
गाजा सहर खाली गर्न आपत्कालीन आदेश प्राप्त भएपछि गाजाका दश लाखभन्दा बढी मानिसले नयाँ आतंकको सामना गरिरहेका छन् । लाखौँ नागरिक अझै पनि भित्र फसिरहेकै समयमा इजरायली सेनाले आफ्नो स्थल आक्रमण सुरु गरेको छ । वृद्ध, गम्भीर रूपमा अस्वस्थ, घाइते र गर्भवतीलाई भाग्न असम्भवजस्तै छ । यस्तोमा यो समूहलाई मृत्युदण्डको सजाय सुनाइए जस्तो भएको छ । भाग्न खोज्ने मानिस तीव्र बमबारीका कारण उम्कन सकेका छैनन् ।
भागेर जाने क्रममा यात्रामा बचेका मध्य र दक्षिणी गाजाको भिडभाड भएका क्षेत्रमा पुग्नेछन् । त्यहाँ उनीहरूले न त सुरक्षा पाउनेछन्, न त उनीहरूलाई बाँच्नका लागि आवश्यक आधारभूत कुरा नै उपलब्ध हुनेछ । लगभग दुई वर्षको चरम क्रूरताले चरम पीडामा धकेलिएका गाजावासीले विपत्तिको सामना गर्नुपरेको छ । गाजामा जे भइरहेको छ, त्यो केवल मानवीय विपत्ति मात्र होइन । यो मानिसको व्यवस्थित विनाश हो । यस विपत्तिबारे ‘डाक्टर्स विदाउट बोडर्स’ स्पष्ट छ की इजरायलले गाजामा प्यालेस्टिनीविरुद्ध पूर्ण दण्डहीनताका साथ नरसंहार मच्चाइरहेको छ ।
गाजामा युद्धका कारण मानव मृत्युको संख्या डरलाग्दो छ । गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २० हजार बालबालिकासहित ६४ हजराभन्दा बढी मानिस मारिएका छन् । अस्पताल, विद्यालय र घरहरूको भग्नावशेषमुनि धेरै मानिस फसेकाले वास्तविक मृत्युको संख्या बढी हुन सक्छ । गाजामा कहीँ पनि सुरक्षित स्थान छैन । घरमा आश्रय लिँदा सम्पूर्ण परिवारको कत्लेआम गरिएको छ । बिरामीको हेरचाह गर्दा स्वास्थ्यकर्मी मारिएका छन् । पत्रकारलाई सत्यको साक्षी बनेको भन्दै निसाना बनाइएको छ । इजरायली सेनाले गाजामा सबै स्थान र सबैमाथि आक्रमण गरेको छ ।
खुला युद्धभूमिमा प्रयोग गर्न डिजाइन गरिएका उच्च–तीव्रताका हतियार ( जुन संयुक्त राज्य अमेरिका र युरोपेली सरकारले इजरायललाई बेचेका हुन्) घना बस्ती भएका सहरी क्षेत्रमा प्रयोग भइरहेको छ । परिणामस्वरूप हामी विनाशकारी चोटपटकको उपचार गरिरहेका छौँ । इजरायली अधिकारीले व्यवस्थित रूपमा गाजाको स्वास्थ्य सेवा प्रणालीलाई लक्षित गरेका छन् । अस्पतालमा बम विस्फोट, चिकित्सा सुविधामा छापा मार्ने र कर्मचारी र बिरामीको जीवनलाई खतरामा पार्नेलगायत युद्ध अपराधका कार्य भएका छन् ।
अस्पतालमा बिरामीको थेग्ने नसक्ने चाप र स्रोतसाधनको अभाव छ । बिरामी बेसहारा बनेका छन् र मृत्युवरण गरिरहेका छन् । हाम्रा बाह्र सहकर्मी मारिएका छन् । एमएसएफ अर्थोपेडिक चिकित्सक डा. मोहम्मद ओबेद अक्टोबरदेखि इजरायलको हिरासतमा छन् । अहिलेसम्म जम्माजम्मी १५ सयभन्दा बढी स्वास्थ्यकर्मी मारिएका छन् । घाइते परिवार र गाजाको घेराबन्दीमा परेको स्वास्थ्य प्रणालीका लागि त्यो एक विनाशकारी क्षति हो ।
