मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
थोमस ग्राहम
२o८२ भदौ ३० सोमबार १o:२८:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

रुस र युक्रेन दुवैलाई मान्य हुने सम्झौतामा पुग्न के गर्नुपर्छ ?

शान्ति–सम्झौतामा पुग्न युक्रेनले आफ्ना केही भूभाग परित्याग गर्न तयार हुनुुपर्ने र रुसले सैन्यीकृत तटस्थ युक्रेनलाई स्वीकार गर्नुपर्ने हुन सक्छ

Read Time : > 3 मिनेट
थोमस ग्राहम
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १o:२८:oo

‘समाधानको सबैभन्दा कठिन विषय युद्धको अन्त्यमा हाम्रो नियन्त्रणमा नरहेका युक्रेनी भागको स्थिति कस्तो हुने भन्ने छ,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गत फेब्रुअरीमा रुस–युक्रेन युद्ध समाधान गर्न वार्ता सुरु भएको केही समयपछि क्रेमलिनका एक वरिष्ठ अधिकारीले भनेका थिए । निश्चित रूपमा उनी सही छन् । अहिले, युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा रुस र अमेरिका पूर्ण रूपमा विपरीत अडान लिएर बसेका छन् ।

 क्रेमलिन युक्रेनलाई पनि बेलारुसजस्तै आफ्नो सार्वभौमिकताबाट वञ्चित गरेर आफ्नो कक्षमा घुम्ने देश बनोस् भन्ने चाहन्छ । संयुक्तराज्य अमेरिकाले भने एक सुरक्षित, पूर्ण सार्वभौम र स्वतन्त्र युक्रेन चाहेको छ, जुन बिस्तारै पश्चिमी विश्वमा समाहित हुनेछ । ट्रम्पले यो लक्ष्य कहिल्यै स्पष्ट रूपमा नभनेका भए पनि उनका उपराष्ट्रपति र अन्य वरिष्ठ अधिकारीहरूले पनि जाहेर गरिरहेका हुन्छन् । दुई विपरीत अडानको मिलनविन्दु भेट्नु असम्भवजस्तो देखिन्छ । तर, फेरि बिचको मिलनविन्दु नभई कुनै स्थायी समाधान हासिल पनि हुनेछैन ।

पछिल्लो समय युद्धभूमिमा जित हासिल भइरहेको पुटिनको आत्मविश्वास नयाँ चुनौतीको रूपमा आएको छ । तथापि, वार्ताको टेबलबाटै आफ्नो लक्ष्य हासिल भए उनी खुसी नै हुनेछन् । यसविपरीत, संयुक्तराज्य अमेरिकाले युक्रेन सम्बन्धमा लिएका उद्देश्य भने वार्ताको टेबलबाट मात्र हासिल हुन सक्छ । युक्रेनी नेताहरू पनि रुसी सेनालाई हराउन नसक्ने र रुसको कब्जामा गएका आफ्नो सबै भूमि फिर्ता लिन नसक्ने स्विकार्छन् । तर, युक्रेनी फौजले युद्धमोर्चामा रुसी प्रगति रोक्न सके मात्र पुटिन कुनै खालको सम्झौताका लागि आउलान् । त्यसैले वार्तामार्फत हुने समाधानका लागि समेत युक्रेनलाई निरन्तरको अमेरिकी सहायता अत्यावश्यक छ । युद्ध रेखामा रुसी फौज रोक्नु युक्रेन सम्बन्धमा घनिभूत वार्ता सुरु गर्ने पहिलो कदम हुनेछ ।

