मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
इन्द्रप्रसाद गोतामे (जगतजंग)
Invalid date format o८:o२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सेप्टेम्बर विद्रोहले देखाएको नयाँ दिशा

Read Time : > 4 मिनेट
इन्द्रप्रसाद गोतामे (जगतजंग)
नयाँ पत्रिका
Invalid date format o८:o२:oo

जेन–जीको विद्रोहले नयाँ युगको सुरुवात गरेको हुनाले अब युवाको नेतृत्वमा सुशासन, सामाजिक न्याय र समृद्धितर्फ अघि बढ्नुपर्छ

नेपालमा परिवर्तनको लहर चलेको छ । सेप्टेम्बर विद्रोह वा जेन–जी विद्रोहले यही संकेत गरेको छ । जेन–जी आन्दोलनसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दा नयाँ ढंगले मुखरित भएका छन् । देशले कोल्टे फेरेको छ । यो विद्रोहले हाम्रो समाजलाई रुपान्तरणको दिशा देखाएको छ र राजनीतिक प्रणालीमा गम्भीर प्रभाव पारेको छ । आजको संगठनको रूप सामाजिक सञ्जाल हो भन्ने कुरा पछिल्लो जेन–जी विद्रोहले सिकाएको छ ।

नेपालको मुख्य समस्या राजनीतिक अस्थिरता हो । शासकीय स्वरूप नै यसको जड हो । यसबाहेक, चरम भ्रष्टाचार, बेरोजगारी, कुशासन, नातावाद र नोकरशाहीतन्त्रले समाजलाई जकडेको छ । बाँच्न र सामान्य रोजगारीकै लागि लाखौँ युवा बिदेसिन बाध्य छन् । पछिल्लो समयमा दुई ठुला दलको दुईतिहाइ बहुमतको सरकारले निरंकुश शैली अपनायो । नीतिगत भ्रष्टाचार, कुलमान घिसिङको निष्कासन, उपसभामुखमाथि महाभियोग प्रस्ताव र सामाजिक सञ्जालमाथि प्रतिबन्धजस्ता कदमले जनतामा निराशा र आक्रोश बढायो । केपी शर्मा ओलीको चरम निरंकुश शासकीय प्रवृत्ति आन्तरिक कारण र विश्व ध्रुवीकरणमा देखा परेको फेरबदल र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार विश्व शक्ति केन्द्रसँग अपनाउने तटस्थताको ठोस राष्ट्रिय नीतिको अभाव, विदेशमा रहेका नेपालीले नेपालका शासकप्रति बनाएको नकारात्मक धारणाले देश उकुसमुकुसमा थियो भने सरकारले आफ्नो विरोध गरेको झोकमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेन–जी युवाले सरकारविरुद्ध विद्रोहको आह्वान गरे । शासकप्रतिको तीव्र घृणाले अप्रत्याशित विद्रोह सफल भयो र त्यसैको धक्काले शासन सत्ता परिवर्तन भयो । मात्र २४ घण्टामा शासकहरूलाई घुँडा टेकाउने स्थिति आयो । जेन–जीले अतुलनीय बलिदान दिए । माओले भनेजस्तै, ‘युवा हो, यो संसार तिम्रो पनि हो, हाम्रो पनि हो, अन्तत: तिमीहरूकै हो’ भन्ने मान्यताअनुसार विद्रोहले देश निर्माणको जिम्मेवारी युवाको काँधमा सुम्पियो ।

२००७ सालदेखि जनयुद्ध हुँदै ०६२/६३ को आन्दोलनले सामन्तवादलाई ढाल्यो । यसले राजनीतिक क्रान्तिको एक चरण पूरा गर्‍यो । तर, यसपछि उत्पादन, उत्पादन र फेरि पनि उत्पादनको नीति लिँदै औद्योगिक क्रान्तिमार्फत अन्तनिर्भर, आत्मनिर्भर समाजवादउन्मुख पुँजीको विकास गर्दै जनताको अवस्था बदल्नुपर्नेमा दलाल पुँजीवादलाई काखी च्यापेर उपभोक्तावादी पुँजीवाद हाबी हुन पुग्यो । परिणामस्वरूप अस्थिरता, गरिबी, बेरोजगारी र भ्रष्टाचारको दुश्चक्रमा देश फस्यो ।

यो अवस्थाबाट मुक्ति आवश्यक थियो । त्यसका लागि हिजोको राजनीतिक क्रान्तिभन्दा फरक ढंगको सामाजिक विद्रोह जन्मियो, जेन–जीका नाममा । यसले समाजलाई मात्र होइन, सबै राजनीतिक दललाई नयाँ ढंले रुपान्तरण गर्‍यो । पुनर्गठनका लागि सोच्न बाध्य गरायो । यो युगको सांस्कृतिक क्रान्तिजस्तो भयो । प्रतिक्रियावादीको ‘हेडक्वार्टर’ ध्वस्त भयो । लोकतन्त्रको आडमा देशलाई ‘आफ्नो बाउबाजेको पेवा’जस्तो मान्दै आएको शासकीय प्रवृत्ति नराम्रोसँग समाप्त भयो ।

नेपालीको श्रम, पसिना र करबाट बनेको बजेटबाट तलब खाने कर्मचारी, प्रहरी, सेना, सांसद, मन्त्री किन देशप्रति बफादार छैनन् ? किन खुलेआम भ्रष्टाचार भइरहेको छ ? किन नेपाल विश्वको गरिब देशको लहरमा बस्न बाध्य छ ? सामाजिक सञ्जालमाथि किन प्रतिबन्ध लगाइयो ? 

