
यसोदा फुड्सले भैरहवामा पहिलो ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। यस मार्टबाट ग्राहकले यसोदा फुड्सका एक सय बढी उत्पादनहरू एउटै छानामुनि किन्न पाउनेछन्। बुटवल तथा काठमाडौंमा रहेका करेन्ट पोइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि सिद्धार्थ नगरपालिका–७, नयाँ सडक भैरहवामा करेन्ट मार्ट सञ्चालनमा ल्याएको कम्पनीका निर्देशक ऋषि भण्डारीले बताए।
करेन्ट मार्टको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले भैरहवाका करेन्ट पारखीहरूका लागि मार्टले सहजै विविध परिकार उपलब्ध गराउने बताए। निजी क्षेत्रको लगानी र निरन्तरताले नै मुलुकको आर्थिक गतिविधि चलायमान बनेको बताउँदै उनले रोजगार सिर्जना र अर्थतन्त्रमा यसको ठुलो भूमिका रहने बताए।
नुडल्स पारखीहरू, विशेष गरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य रहेको कम्पनीका निर्देशक भण्डारीले बताए। करेन्ट मार्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन्। युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले भैरहवावासीलाई नौलो स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको उनले बताए । कम्पनीले यसअघि बुटवल र काठमाडौंमा ’करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ, जहाँ करेन्टका विभिन्न परिकारहरू पकाएर खान पाइन्छ।
सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। ‘करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ। स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो।
हालसम्म करेन्टका उत्पादनहरू विश्वका २८ बढी राष्ट्रहरूमा औपचारिक रूपमै निर्यात हुने गरेको छ भने नेपाली रहेका अन्य देशहरूमा पनि उपहारको रूपमा लैजाने गरिएको कम्पनीका निर्देशक सर्वण बेरिवालले बताए। देशभर दुई हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगार सिर्जना गरिएको कम्पनीको दाबी छ ।