
दक्षिण एसियाका किसान गर्मीयाममा मनसुनी वर्षामा निर्भर छन् । तर, पछिल्ला वर्षमा यस क्षेत्रमा भइरहेको अत्यधिक मनसुनी वर्षा विनाशकारी र घातक साबित भएको छ । सन् २०२५ को ग्रीष्मकालीन मनसुनमा अविरल वर्षा र त्यसपछिको बाढीले पाकिस्तानमा ७०० भन्दा बढीको मृत्यु भयो । वर्षाका कारण करिब दुई करोड मानिस बसोवास गर्ने बन्दरगाह सहर कराँचीका सडक डुबानमा परे । पछिल्लो बाढीपहिरोले सन् २०२२ को अपूरणीय क्षतिलाई सम्झाएको छ, जतिवेला मनसुनी बाढी देशैभर फैलिँदा ८० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए ।
पाकिस्तानमा प्राकृतिक प्रकोपको लामो इतिहास छ । घातक गर्मीको लहरदेखि अचानक आरीघोप्टे वर्षापछिको विनाशकारी बाढीसम्म । विश्वव्यापी तापक्रम बढ्दै जाँदा देशमा चरम वर्षा, अकस्मात् बाढी र हिमनदी पग्लने जोखिम बढ्दै छ । दक्षिण एसियामा हुर्केको म लामो समयदेखि पानी सुरक्षाका मुद्दामा काम गर्छु । जलवायु परिवर्तनको प्रभावले पारिस्थितिक प्रणाली, मानव समुदाय र भौतिक वातावरणमा व्यापक प्रभाव पार्छ । बढ्दो तापक्रमले वाष्पीकरण र वायुमण्डलमा आद्र्रताको मात्रा दुवै बढाउँछ, जसले गर्दा शक्तिशाली वर्षा हुन्छ । त्यति नै वेला पहाडमा तापक्रम बढ्दै जाँदा हिमनदी पग्लने गति बढ्छ । हिमनदी पग्लँदा नदीमा बहाव बढ्छ र हिमनदी फुट्न सक्छन् ।
सन् २०२५ को अगस्ट २२ मा पाकिस्तानको उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा भएको हिमनदी विस्फोटले ठुलो खतरा निम्त्यायो । त्यसपछिको बाढीले दर्जनौँ घरमा क्षति पुर्यायो र अस्थायी रूपमा नदी अवरुद्ध गर्यो । नदी अवरुद्ध भएपछि पानी जम्मा हुँदा फराकिला ताल बने । यी तालले तल्लो तटीय समुदायमा थप बाढीको जोखिम निम्त्यायो । सावधानीका रूपमा दर्जनौँ विद्यालयलाई खाली गरियो । केही साताअघि सोही क्षेत्रमा भएको मुसलधारे वर्षापछिको बाढीपहिरोमा २०० मानिस अलपत्र परे ।
पृथ्वीको क्रायोस्फियर (यसको हिमनदी, बरफको पत्र, समुद्री बरफ र हिउँको आवरण) ग्रहको जलवायु प्रणालीको एक प्रमुख भाग हो । हिउँ र बरफले ढाकिएको सतहले सूर्यको प्रकाश ८० देखि ९० प्रतिशतसम्म परावर्तित गर्न सक्छ । तापक्रम बढ्दै जाँदा परावर्तित हिउँ र बरफको सतहको क्षतिले तापक्रमलाई अझ तीव्र बनाउन मद्दत गर्छ । हालैका दशकमा हिमालय क्षेत्रमा तापक्रम तीव्र गतिमा बढिरहेको छ । २०औँ शताब्दीको सुरुमा प्रतिदशक लगभग ०.१८ डिग्री फरेनहाइट (०.१० सेल्सियस) को दरले बढेकोमा २१औँ शताब्दीको सुरुमा प्रतिदशक लगभग ०.५८ डिग्री फरेनहाइट (०.३२ सेल्सियस) को दरले तापक्रम वृद्धि भइरहेको छ । जुलाईमा पाकिस्तानमा कीर्तिमानी गर्मी भयो । पहाडी चिलासमा ११९ डिग्री फरेनहाइट (४८.५ डिग्री सेल्सियस) तापक्रम पुग्यो, जसले गर्दा वर्षाको मौसममा बाढी आएको हुन सक्छ । जब गर्मीको लहर आउँछ, विशेषगरी सिन्धु नदीको तल्लो भागमा हिउँ पग्लिएर ठुलो बाढी आउन सक्छ ।
