मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format १५:५६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

झापाका १२ स्थानीय तहका प्रशासनिक भवनमा क्षति, ५२ वडा कार्यालयमा आगजनी र तोडफोड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५६:oo

भदाै २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा झापामा १५ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहको प्रशासनिक भवनमा क्षति पुगेको छ । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण केही स्थानीय तहमा पूर्ण रूपमा क्षति पुगेको हो ।

यस्तै, स्थानीय तहको प्रशासनिक भवनमा मात्र हाेइन, वडा कार्यालयहरूसमेत जलेर ध्वस्त भएका छन् । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालका अनुसार मेचीनगर, बिर्तामोड, अर्जुनधारा, भद्रपुर, कन्काई, दमक, गौरादह नगरपालिका तथा बुद्धशान्ति, बाह्रदशी, कचनकवल, झापा र गौरीगन्ज गाउँपालिकाको प्रशासनिक भवनमा क्षति पुगेको छ। यस्तै, वडा कार्यालयको भवनहरूमा समेत क्षति पुगेको छ ।

स्थानीय तहका प्रशासनिक भवनमा मात्र हाेइन, त्यहाँका सवारीसाधनसमेत आन्दोलनका क्रममा अराजक समूहले जलाएर नष्ट बनाएका छन् । यस्तै, कार्यालयमा रहेका सम्पूर्ण कागजातसमेत जलेका छन् । यद्यपि, नयाँ प्रक्रियाबाट कार्यालय पुनर्स्थापना गर्दै सेवा दिइने प्रमुख बरालले जानकारी दिए । कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका र हल्दीबारी गाउँपालिकामा कुनै क्षति नभएको बरालले बताए । उनले यी तीन पालिकामा कर्मचारी फर्किएपछि तत्काल सेवा नियमित हुने बताए ।   

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार १२ स्थानीय तहका प्रशासनिक भवनसँगै ५२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भएको छ । यस्तै, प्रहरीको कार्यालय र बिटसहित १०४ वटा सरकारी कार्यालयमा क्षति पुगेको उनले बताए । यी कार्यालयमा कति क्षति भयो भन्ने विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय झापाको सर्जिमिन टोलीले मुचुल्का तयार पारिरहेको उनले बताए । सर्जिमिन गर्ने जनशक्ति समिति भएका कारण सकेसम्म चाँडै विवरण संकलन गरिसक्ने लक्ष्य राखिएको प्रजिअ अधिकारीको भनाइ छ ।

प्रशासनिक भवन र वडा कार्यालयहरू पूर्ण रूपमा क्षति भएपछि अहिले स्थानीय तहले सेवा नियमित गर्न सकेका छैनन् । आइतबार जिल्ला समन्वय समितिमा १५ वटै स्थानीय तहको बैठक बसेको थियो । स्थानीय तहका जनप्रतिनिधि भवनमा क्षति भए पनि जनताको आवश्यक सेवा त्रिपालमा बसेर दिन पनि तयार रहेको जिसस प्रमुख बरालले जानकारी दिए । उनले क्षतिको सर्जिमिन मुचुल्का सकेपछि क्षति भएको पालिकाको भवन सरसफाइ गरेर सेवा दिइने गरी तयारी भएको बताए ।

‘बैठकमा दोषीमाथि कारबाही गर्नुपर्छ भन्ने सबै पालिका प्रमुख–उपप्रमुखको एकमत थियो । कागजनीमा संलग्नलाई कारबाही गर्नुपर्छ भन्ने सहमति भएको छ,’ उनले भने, ‘अहिले भवन सबै जलेर नष्ट भएको छ । मुचुल्का उठाएपछि त्रिपालबाट भए पनि सेवा प्रवाह गर्ने सहमति भएको छ । सम्भवतः असाेजको दोस्रो सातादेखि सेवा प्रवाह सुरु हुन्छ ।’

यद्यपि, जनप्रतिनिधिहरूले भने अझै सुरक्षाको प्रत्याभूत नभएको र सबै भवन जलेका कारण तत्काल सेवा नियमित गर्न समस्या हुने बताएका थिए । ‘भएको सबै जलेको छ । तोडफोड भएको छ । हामीसँग केही पनि फाइल छैन । बस्न एउटा कुर्सीसम्म पनि छैन । कतिपय ठाउँमा प्रहरी फर्किएका छैनन् । यसले जनप्रतिनिधिलाई सुरक्षाको प्रत्याभूत पनि छैन,’ कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले भने, ‘तत्काल सेवा प्रवाह गर्न सक्ने अवस्था पनि छैन । हामीसँग एउटा कलमसम्म छैन, बस्न कुर्सी छैन । केही अत्यावश्यक सेवा दसैँअघि सुरु हुन्छ होला । तर, पूर्ण रूपमा सेवा प्रवाह गर्नका लागि केही समय लाग्छ ।’

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरूमा समेत क्षति पुगेका कारण तत्काल सेवा प्रवाह गर्न नसकिएको जानकारी दिए । उनले कार्यपालिका बैठक बसेर मात्र सुरु गरिने बताए । यस्तै, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज साहले गाउँपालिकाको भवन र वडा कार्यालयहरू ध्वस्त भएका कारण तत्काल सेवा दिने सम्भावना नरहेको बताए । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भने केही दिनपछि आवश्यकताका आधारमा प्राथमिकीकरण गरेर सामान्य सिफारिसका काम गरिने जानकारी दिए ।

दमक नगरपालिकाले भने मंगलबारबाट नै वडा कार्यालयको सेवा दिने भएको छ । दमक नगरपालिकाको कार्यालय पूर्ण रूपमा जले पनि वडा कार्यालयहरूमा क्षति नभएका कारण सेवा सुरु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए । उनले मंगलबारदेखि नै नगरपालिकामा पनि कर्मचारीहरूले नै सरसफाइ सुरु गर्ने र विकल्प खोजेर भए पनि चाँडै सेवा प्रवाह गर्ने तयारी भएको बताए ।