
पिपी प्रसाई फाउण्डेसनले नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले आज पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई पी.पी. प्रसाई टुरिजम् लाइफटाइम अचिभमेन्ट अवार्ड २०२५ बाट सम्मानित गरे। पूर्वसचिव ढकालको कार्यकालमा नेपाल भ्रमण वर्ष १९९८ अभियानले उल्लेखनीय सफलता हासिल गरेको थियो।
ढकालको नेतृत्वमा सन् १९९८ मा नेपाल पर्यटन बोर्ड स्थापना भएको थियो। नेपाल नागरिक उड्डययन प्राधिकरण स्थापना गर्न पनि उनको महत्वपूर्ण भूमिका थियो। पर्यटन क्षेत्रमा पुर्याएकोे योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको फाउन्डेसनले जनाएको छ।
यसैगरी फाउन्डेसनले प्रदेशस्तरीय ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८२’बाट सातजना सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई सम्मानित गरेको छ।
कोशी प्रदेशबाट केशवराज कट्टेल (फिक्कल मावि इलाम), मधेश प्रदेशबाट जितेन्द्र राम (अजिज मियाँ मावि पर्सा), बागमती प्रदेशबाट अप्सरा कुमारी घिमिरे (जनउद्धार मावि काठमाडौं), गण्डकी प्रदेशबाट विष्णु घिमिरे (राधा मावि तनहुँ), लुम्बिनी प्रदेशबाट प्रभात सुवेदी (बंगलामुखी राधाकृष्ण थारु मावि बर्दिया), कर्णाली प्रदेशबाट देवेन्द्र तिमिल्सिना उपाध्याय (कर्णाली मावि जुम्ला) र सुदूरपश्चिम प्रदेशबाट हेमराज विष्ट (धनगढी नमूना प्रावि कैलाली) सम्मानित भएका हुन्।
प्रतिष्ठानले प्रत्येक उत्कृष्ट शिक्षकलाई ५० हजार नगदसहित पुरस्कार र सम्मानका साथै पुरस्कृत शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ।
पर्यटन व्यवसायी प्रजापति प्रसाईको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्त रुप दिन २०६७ फागुन ६ गते पी.पी. प्रसाई फाउण्डेसनको गठन गरिएको हो।