पाकिस्तानको चुनौतीमा द्रुत गतिमा बढ्दो जनसंख्या पनि हो, जुन १९८० देखि तीन गुणाभन्दा बढीले वृद्धि भएर २५ करोड नाघेको छ । जनसंख्याको ठुलो हिस्सा (लगभग नौ करोड ६० लाख ) पानीको ठुलो बहाव भएका नदी किनार र सुकेका नदी किनार दुवै स्थानमा बस्छन् । ती क्षेत्रमा समथल र उर्वर जमिन भए पनि बाढीको जोखिम उच्च छ । बढ्दो जनसंख्यासँगै समथल क्षेत्रमा तीव्र रूपमा वन फँडानी हुने गरेको छ । जसका कारण शीतलता हटेको छ र बाढीको जोखिम तीव्र बनेको छ । मुख्यतया बन फँडानीका कारण सन् २००१ देखि २०२४ सम्म पाकिस्तानले आफ्नो रुखको आवरणको लगभग आठ प्रतिशत क्षेत्र गुमाएको छ ।
विगत दुई दशकमा मौसमसँग सम्बन्धित विपत्तिबाट सबैभन्दा बढी प्रभावित देशमध्ये पाकिस्तान पनि पर्छ । तर, नोट्रे डेम ग्लोबल एडप्टेसन इनिसिएटिभको मूल्यांकनअनुसार विपत्तिसँग जुध्न तयार हुने सन्दर्भमा भने यो विश्वव्यापी रूपमा १९२ देशमध्ये १५०औँ स्थानमा छ । पाकिस्तान राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणको हालैको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण रणनीति (२०२५–२०३०) ले सन् २००६ देखि विपत् जोखिम व्यवस्थापनमा सुधारबारे छलफल गरेको छ । तर, संस्थाबिचको कमजोर समन्वय, धेरै कम पूर्वचेतावनी प्रणाली र पर्याप्त वित्तीय स्रोत नभएका कारण पाकिस्तानको विपत् तयारी अझै पनि सीमित छ ।
पुरानो पूर्वाधार, प्राय: कमजोर जल निकासी र सहरी योजनाले गर्दा विपत्बाट मानवीय जोखिम झनै बढेको छ, जुन मेरो विचारमा विपत् जोखिम न्यूनीकरणमा मात्र निर्भर रहनु पर्याप्त छैन । पाकिस्तानमा राजनीतिक अस्थिरताले पनि विपत् प्रतिक्रियालाई खासै प्रभावकारी बनाउन सकेको छैन । देशले विपत्लाई राम्रोसँग सामना गर्न पूर्वाधार डिजाइन गरेर, प्रारम्भिक चेतावनी सञ्जाल विस्तार गरेर, जोखिम न्यूनीकरणलाई शिक्षा र नीतिको हिस्सा बनाएर र सामुदायिक तालिम र जागरुकता कार्यक्रममा सुधार गर्न सक्छ । त्यसका लागि रकम जुटाउन आवश्यक छ । प्राकृतिक र मानव निर्मित प्रकोपविरुद्ध दीर्घकालीन सुरक्षाका लागि प्रकृतिमा आधारित रणनीतिले पनि मद्दत गर्न सक्छ । उदाहरणका लागि भूक्षय र पहिरोको जोखिम कम गर्न बारम्बार वृक्षरोपण गर्ने र बाढी–प्रभावित क्षेत्रमा निर्माणका गतिविधि हुनबाट जोगाउन वा नयाँ बाढी जोखिम क्षेत्रको घोषणा वा भूमि–उपयोग योजना सुधार गर्नुपर्छ । जलवायु परिवर्तनलाई प्रेरित गर्ने हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वले पाकिस्तानलाई मद्दत गर्न सक्छ ।
(महला एरिजोना विश्वविद्यालयको जलस्रोत अनुसन्धान संस्थानका अनुसन्धान सहयोगी हुन्)
स्क्रोलबाट