यी प्रश्नको समाधान र स्थायी सरकारका लागि कार्यकारी राष्ट्रपति, प्रधानमन्त्रीको शासकीय स्वरूप निर्माण गर्ने उद्देश्यसहित विद्रोह भयो । निरंकुश शासकले यसलाई निकै खिसिट्युरी गरे, तर भाद्र २३ गते लाखौँ युवा सडकमा उत्रिए । २४ घण्टा बित्दानबित्दै युवा विद्रोह सफल भयो ।

तर, जेन–जीको विद्रोहमा प्रवेश गरी प्रतिगामीहरूले विद्रोहलाई ‘हाइज्याक’ गर्न खोजे, जसले थप परिवर्तन रोकिदियो । देश ध्वंसतिर धकेलिने स्थिति बन्यो । यो विद्रोह भोजभतेर थिएन, न यो विद्रोह चित्रकारिता नै थियो । प्रसव पीडाको बिचबाट– मृत्युलाई जितेर गरिएको महान् धक्का थियो । यस विद्रोहमा दर्जनौँ युवाले सहादत दिएका छन् । हजारौँ घाइते भएका छन् । नयाँ सरकारले मृतकलाई सहिद घोषणा गरिसकेको छ । सहिदको परिवारलाई क्षतिपूर्तिको व्यवस्था पनि गरिसकेको छ । सहादत प्राप्त गर्नुहुने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली र सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु । सत्तामा बसेर निर्दोष युवालाई ताकीताकी गोली प्रहार गरेर हत्या गर्ने सरकारका जिम्मेवार प्रधानमन्त्री, मन्त्री र अन्य अधिकारीमाथि छानबिन गरी दोषी देखिएमा तिनलाई हदैसम्मको कारबाही गरिनुपर्छ । जेन–जी युवा प्रतिगामीहरूको षड्यन्त्रलाई परास्त गर्न एक कदम पछि हटेर पनि देशलाई जोगाउन सफल भएका छन् । उनीहरूको विज्ञान, प्रविधि र परिस्थितिको आकलन गर्ने क्षमता प्रशंसनीय छ । हामीले सोचेका थियौँ, हाम्रो जेन–जी राजनीतिमा छैन । तर, उनीहरूले धक्कामय ढंगले आन्दोलनको कमान्ड सम्हाले र राजनीतिको नेतृत्व गरे । अबको २०–२५ वर्षसम्म नेपालले युवा जनसंख्याको लाभ लिन सक्छ । यो अवस्थाबाट अब चुक्नुहुँदैन । 

सफल विद्रोहपछि अन्तरिम सरकारको नेतृत्व जेन–जीले नै लिई विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्दै उत्पादन, उत्पादन र फेरि पनि उत्पादनको नीति लिएर औद्योगिक क्रान्ति गर्नुपर्ने आमजनताको अपेक्षा थियो । 

जेन–जीले नै सरकारको नेतृत्व लिनुपथ्र्यो । तर, त्यसो हुन सकेन । यो नयाँ सरकारले पर्दापछाडिका सम्पूर्ण षड्यन्त्रलाई परास्त गर्दै भूराजनीतिक प्रभाव र विश्व अव्यवस्थाको भुमरीबाट देशलाई बचाउनु आवश्यक छ । दक्षिण एसियाको भूराजनीतिक द्वन्द र शक्ति केन्द्रको खेल मैदान बन्नबाट देशलाई रोक्न सकिएन भने यो परिवर्तनको औचित्य समाप्त मात्र हुनेछैन, देशको सार्वभौम सत्तासमेत संकटमा पर्नेछ । त्यसैले, नयाँ सरकार यसमा गम्भीर हुन आवश्यक छ । देशको स्वार्थलाई केन्द्रमा राखेर सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न चुक्नुहुँदैन । 

नेपाली इतिहासमा भएका विभिन्न राजनीतिक आन्दोलनका उपलब्धिको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री तथा पहिचानका आधारमा प्रदेश नामकरण, सानो आकारको विज्ञहरूको मन्त्रिमण्डल (सबै वर्ग, जाति, क्षेत्र, लिंग समेटेर) गठन गर्ने प्रणाली लागू गर्नुपर्छ । । पूर्ण समानुपातिक निर्वाचन प्रणालीद्वारा संसद्को निर्वाचन गरी यसलाई कानुन मात्र बनाउने र सरकारको निगरानी गर्ने संस्था बनाइनुपर्छ ।

