मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
Invalid date format o९:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसीले गर्‍यो एन्फालाई कारबाही : फुटसल छनोटमा सहभागी नहुँदा १० हजार डलर जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४५:oo
  • एएफसीको अनुशासन तथा आचारसंहिता समितिको गत २१ अगस्टमा बसेको बैठकले एन्फालाई जरिवाना गर्ने निर्णय गरेको हो 

एसियन फुटबल महासंघ (एएफसी)ले एएफसी फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाही गरेको छ । एएफसीले कारबाहीस्वरूप नेपाली फुटबलकै सर्वोच्च निकाय एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गराएको छ । एएफसीको अनुशासन तथा आचारसंहिता समितिको गत २१ अगस्टमा बसेको बैठकले कारबाहीसहित जरिवाना गर्ने निर्णय गरेको हो । 

एन्फाका महासचिव किरण राईले एएफसीले कारबाही गरे पनि सामान्य प्रक्रिया भएको बताएका छन् । उनले यसलाई हल्का रूपमा लिएका छन् । एएफसीमा आबद्ध फुटबल संघ कारबाहीमा पर्नु सामान्य भएको राईले बताए । ‘यो कुनै ठुलो होइन । एएफसीले यस्तो कारबाही गरिरहेको हुन्छ,’ एन्फा महासचिव राईले भने, ‘१० हजार डलर जरिवाना गरेको समाचारलाई ठुलो बनाइराख्नुपर्दैन ।’ एएफसी फुटबल एसियन कप छनोट सुरु हुनु १०६ दिनअगाडि एन्फाले आधिकारिक रूपमा नेपालले आफ्नो नाम फिर्ता लिएको थियो । 

एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको छ । राईले नेपालको तयारी नपुगेका कारण छनोट प्रतियोगितामा सहभागी नभएको भनाइ राखेका छन् । ‘यसपटक छनोट प्रतियोगितामा सहभागी हुन तयारी पुगेन, त्यसकारण नाम फिर्ता लिएको हो,’ उनले भने, ‘अर्कोपटक भने राम्रो तयारी गरी छनोट प्रतियोगितामा नेपालले भाग लिनेछ ।’ तर, एएफसीको कारबाहीमा परेको नेपाल अर्को संस्करणका लागि अयोग्य भइसकेको छ । एएफसीले कारबाहीसँगै अर्को संस्करणमा समेत सहभागी हुन नपाउने जनाएको छ । 

एक महिनाभित्र जरिवाना तिर्नुपर्ने
एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा ११.३ बमोजिम कारबाहीमा परेको एन्फाले निर्णय भएको मितिको ३० दिनभित्र जरिवाना तिनुपर्ने हुन्छ । एएफसीले जरिवाना तिर्न दिइएको समय सकिन चार दिन मात्र बाँकी छ । यद्यपि, एन्फाले १० हजार अमेरिकी डलर अहिलेसम्म तिरिसकेको छैन । एन्फाले छनोट भएका खेलाडी र राष्ट्रिय खेलाडीलाई समेट्दै प्रारम्भिक टोली बनाएको थियो । प्रारम्भिक छनोटका लागि लागि ४५–५० खेलाडी बोलाइएको थियो । तर, एन्फाले प्राविधिक कारण देखाउँदै प्रशिक्षण सुरु हुन नपाउँदै बन्द गरेको थियो । 

छनोट प्रतियोगिता गर्‍यो, तर सहभागी गराएन
एन्फाले छनोट प्रतियोगितामा सहभागी हुने लक्ष्यका साथ गत २२ वैशाखदेखि ५ जेठसम्म अन्तरविद्यालय फुटसल च्याम्पियनसिप आयोजना गरेको थियो । यसै च्याम्पियनसिपबाट खेलाडी छनोट पनि भयो । तर, एन्फाले नेपालबाट छनोट प्रतियोगितामा भाग नलिने भनी अन्तिम समयमा नाम फिर्ता लिएको हो । सन् २०३६ को २७ जनवरी देखि ७ फेब्रुअरीसम्म फुटसल एसियन कप हुँदै छ । 

इन्डोनेसियाले यो प्रतियोगिता आयोजना गर्दै छ । दुई सहरमा आयोजना हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । एकल राउन्ड रोबिनअनुसार हुने प्रतियोगितामा समूहका शीर्ष स्थानमा रहने टोली एसियन कपमा सोझै छनोट हुने प्रावधान छ । यसैगरी एएफसीले सात उत्कृष्ट उपविजेता टोली पनि छनोट हुने जनाएको छ ।

एएफसीले यस्ता हचुवा कारबाही गरिरहेकै हुन्छ : किरण राई, महासचिव, एन्फा
यो कुनै ठुलो घटना होइन । एएफसीले यस्ता कारबाही गरिरहेको हुन्छ । १० हजार डलर जरिवाना गरेको समाचारलाई ठुलो बनाइराख्नुपर्दैन । यसपटक तयारी पुगेन, यसकारण एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेलबाट नाम फिर्ता लिएका हौँ । अर्कोपटक राम्रो तयारी गरी छनोट खेलमा भाग लिन्छौँ ।

छनोटमा भाग नलिएका राष्ट्रहरू : नेपाल, लाओस, तुर्किमिस्तान, जोर्डन, कतार, फिलिपिन्स, ओमान, भुटान, गुआम, उत्तर कोरिया, सिंगापुर, श्रीलंका, सिरिया, यमन, नर्थन मारियाना आइसल्यान्ड