मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
माइकल कुगेलम्यान
Invalid date format ११:२६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बंगलादेश–पाकिस्तान सम्बन्धको नाटकीय पुनर्स्थापना

Read Time : > 2 मिनेट
माइकल कुगेलम्यान
नयाँ पत्रिका
Invalid date format ११:२६:oo
  • बंगलादेश र पाकिस्तानबिचको सम्बन्धमा देखिएको द्रुत सुधार समग्र दक्षिण एसियाका लागि महत्वपूर्ण छ 

गत साता (२३ अगस्टमा) पाकिस्तानी विदेशमन्त्री इसाक दार दुईदिने भ्रमणका क्रममा ढाका पुगे । भ्रमणका क्रममा दारले बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुससहित वरिष्ठ अधिकारी तथा अधिकांश राजनीतिक दलका प्रमुखसँग भेटवार्ता गरे । यो पाकिस्तानी विदेशमन्त्रीको १३ वर्षपछिको ढाका भ्रमण थियो । यसअघि सन् २०१२ मा तत्कालीन विदेशमन्त्री हिना रब्बानी खार छोटो भ्रमणका क्रममा बंगलादेश पुगेकी थिइन्, जुन केवल पाँच घण्टाको थियो ।

विद्यार्थी नेतृत्वमा भएको विशाल आन्दोलनको दबाबमा गत वर्ष अगस्टमा सेख हसिनाको अढाई दशक लामो शासन अन्त्यपछिका महत्वपूर्ण परिवर्तनमध्ये एक हो, बंगलादेश–पाकिस्तानको द्विपक्षीय सम्बन्धको सुधार । यसै सन्दर्भमा दारको भ्रमण भएको हो । हसिनाको शासनकालमा ढाका र नयाँदिल्लीबिच गहिरो सम्बन्ध थियो । हसिनाको राजनीतिक तहमा मात्र होइन, परिवारिक रूपमा समेत भारतसँग विशेष सम्बन्ध रहेको छ । र, स्वाभाविक रूपमा त्यस अवधिमा बंगलादेशको पाकिस्तानसँगको सम्बन्ध निकै तिक्त थियो ।

अन्तरिम सरकारप्रमुख युनुस र पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफबिच गत वर्ष पटक–पटक भएको भेटवार्ताले दुई देशबिच प्रत्यक्ष व्यापार सुरु हुने बाटो खुलाएको थियो । बंगलादेशको स्वतन्त्रतापछि पहिलो यस कदमसँगै ढाका र इस्लामाबादले जनस्तरमा सम्बन्ध विकास गर्न चाहेको बताएका छन् । दारको पछिल्लो भ्रमणका क्रममा दुई देशबिच शैक्षिक कार्यक्रम आदानप्रदान र भिसा सुविधा विस्तारसम्बन्धी सम्झौता भयो । चाँडै दुई देशबिच प्रत्यक्ष हवाई उडान विस्तार गर्ने योजनासमेत अघि सारिएको छ ।

बंगलादेश र पाकिस्तानबिचको सम्बन्धमा देखिएको द्रुत र नाटकीय परिवर्तन समग्र दक्षिण एसियाकै लागि महत्वपूर्ण छ । तर, यस विकासक्रमले भारतीय अधिकारीलाई निराश बनाएको छ । निश्चित रूपमा हसिनाको पतन नयाँदिल्लीका लागि रणनीतिक झट्का थियो । त्यसयता बंगलादेशमा विगतमा दबाइएका धार्मिक पहिचानलाई जोड दिने इस्लामिक दलहरूको प्रभाव बढेको छ । भारत यी शक्तिलाई आफ्नो हितविरुद्ध काम गर्ने शक्तिका रूपमा हेर्छ । बदलिएको राजनीतिक माहोलमा, भारतसँग बंगलादेश–पाकिस्तानबिचको बढ्दो घनिष्टता स्विकार्नुको विकल्प छैन । भारतका लागि थप पीडादायी तथ्य, इस्लामाबादसँगको तनाव चुलिएको समयमा सो चिरप्रतिद्वन्द्वी मुलुकले आफ्नो पुरानो मित्रशक्ति ढाकालाई आफूसँग नजिक्याएको छ ।

