
वीरगन्जमा फैलिएको हैजा बुधबार मात्र पर्साकै पोखरिया र बाराको कलैयामा पनि देखिएको छ । तर, पाँच दिनअघिदेखि वीरगन्जबाट फैलिएको हैजाको कारण भने अझै पत्ता लागेको छैन । हालसम्म आरडिटी परीक्षणमा १४१ मा हैजा देखिएको छ । दिसाको कल्चर परीक्षणमा ३२ मध्ये २५ मा हैजाको जीवाणु कोलेरा पुष्टि भइकेको छ । आरडिटीबाट हैजा पुष्टि भएका ८४ सहित २७१ जना वीरगन्जमा अस्पतालमै छन् । झाडापखालाका बिरामीमध्ये ३५ जना आइसिसियूमा उपचाररत छन् ।
हालसम्म एक सय ४० मा हैजा देखिएकामा ५६ जना घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखाला लागेर हैजाको आशंकामा अस्पताल पुग्नेको संख्या ५२८ पुगेको छ । हैजाका संक्रमित र झाडापखालाका बिरामीहरूको नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेकिडल कलेज, भवानी अस्पताल, वीरगन्ज हेल्थकेयर, मंगलम प्याथोलोजीलगायतमा उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार झाडापखाला र हैजाबाट सबैभन्दा बढी प्रभावित वीरगन्ज महानगरका १०, ११, १२ र १३ नम्बर वडा छन् । ‘परिवारका एक सदस्य निको भएर फर्किँदा थप दुई–तीनजना अस्पताल पुगिरहेका छन्, जसकारण हैजा समुदायस्तरमा फैलिएको यकिन गरिएको हो,’ जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले भने ।
बुधबार मात्र वीरगन्जमा १५ र पोखरिया पाँच गरी २० जनामा हैजा देखिएको छ । पोखरिया अस्पतालमा दैनिक झाडापखालाका १५–२० जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
यसबाहेक वीरगन्जबाट गएका बाराको कलैया उपमहानगरपालिका, पचौराका ५५ वर्षीय पुरुषमा पनि हैजा संक्रमण देखिएको छ । पखाला र बान्ता भएपछि अस्पताल पुगेका ती पुरुषमा हैजा देखिएको प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा. अजयकुमार गुप्ताले बताए । ‘स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अस्पतालको विशेष निगरानीमा राखिएको छ,’ उनले भने ।
यसैबिच दूषित पानीका कारण हैजा फैलिएको आकलन गरिए पनि स्रोतको यकिन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । ‘आरडिटी जाँचमा हैजा देखिएपछि प्रादेशिक प्रयोगशाला, जनकपुर र केन्द्रीय प्रयोगशाला काठमाडौंमा दिसाको नमुना पठाएका थियौँ । हैजाको जीवाणु कोलेरा रहेको दुवै प्रयोगशालाबाट पुष्टि भएको छ,’ उनले भने, ‘पानीमा कोलेरा जीवाणु छ– छैन भनेर काठमाडौंमा रहेको खानेपानी प्रयोगशालमा ११ नमुना पठाइएको छ । रिपोर्ट आउन केही दिन लाग्छ भनिएको छ ।’
खानेपानी संस्थानबाट वितरण हुने खानेपानीमा क्लोरिनको मात्रा बढाइएपछि कारण पत्ता लगाउन झन् समस्या भइरहेको छ । ‘खानेपानी शुद्धीकरण गर्न क्लोरिन प्रयोग हुन्छ । हैजा फैलिएपछि क्लोरिनको मात्रा बढाइएको छ,’ उनले भने, ‘त्यही भएर हामीले डिपबोरिङको पानीको नमुना पनि पठाएका छौँ, बिहीबार थप नमुना पठाउँछौँ ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुुढाथोकीले पनि हैजाको प्रमुख कारण दूषित/दिसा मिसिएको पानी रहेको बताए । तर, हैजा फैलाउने पानीको स्रोत पुष्टि हुन नसकेको उनले बताए । ‘पक्कै पनि दूषित पानीबाटै हैजा फैलिएको हो । तर, पानीको स्रोत के हो भनेर अझै खुल्न सकेको छैन, खानेपानीको धारा, डिपबोरिङ, ट्यांकरबाट पानी वितरण हुन्थ्यो,’ डा. बुढाथोकीले भने, ‘कुनचाहिँ पानीमा हैजाको जीवाणु थियो, पत्ता लगाउन कठिन भइरहेको छ, किनभने हैजा हो भन्ने शंका लागेपछि सबैतिर क्लोरिन राखिएकोे थियो, क्लोरिन राखेपछि हैजा हो वा होइन भन्ने थाहा हुँदैन, हामी क्लोरिन नहालेको पानी खोजिरहेका छौँ ।’
डा. मनिता प्याकुरेलले नेपालमा देखिएको हैजा सिजनल आउटब्रेक रहेको बताइन् । यस्तो अवस्थामा रेस्पोन्समा ढिलाइ गर्दा भयावह भई र नियन्त्रणमा कठिन हुने उनले बताइन् । ‘तराईमा गर्मीयाममा हैजा हुन्छ । एकजनामा हुँदाबित्तिकै अर्कोमा सर्नलाई समय लाग्दैन, किनभने यो तत्काल फैलिन्छ । हाम्रो दैनिकी र सरसफाइले यसमा फरक पार्छ,’ उनले भनिन्, ‘नियन्त्रणको र ल्याब परीक्षणको रेस्पोन्स ढिलो हुँदा भयावह रूप लिन्छ । परीक्षण गरेको रिपोर्ट आउँदासम्म धेरैमा फैलिसक्छ, त्यसकारण कोलेराको एउटा केस देखिए पनि आइसोलेट गर्नुपर्छ ।’
स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको विशेषज्ञसहितको चिकित्सक टिम हैजा प्रभावित क्षेत्रमा छ ।
यसकारण हुन सक्छ हैजा
खानेकुरा वा पानीमा दिसाजन्य फोहोर मिसिँदा हैजा फैलन्छ । संक्रमित व्यक्तिको दिसाबाट १० दिनसम्म कोलेरा जीवाणु अर्कोमा सर्न सक्छ । पानीमा हैजाजन्य जीवाणु मिसिएको छ भने त्यो समुदायस्तरमै फैैलिए जोखिम हुन्छ । अहिले वीरगन्जमा देखिएको संक्रमण पनि पानीकै कारण हुन सक्ने अनुमान गरिए पनि प्रयोगशाला परीक्षण भइरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार खानेकुरामा हैजाजन्य जीवाणु मिसियो भने हैजा हुन्छ । व्यक्तिगत सरसफाइमा बढी ध्यान दिने, सफा खानेकुरा खाने, शंका लागेमा क्लोरिन हालेर पानी सफा गरेर मात्रै पिउने गर्नुपर्छ ।