मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
२o८२ भदौ २० शुक्रबार १८:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ठगी आरोपमा सिराहा नगरपालिकाका पूर्ववडाध्यक्ष साह पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १८:o३:oo

व्यक्तिगत लेनदेनका क्रममा ठगी गरेको आरोपमा सिराहा नगरपालिका– ७ का पूर्ववडाध्यक्ष उपेन्द्र साह पक्राउ परेका छन्। सिराहा– ३ की शोभा मण्डलले दिएको जाहेरीको आधारमा १५ भदौमा पक्राउ गरिएका पूर्ववडाध्यक्ष साहलाई सिराहा जिल्ला अदालतबाट दुईपटक तीन–तीन दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

‘पूर्ववडाध्यक्ष साहलाई ठगी आरोपमा पक्राउ गरी जिल्ला अदालतबाट दोस्रोपल्ट तीन दिनको म्याद थपपछि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ,’ सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने।

दिएनन् चेक फिर्ता, न कालोसूचीबाट हटाए
‘घर–व्यवहारका लागि साहसँग पटक–पटक गरी ३० लाख रुपैयाँ लिएपछि सोबराबरको चेक र धरौटीबापत दुई कित्ता जग्गासमेत दिएकी थिएँ,’ पीडित मण्डलले भनिन्, ‘करिब सात महिना पहिले हिसाब हुँदा साँवा–ब्याज गरी ३५ लाख ठहर भयो।’ साहले तत्काल केही रकम फिर्ता दिए बैंक खाता कालोसूचीबाट हटाइदिने सर्त राखेपछि थप १० लाख रुपैयाँ र २५ लाख रुपैयाँको चेक पनि दिएको उनले बताइन्।

‘त्यसको केही महिनापछि चेक फिर्ता माग्दा हरायो, खोजेर दिन्छु चिन्ता नमान्नु भन्दै आए पनि न चेक फिर्ता दिए, न त बैंक खाता कालोसूचीबाट हटाउन पहल गरे,’ उनले भनिन्, ‘उल्टै महँगो मूल्य पर्ने जग्गा हत्याउन अनेक षड्यन्त्र गर्दै मुद्दा हाले।’ आफूले गरेको लेनदेनको विषयमा बसेर कुरा गरौँ भन्दै कैयौँपटक आग्रह गरे पनि आलटाल गर्दै आएको उनको गुनासो छ। ‘जालझेल गरेर गलत ढंगले मेरो जग्गा हडप्ने षड्यन्त्र मात्र गरे,’ उनले भनिन्।

मण्डलका अनुसार छोरी उच्च शिक्षा अध्ययनका लागि विदेश जानुअघि छोरीको नाममा रहेको बैंक खातासमेत कालोसूचीमा राख्न लगाएपछि विदेश जान नपाएको उनको गुनासो छ। ‘छोरीको खाता कालोसूचीबाट हटाउन तत्काल १० लाख रुपैयाँ नगद पनि दिएँ, तर हटाउन पहलसम्म गरेनन्,’ उनले भनिन्, ‘अन्ततः छोरीको भिसा नै रद्द भयो।’

नाम सामाजिक सेवा, काम बदनाम 
गाह्रो–अप्ठ्यारो परेका व्यक्तिहरूलाई ब्याजमै भए पनि सहयोग गरी समाजसेवा गरिरहेको दाबी गर्दै आएका साहले सिराहा बजारमा कुखुराको मासु पसल चलाउँदै आएका छन्। मासु पसलसँगै विभिन्न खुद्रा बिक्रेता र कुखुरापालक किसानलाई कुखुराको दानासमेत उपलब्ध गराउँदै आएका उनको दाना लिँदै आएका कम्पनीसँग आर्थिक लेनदेनको विषयमा खटपट भएको बताइएको छ। 

स्रोतका अनुसार उनले केही वर्ष पहिले होली पर्वअगाडि भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने क्रममा चारवटा नेपाली नम्बरका चारपांग्रे जिप पक्राउ परेको थियो। पक्राउ परेका जिप छुटाउन साहले हरसम्भव प्रयास गरे पनि कुखुरा नष्ट गरी जिल्ला भन्सार कार्यालय माडर सिराहाले प्रक्रियाअनुसार जिप लिलाम गरेको थियो।

पूर्ववडाध्यक्ष साह ०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट झिनो मतले निर्वाचित भएका थिए। आफू पदामा रहुन्जेल उनले वडा क्षेत्रको विकास निर्माणभन्दा बढी समय व्यक्तिगत काम र फाइदा लिएको स्थानीयहरू बताउँछन्।

छुटाउनुभयो की ?