रमिक आपूर्ति नगर्ने नीति लागू गरेपछि भने समग्र वैदेशिक रोजगार प्रणालीमै असर पर्न लागेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले बताए । उनले चार दिनयता भिजिट भिसा र श्रम स्वीकृतिको भिसा रोकिएको जानकारी दिए । ‘खासगरी दुबईमा भिजिट भिसामा जाने र त्यहाँबाट अन्य देशमा जाने प्रवृत्ति धेरै देखिन्थ्यो । दुबईलाई ट्रान्जिट बनाइएको थियो । यस विषयमा नेपाली दूतावासमा युएईले जानकारी पनि गराएको जस्तो लाग्छ । भिजिट भिसाको दुरुपयोग भएपछि त्यसलाई कडाइ गरेको थियो,’ उनले भने ।
युएईले यसअघि पाकिस्तान, बंगलादेश र काश्मिरका युवालाई श्रम स्वीकृति बन्द गरिसकेको छ । रोजगारका लागि पुगेका नेपाली युवाहरू हुलदंगा गर्ने तथा सामाजिक शान्तिमा असर पर्ने गतिविधिमा क्रियाशील भइरहेको र दुबईलाई ट्रान्जिट बनाएर विभिन्न देश जाने गरेको भन्दै युएईले अबुधाबीस्थित नेपाली दूतावासलाई समेत सचेत गराएको थियो ।
खाडी मुलुकमा यस्तो छ युवाको संख्या
खाडी मुलुकहरूमा अदक्ष र अर्धदक्ष कामदारको ठुलो उपस्थिति छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०८१/८२ मा युइएईपछि साउदी अरबमा रोजगारीमा लागि एक लाख ५२ हजार पाँच सय ५७ युवा पुगेका छन् । त्यस्तै, कतारमा एक लाख ४० हजार सात सय ९२, कुवेतमा ५९ हजार ६५ र मलेसियामा ४९ हजार एक सय ८७ युवा पुगेका छन् । युएईको रोजगारीमा असर परे नेपाली युवाहरू अन्य खाडी मुलुकतर्फ मोडिनेछन् । तीन वर्षअघि मलेसियाले आप्रवासी कामदारको आपूर्ति संख्यामा ठुलो कटौती गरेपछि युवाहरू युएईतर्फ मोडिएका थिए । सुरुवातमा भने सबैभन्दा आकर्षक गन्तव्य मलेसिया थियो । कुल मागको १० प्रतिशत मात्रै आप्रवासी कामदार लिने मलेसियाको नीतिका कारण अहिले न्यून संख्यामा मात्रै मलेसियाका लागि माग आउने र श्रम स्वीकृति प्रदान हुने गरेको विभागले जनाएको छ ।
युएईतर्फ रोजगार संकटमा परे साउदी अरब जाने संख्या बढ्ने अनुमान छ । किनभने, साउदीसँग श्रम सम्झौता गर्ने मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ । साउदी र नेपालबिच श्रम सम्झौतामा हस्ताक्षर भए अन्तर्राष्ट्रिय कानुनअनुसार कामदारमैत्री वातावरण र ज्यालासमेत निर्धारण हुनेछ । अर्कातिर सन् २०३४ को विश्वकप आयोजनाको अधिकार लिएको साउदीले निर्माण क्षेत्रमा ठुलो संख्यामा आप्रवासी कामदार लिन सक्ने अनुमान छ ।
यी राष्ट्रमा पनि फैलिँदै छ वैदेशिक रोजगारी
कोरियामा सरकारी स्तरबाट रोजगार प्रणाली सुरु भएपछि भाषा सिकेर जाने युवाको संख्या बढ्दै गएको छ । गत आवमा १४ हजार दुई सय २४ र जापानमा व्यक्तिगत श्रम स्वीकृति गरेर कोरिया पुगेको विभागले जनाएको छ । त्यस्तै, जापानमा व्यक्तिगत श्रम स्वीकति गरेर गत आवमा २३ हजार ७१ युवा पुगेका छन् । युरोपियन राष्ट्रमध्ये रोमानियामा २७ हजार आठ सय ७४ र क्रोएसियामा १३ हजार आठ सय ३५ युवा पुगेका छन् ।
मुलुकको रोजगार प्रणालीमा ठुलो असर पर्छ : रोहन गुरुङ, अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
युएईमा भिजिटका लागि मात्रै नभई श्रमिकका लागि पनि भिसा दिन बन्द गरिएको चार दिनजति भइसक्यो । नेपालमा हालै भएको जेन–जी आन्दोलन र त्यस क्रममा घटेका घटनापछि भिसा दिन रोकिएको हो ।
खासगरी दुबईमा भिजिट भिसामा जाने र त्यहाँबाट अन्य देशमा जाने प्रवृत्ति धेरै देखिन्थ्यो । दुबईलाई ट्रान्जिट बनाइएको थियो । यस विषयमा नेपाली दूतावासमा युएईले जानकारी पनि गराएको जस्तो लाग्छ । भिजिट भिसाको दुरुपयोग भएपछि त्यसलाई कडाइ गरेको थियो । अहिले श्रम भिसा पनि रोकिदियो ।
नेपालबाट दैनिक १५ हजार हाराहारी मानिस रोजगारीका लागि जाँदा सबैभन्दा बढी युवा युएई जाने गरेका थिए । अब यो रोकिँदा समस्या हुनेछ । रोजगारीका लागि युएई जाने प्रक्रियामा धेरै युवा थिए । यी सबै युवा समस्यामा पर्ने भए । भिसा प्रक्रियामा रहेका युवाको पनि श्रम स्वीकृति रोकिएको छ, मेडिकल सकेर बसेकालाई पनि भिसा दिइएको छैन ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालय र त्यहाँ भएको दूतावासले प्रयास गरेमा खुल्न सक्छ । प्रहरी रिपोर्ट अनिवार्य गराएर भिसा पुन: खुलाउन सक्छ, तर त्यसका लागि सरकारले पहल गर्नुपर्छ । सरकारले पहल नगरेमा पनि उनीहरूलाई श्रमिक चाहिएका खण्डमा र रोजगारदाताको सुझावमा पुन: भिसा खुलाउन सकिन्छ ।