मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २० शुक्रबार १९:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जलवायु परिवर्तन, डढेलो र वायु प्रदूषणबिचको ‘दुश्चक्र’ झनै गहिरिँदै : डब्लुएमओ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १९:४२:oo

विश्व मौसम संगठन (डब्लुएमओ)ले जलवायु परिवर्तन, वनडढेलो र वायु प्रदूषणबिचको ‘दुश्चक्र’ झन् गम्भीर बन्दै गएको चेतावनी दिएको छ।

शुक्रबार सार्वजनिक ‘वायु गुणस्तर र जलवायु बुलेटिन–०२५’अनुसार जलवायु परिवर्तनले तापक्रम बढाउँदा विश्वका विभिन्न क्षेत्रमा वनडढेलो र मौसमजन्य घटना अत्यधिक बढेका छन्। त्यसबाट वायुमण्डलमा धुलो, धुवाँ र सूक्ष्म कण (एरोसोल)को मात्रा उच्च बनेर वायु प्रदूषण बढ्ने गरेको छ। वायु प्रदूषण जलवायु परिवर्तनलाई थप तीव्र पार्ने कारण बन्छ।

डब्लुएमओले प्रदूषण र डढेलोको धुलोधुवाँले करोडौँ मानिसको श्वासप्रश्वास प्रणालीमा सीधा असर गरिरहेको उल्लेख गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष ४५ लाखभन्दा बढी मानिसको असामयिक मृत्यु भइरहेको छ। श्वासप्रश्वास समस्या, मुटु रोगदेखि क्यान्सरसम्म यसले असर गरिरहेको छ। स्वास्थ्य मात्रै होइन, यसले वातावरण र अर्थतन्त्रमा पनि ठुलो हानि गरिरहेको छ।

वायु प्रदूषण र जलवायु संकटलाई अलग–अलग बुझ्ने भूल नगर्न पनि डब्लुएमओले चेतावनी दिएको छ। यस ‘दुश्चक्र’ले स्वास्थ्य, कृषि र अर्थतन्त्र सबै क्षेत्रमा असर परिरहेको छ।

यातायात, निर्माणसँगै कृषि बालीका अवशेष (परालसहित) जलाउने प्रवृत्ति र दाउरासहित घरेलु इन्धन प्रयोगले कुहिरोलाई झन् विषालु बनाएको प्रतिवेदनले औँल्याएको छ। प्रदूषण नियन्त्रणका लागि पराल जलाउने प्रचलनमा रोक लगाउन र घरायसी ऊर्जा, यातायात तथा प्रकाश–तापमा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न सुझाव दिइएको छ।

प्रतिवेदनले उद्योग, यातायात, खेती र डढेलोबाट निस्कने सूक्ष्म कण (एरोसोल्स)लाई चुनौतीका रूपमा प्रस्तुत गरेको छ। यी कणले कहिले वायुमण्डललाई तातो बनाउँछन् त कहिले अस्थायी चिसोपन ल्याउँछन् । ब्ल्याक कार्बनले हिउँ र हिमनदी पगालिरहेको छ।

‘एकीकृत नीति र सहकार्यको आवश्यकता’
डब्लुएमओले वायु गुणस्तर सुधार र जलवायु परिवर्तन नियन्त्रणलाई एकीकृत र समन्वयिक नीतिमार्फत मात्र सम्भव हुने निष्कर्ष निकालेको छ। कुनै एक देशले मात्र यो चुनौती समाधान गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रिय सहकार्य र निगरानी प्रणालीलाई मजबुत पार्नुपर्नेमा जोड दिइएको छ।

उपग्रहले आंशिक तथ्यांक दिए पनि यथार्थ मूल्यांकन गर्न निगरानी प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिइएको छ।

डब्लुएमओका  उपमहासचिव को बेरेटले भनेकी छिन्, ‘जलवायु परिवर्तन र वायु प्रदूषणले कुनै सीमा मान्दैनन्। भीषण गर्मी, सुक्खा र डढेलोले लाखौँ मानिसको सास फेर्ने अधिकारलाई संकटमा पारिरहेका छन्। यसको सामना केवल अन्तर्राष्ट्रिय सहकार्य र बलियो निगरानी प्रणालीबाट सम्भव छ।’ यो बुलेटिन ‘इन्टरनेसनल डे अफ क्लिन एयर फर ब्लु स्काई’ (सेप्टेम्बर ७)का अवसरमा सार्वजनिक गरिएको हो।

छुटाउनुभयो की ?