
चाडपर्वमा खाद्यान्नलगायत उपभोग्य वस्तुको कृत्रिम मूल्यवृद्धिलाई रोक्ने उद्देश्यसहित सरकारले ३० भदौबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन् ।
खाद्य र साल्ट ट्रेडिङ सुपथ मूल्य पसलबाट बिक्री हुने चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा पाँच रुपैयाँ तथा चिउरा, आँटा, पिठो, मैदा, खानेतेलमा सात रुपैयाँ प्रतिकिलो छुट दिने भएका छन् । खाद्य संस्थानसँग मात्र रहेको कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा १० रुपैयाँ छुट दिइने भएको छ । जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी–बोका तथा च्यांग्राको मूल्यमा पनि १० रुपैयाँ प्रतिकिलो छुट दिइने खाद्य कम्पनीका सूचना माधव मिश्रले जानकारी दिए । खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
सूचना अधिकारी मिश्रका अनुसार दसैँलक्षित १५ सय खसी–बोका र तीन सय च्यांग्रासमेत खरिद गर्ने निर्णय भएको छ । ‘उपभोक्ताले खाद्य कम्पनीको वेबसाइटमार्फत खसी–बोका र च्यांग्रा अर्डर गर्न सक्नुहुन्छ,’ उनले भने । निजी कम्पनीको सहकार्यमा संस्थानले उपभोक्ताको घरसम्मै खसी–बोका र च्यांग्रा लगिदिने व्यवस्था मिलाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । कम्पनीले नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट दिने भएको छ । अहिले आयोनुनको बजार मूल्य २५ रुपैयाँ छ ।
बजार अनुगमन टोली पनि बढाइयो
अहिले दैनिक पाँच टोली खटिएर खाद्यान्न, लत्ताकपडा, माछामासुलगायतको निरीक्षण हुँदै
वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले चाडपर्वलक्षित अनुगमन थालेको छ । विभागका सूचना अधिकारी भरतप्रसाद आचार्यले यो साताको सुरुबाटै दैनिक पाँच टोलीसम्म अनुगमनमा खटाइरहेको बताए । ‘काठमाडौंसहित देशभर अनुगमनलाई तीव्रता दिने विषयमा उपभोक्ता संरक्षण समितिको बैठक बसेर निर्णय भइसकेको छ,’ उनले भने । बुधबार दिउँसो केन्द्रीय अनुगमन समितिको बैठक बसेर चाडपर्वलक्षित अनुगमनलाई तीव्रता दिने विषयमा थप निर्णय गर्ने तयारी भएको उनले बताए ।
विभागले काठमाडौंमा र विभागमातहतका पाँच क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा रहेको बजार संरक्षण अधिकृतमार्फत अनुगमनलाई तीव्रता दिन थालिएको उनले बताए । विभागले खाद्यान्न, माछा–मासु, लत्ताकपडा, फेन्सीलगायतका सामग्रीलाई प्राथमिकता दिएर अनुगमन गरिरहेको उनले बताए ।
‘अहिले दैनिक २५ देखि ३० वटासम्म पसलमा अनुगमन भइरहेको छ । जनशक्ति थपेर आउँदा दिनमा थप संख्यामा अनुगमन विस्तार गर्छौँ,’ उनले भने । गुणस्तर र अधिकतम खुद्रा मूल्यलाई कडाइका साथ लागू गर्ने गरी बजार अनुगमनकेन्द्रित हुने उनले जानकारी दिए ।