
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० आई अलराउन्डर वरीयतामा चौथो स्थानमा पुगेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको अलराउन्डर वरीयताको तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा उक्लिएका छन् । उनले दीपेन्द्रलाई विस्थापित गरेका हुन् ।
नेपालले तीन महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । जिम्बावेले अहिले नामिबियासँग शृंखला खेलिरहेको छ । राजाले गरिरहेको प्रदर्शनले उनको वरीयता बढेको हो ।
राजाको २१० रेटिङ र दीपेन्द्रको २०९ रेटिङ छ । अलराउन्डर वरीयताको शीर्ष स्थानमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । पाँचौँमा वेस्ट इन्डिजका रोस्टन चेज छन् ।