न्यायपालिका, प्रहरी, सेना, गुप्तचर र अख्तियारलाई पुनर्संरचना गर्नुपर्छ । संवैधानिक निकायलाई अधिकार सम्पन्न बनाउन त्यसका प्रमुखहरू जनताद्वारा योग्यताका आधारमा निर्वाचित गर्ने व्यवस्था हुनुपर्छ । सरकारलाई जननिगरानी र नियन्त्रण गरी जनताको हस्तक्षेपद्वारा जनपक्षीय बनाउने व्यवस्था हुनुपर्छ । आवश्यक परे फिर्ता बोलाउने अधिकारसमेत सुनिश्चित गरिनुपर्छ । निर्वाचनमा विकल्पमा ‘नो भोट’ अर्थात् म कसैलाई भोट दिन्नँ’ भन्ने अधिकार सुनिश्चित गरिनुपर्छ । २० वर्ष पुगेपछिका युवा जनप्रतिनिधि हुन पाउने व्यवस्था हुनुपर्छ । 

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाई भ्रष्टाचारीलाई सार्वजनिक पदमा जानबाट प्रतिबन्ध लगाइनुपर्छ । ०४६ पछिको मात्र होइन, त्यसअगाडिका कर्मचारी र मन्त्रीहरूको सम्पत्तिसमेत छानबिन गरी भ्रष्टाचार गरेको पाइएमा राष्ट्रियकरण गरिनुपर्छ । कर्मचारीभित्र मौलाएको नोकरशाहीतन्त्र, पञ्चायती मानसिकता, दैनिक डेलिभरीमा देखिने ढिलासुस्ती र बिचौलिया तन्त्रको अन्त्य गर्न पूर्ण रूपमा डिजिटल प्रविधि अपनाउनुपर्छ । आजको युगअनुसार आधुनिक ‘मेकानिजम’ विकास गरी राज्य सञ्चालन गरिनुपर्छ । राज्यको पुरानो शासकीय मानसिकता बदलेर पारदर्शिता, जवाफदेहिता कायम गराउनुपर्छ ।

बढ्दै गएको चरम आर्थिक संकटलाई कसरी समाधान गर्ने ? आर्थिक रूपमा दलाल पुँजीवादको अन्त्य गरी उत्पादनमुखी नीतिद्वारा औद्योगिक क्रान्ति, आत्मनिर्भर र अन्तरनिर्भर राष्ट्रिय पुँजी निर्माण गर्नुपर्छ । दलाल पुँजीवादको विकल्प समाजवाद नै हाम्रो दीर्घकालीन समाधान हो । यो हिजोको जस्तो समाजवाद होइन, हिजोबाट सिक्दै आजको समाजवाद लागू गर्नु हो । यो मौलिक वैज्ञानिक समाजवाद हो । सुशासन, सामाजिक न्याय र समृद्धिलाई आधार बनाएर अर्थतन्त्रमा व्यापक संरचनात्मक सुधार गर्नुपर्छ । नेपालले विज्ञान र प्रविधिको अधिकतम उपयोग गरेर पुँजीवादी, साम्यवादी, बहिर्मुखी र व्यवहारवादी अर्थतन्त्रका राम्रा पक्ष समेटेर दलाल र वित्तीय पुँजीवादको घेराबन्दीलाई परास्त गर्दै नेपालको मौलिकतासहितको जनताको सहभागितामा मिश्रित र समाजवादी अर्थतन्त्र विकास गर्नुपर्छ । यो नै त्रिकोणात्मक भूराजनीतिक आर्थिक सन्तुलन कायम गर्ने वैज्ञानिक विधि हो ।

आज पुँजीवादको विकल्प स्वतन्त्रता, समानता र भ्रातृत्वसहितको ‘नयाँ वैज्ञानिक समाजवाद’ बन्दै गएको छ । समुदायलाई बलियो बनाउने ‘म र हामी’ अर्थात् ‘निजी सम्पत्ति र सामूहिक सम्पत्ति’को समायोजन गर्दै समाजवादको नयाँ र उन्नत विकल्पको प्रतिस्पर्धा गर्ने व्यावहारिक बाटो नै आजको वैज्ञानिक समाजवादमा जाने बाटो हो ।

नेपाल विषम संक्रमणकालमा छ । पुरानो संसदीय व्यवस्थाको उपज यो संकटबाट मुक्ति आवश्यक छ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो । राजनीतिक उपलब्धिको रक्षा गर्दै समस्या समाधान गरी विश्व अव्यवस्थाबाट देश जोगाउनुपर्छ । जेन–जीको विद्रोहले नयाँ युगको सुरुवात गरेको छ । अब युवाहरूको नेतृत्वमा सुशासन, सामाजिक न्याय र समृद्धितर्फ अघि बढौँ । जेन–जीको विद्रोह शासकीय रुढीवादभित्रको क्रमभंगता हो । यसले शासकलाई सेवक बन्न प्रेरित गरेको छ । जनप्रतिनिधि शासक होइन, सेवक बनौँ । देश युवाहरूकै हो ।

(गोतामे बागमती प्रदेश सभाका सांसद् हुन्)