मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
२o८२ भदौ ५ बिहीबार १८:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्वारा दुई शिक्षक र एक विद्यार्थी पुरस्कृत, ६ जनालाई सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १८:१६:oo

‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका दुई उत्कृष्ट शिक्षक र एक विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै ६ जनालाई सम्मान गरेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गरेका स्वर्गीय शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको ०.५ प्रतिशतका दरले थप गर्ने गरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट आज बिहीबार पुरस्कृत तथा सम्मान गरिएको हो।

‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्कार–२०८२’बाट पञ्चकन्या माध्यमिक विद्यालय विजयखर्क मालाका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालय दिक्तेलका शिक्षक पदमप्रसाद आचार्य पुरस्कृत भएका छन्। प्रतिष्ठानले स्व. शिक्षक राईको चौथो वार्षिक पुण्यतिथिको अवसर पारेर दिक्तेलमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत श्रेष्ठ र आचार्यलाई जनही नगद रु २७ हजार ७७७ राशिको पुरस्कार प्रदान गरिएको हो।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८२’बाट सिद्धेश्वरी आधारभूत विद्यालय मुडेकी प्रधानाध्यापक बिन्दा थापा र कालिका माध्यमिक विद्यालय नेर्पाका प्रधानाध्यापक कृष्णबहादुर गुरुङ सम्मानित भएका प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद खनालले जानकारी दिए।

यसैगरी ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान–२०८२’बाट भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारका अध्यक्ष अम्बरबहादुर बस्नेत र ‘शुभशेर राई जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८२’बाट रावाबेँसी गाउँपालिका–१ कुभिण्डेको कालिका आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम राई सम्मानित भएका छन्।

यस्तै, ‘शुभशेर राई दीर्घ शिक्षण सेवा सम्मान–२०८२’बाट देविस्थान आधारभूत विद्यालय बडकादियालेका शिक्षक मेघराज फुँयाल सम्मानित भएका छन् भने ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८२’बाट चम्पावती माध्यमिक विद्यालय बुइपाको कक्षा–१० मा अध्ययनरत छात्रा दिया राई पुरस्कृत भएकी छिन्। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले घर भइ बुइपामा बसेर चम्पावती माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी दियाले रु सात हजार ७७७ नगदसहित प्रमाणपत्र प्राप्त गरिन्।

पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नेपालका केन्द्रीय महासचिव प्रकाश खनाल, प्रतिष्ठानका अध्यक्ष देवबिक्रम राई लगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए। स्वर्गीय शिक्षक राईको तस्वीरमा माल्यार्पणसमेत गरिएको थियो।

कार्यक्रम समापनको अवसरमा स्वर्गीय शिक्षक राईका परिवारका सदस्यले वार्षिक कमाइको ०.५ प्रतिशत जम्मा गर्दा सङ्कलन भएको रु ८० हजार रकम प्रतिष्ठानलाई उपलब्ध गराएका छन्। चार वर्षअघि स्थापना गरिएको प्रतिष्ठानको चल्ती खातामा रु आठ लाख बढी जम्मा भएको र उक्त रकमले प्रतिष्ठानको आफ्नै कार्यालय भवन निर्माण गर्ने तयारी गरिएको जनाइएको छ।