युक्रेनलाई पनि बेलारुसजस्तै आफ्नो सार्वभौमिकताबाट वञ्चित गरेर आफ्नो कक्षमा घुम्ने देश बनोस् भन्ने क्रेमलिन चाहन्छ । संयुक्तराज्य अमेरिकाले भने एक सुरक्षित, पूर्ण सार्वभौम र स्वतन्त्र युक्रेन चाहेको छ, जुन बिस्तारै पश्चिमी विश्वमा समाहित हुनेछ । ट्रम्पले यो लक्ष्य कहिल्यै स्पष्ट रूपमा नभनेका भए पनि उनका उपराष्ट्रपति र अन्य वरिष्ठ अधिकारीहरूले भने जाहेर गरिरहेका हुन्छन् ।

राम्रोसँग तयारी गर्ने हो भने सद्भावपूर्ण वार्ता भयो भने पनि न्यून उपलब्धि हासिल हुनेछ । यससम्बन्धमा दुई अन्तर्दृष्टि आवश्यक छ । पहिलो, सार्वभौमिकताको मुद्दा निःसन्देह दुवै पक्षका लागि सुरक्षाको विषय हो भन्ने स्वीकारोक्ति । युक्रेनीहरू भविष्यमा फेरि रुसी आक्रमण नदोहोरिने बलियो ग्यारेन्टी चाहन्छन् । त्यस्तै, रुसीहरू आफ्नो भूमिमाथि हुन सक्ने नेटो आक्रमणको आधार युक्रेन कहिल्यै पनि नबनोस् भन्ने विश्वसनीय आश्वासनको माग गरिरहेका छन् ।

दोस्रो, रुस–युक्रेन मुद्दा समग्र ‘युरोपेली सुरक्षा’को वृहत्तर प्रश्नसँग गहिरो रूपमा गाँसिएको छ भन्ने स्वीकारोक्ति । रुसले महादेशको सुरक्षा ‘अविभाज्य’ रहेको भन्ने गर्छ । अर्थात्, कुनै एक देशको अर्कोलाई असुरक्षित राखेर सुरक्षित हुन नसक्ने उसको भनाइ छ । युरोपेलीलाई युक्रेनमा सम्भावित रुसी विजयले पुटिनलाई थप अरू युरोपी छिमेकी देशमाथि आक्रमणका लागि प्रोत्साहित गर्न सक्ने डरले आक्रान्त बनाएको छ । यस्तोमा एउटा सूत्र तयार गर्नुपर्छ, जसले सार्वभौम युक्रेनको भावी सुरक्षा ग्यारेन्टी प्रदान गर्नुका साथै, रुसलाई सार्वभौम युक्रेनबाट उसको सुरक्षामाथि खतरा नहुने प्रत्याभूति दिलानुपर्छ । त्यस्तो सूत्र कस्तो होला त ?

व्यापक रूपमा भन्दा, भावी शान्ति–सम्झौतामा युक्रेनको सशस्त्र तटस्थता र रुस–युक्रेन सीमालाई स्थिर राख्न रुस–पश्चिमबिचको सम्झौता समावेश हुनुपर्छ । ब्यारेन्ट्स सागरदेखि कृष्णसागरसम्म फैलिने यो सीमाक्षेत्र हालको युद्धविराम रेखा हुन सक्छ । रुस र युक्रेन (यसका पश्चिमी समर्थक)ले कठोर त्यागका लागि तयार रहनुपर्नेछ । उदाहरणका लागि, युक्रेनले नेटोमा सामेल हुने आफ्नो महत्वाकांक्षा परित्याग गर्दै असंलग्न, गैरआणविक राज्यको हैसियत स्वीकार गर्नुपर्नेछ । नेटोले पनि औपचारिक रूपमा युक्रेनका लागि आफ्नो ढोका बन्द गर्नुपर्नेछ । युक्रेनमा मात्र होइन, अन्य विगतमा सोभियत संघको प्रभाव क्षेत्र रहेका मुलुकमा पनि यसले थप विस्तारको लक्ष्य त्याग्नु पर्नेछ ।