तथापि, बंगलादेश–पाकिस्तान द्विपक्षीय सम्बन्धमा जारी पुनर्संरचना पूरै अवरोधमुक्त भने छैन । ढाका र इस्लामाबादले मुख्यत: व्यावसायिक सहयोगलाई प्राथमिकता दिन चाहेका छन् । तर, दुवै देशको बाह्य आर्थिक नीति कपडा र तयारी पोसाक निर्यातमा केन्द्रित छ । एउटै खालको सामानको उत्पादक भएकाले दुवै देश व्यापारमा प्राकृतिक प्रतिस्पर्धी हुन् । त्यसबाहेक, पाकिस्तानसँग सम्बन्ध सुधारमा जोड दिएको वर्तमान बंगलादेशी सरकार अन्तरिम प्रकृतिको हो । यसले आगामी फेब्रुअरीमा चुनाव गर्ने तयारी गरिरहेको छ । सो निर्वाचनपछि बन्ने स्थायी सरकारले अहिलेको नीति परित्याग गर्दै नयाँदिल्लीसँगको सम्बन्ध सुधारमा ध्यान केन्द्रित गर्न सक्छ । हालसम्म मतसर्वेक्षणमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) अग्रस्थानमा छ । र, सो पार्टीका अधिकांश नेताले भारतसँग सम्बन्ध सुधारको आह्वान गरिरहेका छन् । 

बंगलादेश र पाकिस्तानबिचको दिगो र ठोस साझेदारीको सबैभन्दा ठुलो अवरोध इतिहास रहेको छ । ढाकाले सन् १९७१ को बंगलादेश स्वतन्त्रता संग्राममा पाकिस्तानी सेनाले बंगाली जनसंख्यामाथि मच्चाएको क्रूरताका लागि इस्लामाबादले औपचारिक माफी माग्नुपर्ने बताउँदै आएको छ । पाकिस्तानबाट अलग हुन भएको संघर्षमा पाकिस्तानी सेनाले ‘नरसंहार’ मच्चाएको अधिकांश विज्ञको राय छ । यो विषय दारको भ्रमणमा पनि उठेको थियो ।

ढाकामा एक पत्रकारको प्रश्नको जवाफमा दारले यस विषयमा पाकिस्तानले पहिल्यैदेखि व्यक्त गर्दै आएको आधिकारिक अडान दोहोर्‍याए । पाकिस्तानका अनुसार माफीको विषय सन् १९७४ मा बंगलादेश र भारतसँग इस्लामाबादले गरेको त्रिपक्षीय सम्झौतामै सम्बोधन भइसकेको छ । त्यस्तै पुन: सन् २००२ मा बंगलादेश भ्रमणका क्रममा तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले यस विषयमा खेद प्रकट गरेको पनि उसले बताउँदै आएको छ । तर, सन् १९७४ को सम्झौता र मुसर्रफको टिप्पणी दुवैमा माफी नभएर गहिरो पश्चात्ताप मात्र प्रकट भएका थिए । 

सन् १९७१ को घटनाबारे दारको अभिव्यक्तिलाई स्वीकार गरेको हो भन्ने पत्रकारको प्रश्नमा बंगलादेशका अन्तरिम विदेशमन्त्री मोहम्मद तौहिद हुसेनको प्रतिक्रियाले पनि यस विषयमा असमझदारी कायम रहेको संकेत गर्छ । हुसेनले युद्धमा पाकिस्तानले पुर्‍याएको क्षतिका लागि क्षतिपूर्ति दिनुपर्ने पुरानो माग पनि दोहोर्‍याए । 

दुई देशको सम्बन्धमा इतिहासको अर्को बोझ बंगलादेशको मुख्य इस्लामिक दल ‘जमात–ए–इस्लामी’को पाकिस्तानसँगको सम्बन्धले निम्त्याएको छ । जमातले सन् १९७१ को युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो । पार्टीले त्यस भूमिकाका लागि पछिल्लो समय माफी मागे पनि यो मुद्दा निकै संवेदनशील मानिन्छ । दारले आफ्नो भ्रमणका क्रममा जमात नेता सफिकुर रहमानलाई समेत भेटेका थिए । 

द्विपक्षीय सम्बन्धको सबैभन्दा ठुलो परीक्षा दुई देशका जनता–जनताबिचको सम्बन्धलाई बलियो बनाउने विषयमा हुनेछ । यस्तो सम्बन्धले मात्र विश्वास निर्माण गर्न सक्छ । जनस्तरीय सम्बन्ध बलियो भयो भने मात्र त्यसले ढाकामा आगामी स्थायी सरकार, जसले बनाए पनि उनीहरूलाई द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन प्रोत्साहित गर्छ । 

(कुगेलम्यानले झन्डै दुई दशकदेखि दक्षिण एसियाली क्षेत्रको राजनीतिमाथि विश्लेषण गर्दै आएका छन्)  
फरेन पोलिसीबाट