नरसंहार युद्धको प्रभाव प्रत्यक्ष आक्रमणभन्दा बाहिर फैलिएको छ । इजरायली अधिकारीले जानाजानी गाजालाई उकुसमुकुस बनाएका छन् । पूर्ण घेराबन्दी गरेका छन् । इन्धन, पानी, खाना र चिकित्सा आपूर्तिमा गम्भीर प्रतिबन्ध लगाएका छन् । सुनियोजित भोकमरीसहित सामूहिक दण्डको नीतिले आफ्नो क्रूर उद्देश्य हासिल गरेको छ । अनिकाल घोषणा गरिएको छ । गाजामा हाम्रा क्लिनिकमा हालै गरिएको एक सर्वेक्षणले देखाएको छ कि २५ प्रतिशत गर्भवती वा स्तनपान गराउने महिला कुपोषित थिए ।
उपलब्ध सीमित खाद्य सहायतालाई समेत हतियार बनाइएको छ । इजरायलद्वारा सञ्चालित अमेरिकी वित्त पोषित अभियानले १४ सयजनाको मृत्यु र चार हजारजना घाइते बनाएको छ । खाना लिन जाँदा छातीमा गोली लागेका बालबालिका र भागदौडमा कुल्चिएका वा निसास्सिएका मानिसको हामीले उपचार गरेका छौँ । क्रूरताको यो स्तर अविवेकी छ । पानीको नियोजित अभावले रोगलाई बढावा दिइरहेको छ । गत महिना एमएसएफले चार हजारजनालाई झाडापखालाको उपचार गर्यो । एमएसएफले सफा पिउने पानीको आपूर्ति बढाउन सक्ने भए पनि वितरणमा रोक लगाइएको छ ।
यसबिच नियन्त्रित पश्चिम किनारमा राज्यद्वारा गरिएको हिंसा तीव्र गतिमा बढिरहेको छ । पश्चिम किनारको जनसांख्यिकीय संरचना परिवर्तन गर्न बनाइएका नीतिहरूको अंशको रूपमा जग्गा चोरी, जबर्जस्ती विस्थापन र समुदायमाथि आक्रमण तीव्र हुँदै गइरहेका छन् । इजरायललाई राजनीतिक, सैन्य वा भौतिक वा मौन समर्थन गरेका विश्वभरका सरकार नरसंहारमा संलग्न छन् । प्रतिक्रिया दिन उनीहरूको नैतिक र कानुनी दायित्व छ । यसको अर्थ यी अत्याचार रोक्न उपलब्ध हरेक राजनीतिक, कूटनीतिक र आर्थिक उपाय उपयोग गर्दै वास्तविक राजनीतिक दबाब दिनु हो, खोक्रो शब्द होइन ।
राज्यहरूले तुरुन्तै युद्धविराम सुनिश्चित गर्नुपर्छ । घेराबन्दी हटाउनुपर्छ र इजरायली अधिकारीले ठुलो मात्रामा स्वतन्त्र मानवीय सहायताको तत्काल र निर्बाध वितरणका लागि अनुमति सुनिश्चित गर्नुपर्छ । चिकित्सा सुविधा र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नुपर्छ । मानिसको ठुलो मात्रामा जबर्जस्ती विस्थापन बन्द गर्नुपर्छ । छोड्न चाहने मानिस र विशेषज्ञ हेरचाहको तत्काल आवश्यकता भएका बिरामीलाई बाहिर निकाल्न अनुमति दिन सिमाना खोल्नुपर्छ । अक्टोबर २०२३ मा हमासले गरेका आक्रमण भयानक थिए । मनमानी हिरासतमा राखिएका प्यालेस्टिनीसित बाँकी रहेका सबै बन्दीलाई पनि घर फर्कन अनुमति दिनुपर्छ । प्यालेस्टिनीको लागि आक्रोश र ऐक्यबद्धता व्यक्त गर्ने देशले अरूलाई काम गर्नका लागि राजनीतिक दबाब दिनैपर्छ ।
हरेक दिन गाजामा काम गर्ने हाम्रा एक हजार ११८ सहकर्मीले विनाशकारी वास्तविकताको सामना गर्छन् । उनीहरूले नरसंहार रोक्न सक्दैनन् । तर, विश्व नेताहरूले कदम चाल्न चाहे भने यो नरसंहार रोक्न सक्छन् । यो अथक र चरम हिंसाको दुई वर्षको वार्षिकोत्सव नजिकिँदै गर्दा यसलाई अन्त्य गर्न आवश्यक राजनीतिक विकल्पको प्रयोग गर्न अब धेरै ढिलो भइसकेको छ ।
लकइयर ‘डाक्टर्स विदाउट बोडर्स’का महासचिव हुन् ।
– अलजजिराबाट