यसले रुसी सुरक्षाको माग सम्बोधन गर्छ । र, सत्य भन्नुपर्दा, यो त्यति कष्टसाध्य काम पनि होइन । किनकि व्यावहारिक रूपमा नेटो वा कम्तीमा संयुक्तराज्य अमेरिका र जर्मनीजस्ता यसका मुख्य सदस्यले थप पूर्वतिर विस्तार गर्ने कुनै मनसाय राखेको देखिँदैन ।बदलामा, रुसले युक्रेनको निशस्त्रीकरणसम्बन्धी आफ्नो जिद्दी त्याग्नुपर्छ । एक तटस्थ राज्यको रूपमा, युक्रेनसँग क्षेत्रीय अखण्डता रक्षाका लागि आवश्यक सेना निर्माण गर्ने अधिकार हुनुपर्छ । रुसले कुनै पनि नेटो सदस्य राष्ट्रका सेना युक्रेनमा नबसोस् वा ती देशका सेनासँग संयुक्त अभ्यास नगरोस् भन्न पाउँछ, तर उसले पश्चिमी राज्यबाट सुरक्षा सहायता प्राप्त गर्न पाउँदैन वा अहिले रुससँग लड्दा सिकेका पाठ आफ्ना युरोपेली साझेदारहरूसँग साझा नगर भन्न सक्दैन । 

युक्रेनी सेनाको आकार र क्षमतालाई लिएर कायम रुसको चिन्तालाई रुस–पश्चिमी सीमालाई स्थिर गर्ने र त्यसपछि तनाव कम गर्ने व्यापक प्रयासको एक हिस्साको रूपमा सम्बोधन गर्न सकिन्छ । यो शीतयुद्धको अन्तिम समयमा भएको प्रक्रियाजस्तै हुनेछ । सन् १९७५ को हेलसिंकी सम्झौताबाट सुरु भएको तत्कालीन प्रक्रियाले युरोपका क्षेत्रीय यथास्थितिलाई सबल बनाएको थियो । ‘कन्भेन्सनल आम्र्ड–फोर्सेस इन युरोप(सिएफई)’ सम्झौतासँगै अन्त्य भएको सो प्रक्रियाले नेटो–वार्सा प्याक्ट देशको सीमाक्षेत्रमा सेना तैनाथीलाई नियमन गरेको थियो ।

अब हुने सम्झौताको अन्तिम प्रावधानमा, स्थायी युद्धविरामका बुदाको रुसी कार्यान्वयनसँग रुसमाथिको आर्थिक प्रतिबन्ध हटाउने पश्चिमको प्रतिबद्धता समावेश हुनेछ । अहिले युक्रेन वा रुस दुवैले त्यस्तो सम्झौता स्वीकार गर्ने सम्भावना कमजोर छ । युक्रेनीहरूले अझै पनि अमेरिकी समर्थनमा युरोपले युक्रेनमा सानो प्रतिरोधी सेना तैनाथ हुनेछ भन्ने आशा गरेका छन् । तथापि, त्यस्तो सम्भावना न्यून छ । रुसीहरूले पहिले नै यस्तो योजना अस्वीकार गर्ने स्पष्ट बताइसकेको छ । त्यस्तो कदममा अघि बढ्ने युरोपेली देशहरूले रुससँग युद्धको जोखिम लिन तयार हुनपर्ने हुन्छ ।

रुसले युद्धभूमिमा जितिरहेको छु भन्ने विश्वास गरिरहेसम्म कुनै सम्झौता स्विकार्नेछैन । र, त्यो दृष्टिकोण तब मात्र परिवर्तन हुनेछ, जब संयुक्तराज्य अमेरिकाले युद्धमोर्चामा रुसको प्रगति रोक्न युक्रेनलाई आवश्यक सबै मद्दत गर्न तयार हुनेछ । तर, युक्रेनीहरूको त्याग र संयुक्तराज्य अमेरिकाको दृढ सन्देशले धेरै पर्यवेक्षकले अनुमान गरेको भन्दा छिट्टै द्वन्द्वको अन्त्य गर्न सक्छ ।
नेसनल इन्ट्रेस्टबाट