मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format ११:१९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक व्यापारमा पुरानै नियति : पहिलो महिनामै बढ्यो व्यापार घाटा

०८२/८३ को पहिलो महिनामै व्यापार घाटा एक खर्ब १९ अर्ब, गत वर्ष साउनमा थियो एक खर्ब १६ अर्ब घाटा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१९:oo
  • गत वर्षभन्दा ११.४५ प्रतिशत बढेर एक खर्ब ४३ अर्ब रुपैयाँबराबरको वस्तु आयात 
  • गत वर्षको साउनमा १२ अर्ब २२ करोडको वस्तु निर्यात भएकोमा यो वर्ष झन्डै दोब्बर अर्थात् २३ अर्ब ९३ करोडको निर्यात
  • कुल वैदेशिक व्यापार १८.७५ प्रतिशतले वृद्धि, निर्यात उल्लेख्य रूपमा बढे पनि व्यापार घाटा २.५५ प्रतिशतले बढ्यो
  • निर्यातको हिस्सा १४.३३ प्रतिशत र आयातको हिस्सा ८५.६७ प्रतिशत छ

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो महिना साउनमा एक खर्ब ६६ अर्बको आयात–निर्यात हुँदा मुलुकलाई एक खर्ब १९ अर्ब व्यापार घाटा भएको छ । गत आव ०८१/८२ को साउनमा भने यस्तो घाटा एक खर्ब १६ अर्ब थियो ।

भन्सार विभागका अनुसार चालू आवको साउनमा एक खर्ब ४३ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ११.४५ प्रतिशतले बढी हो । गत आवको साउनमा एक खर्ब २३ अर्बको वस्तु आयात भएको थियो । 

वस्तु निर्यात भने झन्डै दोब्बरले वृद्धि भएको छ । गत आवको साउनमा १२ अर्ब २२ करोडको वस्तु निर्यात भएकोमा चालू आवको साउनमा २३ अर्ब ९३ करोडको निर्यात भएको छ । यो ९५.७५ प्रतिशतको वृद्धिदर हो । निर्यात उल्लेख्य रूपमा बढे पनि व्यापार घाटा २.५५ प्रतिशतले बढेको हो । त्यस्तै, कुल वैदेशिक व्यापारमा १८.७५ प्रतिशतको वृद्धि भएको छ । 

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने बढेको छ । व्यापारमा निर्यातको हिस्सा गत वर्ष साउनमा ८.७ प्रतिशत मात्रै थियो । तर, यसपालि साउनमा यो हिस्सा बढेर १४.३३ प्रतिशत पुगेको छ । त्यस्तै, गत वर्षको साउनमा वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.३ प्रतिशत थियो भने चालू आवको साउनमा ८५.६७ प्रतिशत छ । 

१०.८० अर्बको भटमासको तेल ल्याएर १०.६९ अर्बको निर्यात
मुलुकको आयात–निर्यात व्यापारमा भटमासको तेलको हिस्सा सबैभन्दा धेरै छ । भन्सार विभागका अनुसार साउनमा १० अर्ब ८० करोड रुपैयाँको कच्चा भटमासको तेल आयात गरेका व्यापारीले प्रशोधन गरेर १० अर्ब ६९ करोड रुपैयाँको निर्यात गरेका छन् । तेस्रो देशबाट कच्चा तेल ल्याउने र सामान्य प्रशोधन गरेर भारत निर्यात गर्ने व्यापारीबाट दिक्क भएर केही समयअघि भारतले भटमासको तेल आयातमा नियन्त्रण गर्ने नीति लिएको थियो । अहिले फेरि भारतले खुकुलो कोटा प्रणाली लागू गरेपछि व्यापारीले कच्चा भटमासको तेल आयात गर्ने र भारतर्फतर्फ निकासी गर्ने प्रवृत्ति बढाएका छन् । जसकारण निर्यातको ग्राफ बढे पनि स्वदेशी उत्पादनमा आधारित वस्तु निर्यातको अवस्था भने दयनीय छ ।

भारत र चीनबाट सबैभन्दा बढी आयात–निर्यात
नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार मुलुक भारतबाट ८३ अर्ब ५३ करोडको वस्तु आयात भएको छ । कुल आयातमा भारतको हिस्सा ५८.४ प्रतिशत छ । दोस्रो ठुलो व्यापारिक साझेदार मुलुक चीनबाट २७ अर्ब ९९ करोडको वस्तु आयात भएको छ । कुल आयातमा चीनको हिस्सा १९.५७ प्रतिशत छ । त्यसपछि अर्जेन्टिना, कतार, संयुक्त अरब, इन्डोनेसिया र अमेरिका छन् । निर्यातमा पनि भारतले ठुलो हिस्सा ओगटेको छ । भारतमा १९ अर्ब ४५ करोडको वस्तु निर्यात गरेको नेपालको कुल निर्यातको ८१.२९ प्रतिशत हिस्सा भारतीय बजारमा देखिन्छ । दोस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकामा नेपालले एक अर्ब ५४ करोडको वस्तु निर्यात गरेको छ । जमर्नी, बेलायत, संयुक्त अरब इमिरेट्स र जापान नेपालका ठुला निर्यात गन्तव्य मुलुक हुन् । 

यी हुन् धेरै आयात भएका प्रमुख वस्तु
भटमासको कच्चा तेलपछि पाँच अर्ब ८८ करोडको डिजेल आयात भएको छ । त्यस्तै, पाँच अर्ब ७७ करोडको पेट्रोल र चार अर्ब ६६ करोडको खाना पकाउने ग्यास आयात भएको छ । एक अर्ब २८ करोडको हवाई इन्धन आयात भएको छ । चार अर्ब ६५ करोडको डिएपी रासायनिक मल आयात भएको छ । तीन अर्ब ९१ करोडको फलामजन्य उत्पादन, तीन अर्ब ४१ करोडको स्मार्ट फोन र तीन अर्ब सात करोड रुपैयाँबराबर ६ सय एमएमसम्मको हट रोल्ड आइरन आयात भएको छ । पाम कच्चा तेल एक अर्ब पाँच करोडबराबरको आयात भएको छ । ८२ करोड २५ लाख रुपैयाँको सूर्यमुखी कच्चा तेल आयात भएको भन्सार विभागले जनाएको छ । 

यी हुन् धेरै निर्यात भएका प्रमुख वस्तु
साउनमा सर्वाधिक निर्यात हुनेमा भटमासको प्रशोधित तेल छ । भटमासको तेल निर्यात हिस्सा ४४.६९ प्रतिशत हो । ८२ करोड पाँच लाखको गलैँचा निर्यात भएको छ । ६७ करोड १२ लाखको प्रशोधित पाम तेल निर्यात भएको छ । ६५ करोड १४ लाखको सूर्यमुखी तेल निर्यात भएको छ । ५० करोड ९६ लाखको फेल्ट, ४६ करोडको ८५ प्रतिशतभन्दा कम पोलिस्टर भएको धागो र ३७ करोड ४५ लाखको चिया निर्यात भएको छ । ३६ करोड १३ लाखको जुटको फेब्रिक, ३४ करोड ८८ लाखको प्लाई र ३२ करोड ९८ लाखको ८५ प्रतिशतभन्दा बढीको पोलिस्टर भएको धागो निर्यात भएको छ ।