
नवलपुरको कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा आगामी कात्तिक १ गते प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति नवलपुरद्वारा आज कावासोती– १६ डण्डामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा २० जना खेलाडीले भाग लिनेछन्।
प्रतियोगितामा सातवटा प्रदेशका दुई–दुईजना गरी १४ जना र तीन विभागीय टिमका दुई–दुईजना गरी ६ जनासहित २० जना खेलाडी सहभागिता हुनेछन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुने दुईजनाले पाँच हजारको दरले पुरस्कार पाउने जनाइएको छ ।
डण्डा, झ्यालबास, गिरुबारी, चोरमारा, कोल्हुवा हुँदै डण्डा आउने आलोक चक्रपथ निर्माणको काममा भएको ढिलाइप्रति दबाब दिन र नवलपुर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न प्रतियोगिता आयोजना गरिएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले बताए ।
प्रतियोगिता कावासोतीको नवदुर्गा प्रादेशिक क्रिकेट खेल मैदानबाट सुरु भई नमुना सदरमुकाम हुँदै डण्डाबाट आलोक चक्रपथ परिक्रमा गरी डण्डामा आएर समापन गरिनेछ ।
प्रतियोगितामा प्रदेश एथलेटिक्स संघ गण्डकी प्रदेशको प्राविधिक सहयोग रहनेछ । त्यसैगरी आलोक चक्रपथ जोडिएका कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोग रहने जनाइएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको प्रवर्द्धनमा कार्यक्रम हुन लागेको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले बताए । प्रतियोगितामा सात लाख खर्च हुने अनुमान गरिएको छ ।