मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
प्रेम गौतम काठमाडाैं
Invalid date format o७:२९:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खण्डहर बने प्रमुख दलका कार्यालय

आगजनीबाट कांग्रेस, एमाले, माओवादी कार्यालय ध्वस्त, कार्यकर्ता सरसफाइमा, तत्काल सञ्चालनमा नआउने

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२९:oo

लोकतन्त्रमा दलहरूलाई जनता र राज्यबिचको पुलका रूपमा हेरिन्छ । दल बलियो हुनु भनेको जनताको विश्वास, राज्यको स्थायित्व र लोकतन्त्रको दीर्घायु सुनिश्चित हुनु हो । तर, जेन–जी आन्दोलनको उग्रताले व्यवस्थापिका, कार्यपालिका र न्यायालयसँगै राजनीतिक दलहरूलाई पनि प्रभावित पार्‍यो । प्रमुख दलका पार्टी कार्यालयमा आगजनी भयो भने नेतृत्वमाथि भौतिक आक्रमणको प्रयाससमेत गरियो । 

जेन–जी आन्दोलनको उग्र रूपले दलका कार्यालयसँगै र नेताहरूका घरसमेत खरानी भएका छन् । आगजनी र तोडफोडका ती दृश्यले राजनीतिक क्षेत्र मात्र होइन, स्थानीय बस्ती र आममानिसको मन पनि स्तब्ध बनाएको छ । जेन–जीले प्रमुख दलका नेताहरूले भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गरेको तथा उनका सन्तानले तिरको करको पैसामा मोजमस्ती गरेको आरोप लगाएका छन् ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको आगजानी र तोफोडले भवनहरू भग्नावशेषमा परिणत भएका छन् । कार्यालयमा रहेका सबै भौतिक सामग्री लुटपाट भएको छ भने पुस्तकालयसहित अभिलेख रहने स्टोर शाखाहरूमा गरिएको आगजनीले फर्निचरसहितका अन्य भौतिक सामग्री सबै जलेर नष्ट भएका छन् । 

एक सातादेखि केन्द्रीय कार्यालयमा कर्मचारीहरू गएका छैनन् । बर्सेनि बाढीले ल्याउने डुबानको समस्या झेल्दै आएको एमाले कार्यालय तत्काल सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ । क्षतिको निरीक्षण र अवलोकनका लागि केन्द्रीय स्तरका नेताहरू औपचारिक रूपमा कोही पुगेका छैनन् । कतिपय नेता–कार्यकर्ता भने अनौपचारिक अवलोकनका लागि गएर फेरि पूर्वावस्थामै कार्यालयलाई फर्काउन लागेको भन्दै सामाजिक सञ्जालमार्फत सन्देश दिइरहेका छन् ।

केन्द्रीय कार्यालयको क्षतिबारे सबैजसो नेताहरू अनविज्ञ छन् । शुक्रबार कार्यालय पुगेका रिसेप्सनका कर्मचारी चन्द्रदेव पासवानले कार्यालय सफाइ भए पनि जलेर धेरै नष्ट भएको र भौतिक सामग्री सबै लुटपाट भएर ठुलो क्षति पुगेकाले तत्काल औपचारिक रूपमै कार्यालय सञ्चालन हुने सम्भावना नरहेको सुनाए । ‘पार्टी कार्यालयमा बस्ने अवस्था नै छैन, जाने कार्यकर्ताका लागि पनि अवलोकन गर्ने संग्रहालयजस्तो मात्रै भएको छ,’ पासवानले भने, ‘कोही नेता पनि आउनुभएको छैन, हामीलाई पनि कहिलेदेखि आउने कुनै निर्देशन छैन ।’

त्यस्तै, सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पनि आगजानीले पूरै ध्वस्त भएको छ । आगलागीले भौतिक सामग्री जलेर नष्ट भएका छन् । जसले गर्दा नियमित रूपमा कार्यालय सञ्चालन हुन सकेको छैन । कांग्रेसका वक्तव्य जारी गर्नेदेखि अनौपचारिक बैठकहरू कार्यालयबाहिरैबाट भइरहेका छन् । कार्यालय सञ्चालन र पछिल्लो अवस्थाबारे जानकारी दिने विषयमा केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेल सम्पर्कमै आउन चाहेनन् ।

शनिबार बेलुका पार्टी कार्यालय पुगेर खण्डहर कार्यालयको निरीक्षण गरेका महामन्त्री गगन थापाले भावुक बनेर आफूसँग वर्णन गर्ने कुनै शब्द नै नभएको बताएका छन् । ‘पार्टी कर्यालय आएर अवलोकन गर्दा मसँग भन्ने धेरै शब्द नै छैन, सबै जलेर ध्वस्त भएको छ । अस्ति भर्खर कति दुःख गरेर, सबै साथीहरूबाट पैसा उठाएर पुस्तकालय सुरु गरियो, तर अहिले जलेर ध्वस्त भएको छ । धेरै मिहिनेत गरेर, साथीहरूसँग पैसा मागेर बनायौँ । तर, सबै पुस्तक जलेर खरानी भएको छ,’ थापाले भिडियो पोस्ट गर्दै भनेका छन्, ‘हाम्रो शरीर त ढालिएको छ, तर मन दह्रो छ । हामी फेरि खरानीबाट उठ्छौँ ।’ 

