
जेनजी आन्दोलनका क्रममा अवरुद्ध बनेका कपिलवस्तु जिल्लाका मुख्य भन्सार नाका कृष्णनगर र सुठौली पुनः पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
केही दिन रोकिएको आयात–निर्यात २८ भदौदेखि सहज भएको भन्सार कार्यालयले जनाएको छ। २५ भदौको आन्दोलनका कारण बन्द भएको नाका २६ गते आंशिक तथा २८ गतेदेखि सम्पूर्ण सेवा नियमित भएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख फणिन्द्र खतिवडाले बताए। उनका अनुसार रोकिएका सबै सेवा पुनः सुचारु भइसकेका छन्।
कृष्णनगर र सुठौली भन्सार नाकाबाट मुख्यतः सिमेन्ट उद्योगका लागि कोइला, जिप्सम, स्पन्ज आइरन, लेटराइट आइरन ओर, चामल, फलफूल तथा बियर उद्योगका कच्चा पदार्थ आयात हुने गरेका छन्। यस्तै, नेपालमा उत्पादन भएका सिमेन्ट, क्लिंकर, जडीबुटी, हस्तकला सामग्रीलगायतका वस्तु भारततर्फ निर्यात हुने गरेको कार्यालयले जनाएको छ।
आयात–निर्यात अवरुद्ध हुँदा जिल्लाको आर्थिक गतिविधि प्रभावित भएकोमा भन्सार नाका सञ्चालनमा आएसँगै केही राहत मिलेको व्यापारीहरूले बताएका छन्।