
नेपाल चेम्बर अफ कमर्सले वर्तमान चुनौतीपूर्ण परिस्थितिको छिटो निकासा खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
चेम्बरले देशैभर भएको जेन–जी आन्दोलनका क्रममा जनधनमा ठुलो क्षति भएको उल्लेख गर्दै यस्ताखाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेन–जी पुस्ताका युवालाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न आह्वान गरेको छ ।
‘हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठुलो क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ,’ चेम्बरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका क्रममा भएको जनधनको ठुलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खलबल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्छ ।’
भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँचजस्ता जेन–जीले उठाएका विषयलाई सबै सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता देखिएको चेम्बरले औँल्याएको छ । आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।