थापाले विपत्का वेला सबैलाई सहयोग गर्न कार्यकर्तालाई अपिल पनि गरेका छन् । ‘धेरै रिस नराखौँ, हामीले नै सम्हाल्नुपर्छ, समुदायलाई हामीले फेरि जोड्नुपर्छ । दुःखका वेला अरूलाई सहयोग गर्ने हो । जसको घर जलेको छ, सक्दो गएर मद्दत गर्नुहोला । सार्वजनिक सम्पत्ति पुनस्र्थापनामा सहयोग पुर्‍याउन अपिल गर्दछु,’ उनले भने ।  

कोटेश्वर पेरिसडाँडास्थित माओवादीको केन्द्रीय कार्यालय आगोको भयानक लप्काले जलेर खण्डहरमा परिणत भएको छ । भित्ता मात्र उभिएका छन् । झ्याल–ढोका र फर्निचरदेखि कागजातसम्म सबै खरानीमा परिणत भएका छन् । पार्टी कार्यालयबाट काम गर्ने अवस्था छैन । त्यसकारण कार्यालय सचिवसहित कर्मचारी कार्यालयमा भेटिएनन् । कार्यालय सचिव गणेशमान पुन टेलिफोन सम्पर्कमा समेत आएनन् । तर, जलेको कार्यालयको भग्नावशेषबिच माओवादी कार्यकर्ताले आफ्नै झन्डा फहराइराखेका छन् । उनीहरू चउरमा उभिएर ‘हामीले आफ्नो घर जोगाउन सकेनौँ’ भन्ने पीडा सुनाउँदै थिए । 

कति क्षति भयो भन्ने यकिन छैन । ‘हामीले आफ्नो कार्यालयको रक्षा गर्न सकेनौँ । भ्रष्टाचार अन्त्य, सुशासनको नारासहित अभियान चलाएको माओवादीको कार्यालयमा भ्रष्टाचारविरोधी अभियान चलाएका जेन–जीले आगजनी गर्छन् भन्ने सोचिएन । यसले राम्रो पाठ सिकाएको छ,’ एक कार्यकर्ताले भने ।  ती कार्यकर्ताका अनुसार सुरुमा थोरै संख्यामा आएर तोडफोडको प्रयास गरेका थिए । उनीहरूलाई कार्यालयमा रहेका कार्यकर्ता र कर्मचारीले फर्काउने प्रयास गर्दै थिए । ‘लगत्तै सयौँको संख्यामा आएर आगजनी गर्न थालेपछि केही सिप चलेन,’ ती कार्यकर्ताले भने । माओवादी कार्यालयसँगैै जोडिएको एक सर्वसाधारणको घरमा पनि क्षति पुगेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास आगजनीबाट बस्नै नमिल्ने गरी ध्वस्त भएको छ । सुरुमा सानो समूह आएर ढुंगामुढा गरेको थियो । त्यसपछि अर्को समूह आएर आगजनी गरेको स्थानीय बताउँछन् । प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि आगजनी भएको छ । 

 एकीकृत समाजवादीको कार्यालय भवन बच्यो, कागजात र फर्निचर जलाइए 
एकीकृत समाजवादीको मीनभवनस्थित केन्द्रीय कार्यालय पनि आन्दोलनकारीको निसाना बन्यो । ढोका–झ्याल फुटेका छन् । कागजात र फर्निचर सडकमा जलाइएको छ । एक करोडबराबरको क्षति भएको अनुमान छ । यसअघि पनि राजावादी आन्दोलनले एकीकृत समाजवादी कार्यालयलाई निसाना बनाएको थियो । कार्यालय सचिव रामकुमार भट्टराई जेन–जी आन्दोलनका क्रममा भएको तोडफोडमा एक करोडबराबरको क्षति भएको बताउँछन् । ‘एक करोडबराबरको क्षति भएको अनुमान छ । तोडफोडबाट कार्यालयमा पूरै क्षति पुर्‍याए ।

आगजनी भने गरेनन्,’ उनले भने । उनका अनुसार कार्यालय सञ्चालनमा ल्याउन अझै केही समय लाग्छ । यसअघि राजावादी आन्दोलनका क्रममा आगजनी हुँदा करिब ६२ लाखबराबरको क्षति भएको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको घरमा पनि आगजनी गरेका छन् । दुवै घरमा बस्ने अवस्था छैन । दुवै नेता सेनाको सुरक्षामा छन् । घर मर्मतसम्भारको काम सुरु भएको छैन ।