
गत महिना विकिपिडियालाई सञ्चालन गर्ने गैरनाफामूलक अमेरिकी संस्था ‘विकिमिडिया फाउन्डेसन’ले आफ्नो प्लेटफर्म कति तटस्थ छ भनेर अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि मार्गनिर्देशनको खेस्रा सार्वजनिक गर्यो । नयाँ मार्गनिर्देशनले अनुसन्धानकर्तालाई विकिपिडियाको तटस्थता कसरी अध्ययन गर्ने भनेर मात्र होइन, उनीहरूले के अध्ययन गर्नुपर्छ र अनुसन्धानको नतिजा कसरी व्याख्या गर्ने भनेरसमेत निर्देशन दिन्छ ।
यस मार्गनिर्देशनले विकिमिडिया फाउन्डेसन आफ्नै प्रभावबारे अनभिज्ञ रहेको देखाउँछ । विकिपिडियामाथि केही विश्वविद्यालयमा आबद्ध भएका, केही गैरनाफामुखी संस्था वा बाँकी अन्यत्र आबद्ध भएका अनुसन्धाताले अनुसन्धान गर्दै आएका छन् । पछिल्लो मार्गनिर्देशन चिन्ताजनक कदमका रूपमा आएको छ । म विगत १५ वर्षभन्दा बढी समयदेखि विकिपिडियाको अनुसन्धानमा संलग्न छु । एक समय विकिमिडिया फाउन्डेसनको सल्लाहकार बोर्डमा समेत रहिसकेको म यसको पछिल्लो मार्गनिर्देशनलाई लिएर चिन्तित छु । यसले विश्वको सबैभन्दा शक्तिशाली ज्ञान–भण्डारमध्ये एक रहेको विकिपिडियामाथिको स्वतन्त्र अनुसन्धानलाई निरुत्साहित गर्न सक्छ ।
नयाँ मार्गनिर्देशन विकिपिडियामाथि राजनीतिक वृत्तबाट दबाब आइरहेको समयमा आएको छ । विकिमिडिया फाउन्डेसनले हालसम्म आफ्नो प्लेटफर्मबारे मानिसले कसरी अनुसन्धान वा टीकाटिप्पणी गरिरहेका छन् भन्ने कुरामा मतलब गर्दैनथ्यो । अघिल्लो मार्गनिर्देशन गोपनीयता र नैतिकताजस्ता मुद्दामा सीमित थियो । त्यस्तै फाउन्डेसन आफ्ना स्वयंसेवकको विश्वव्यापी समुदायले गर्ने गरेको सम्पादकीय निर्णयबाट टाढै रहने गरेको देखिन्छ । तर, अब यसमा परिवर्तन आउँदै छ ।
यसै वर्ष मार्चमा फाउन्डेसनले विश्वभरका प्रमुख भाषामा छापिने आफ्ना सबै ३४२ संस्करणको ‘तटस्थ दृष्टिकोण’ नीतिहरूलाई स्तरीकरण गर्न एक कार्य–समूह बनायो । योसँगै फाउन्डेसनले आफूलाई अनुसन्धानमा प्रत्यक्ष संलग्न गर्ने भएको छ । यसैलाई पुष्टि गर्ने गरी आएको छ, यसको पछिल्लो ‘मार्गनिर्देशन’ । त्यसले अनुसन्धानकर्तालाई तटस्थता अनुसन्धान कसरी गर्ने र यसलाई कसरी व्याख्या गर्ने भन्नेबारे प्रत्यक्ष रूपमा निर्देशन दिएको छ । साथै त्यसमा विकिपिडिया अध्येताका लागि खुला र बन्द अनुसन्धान प्रश्न के हुन् भन्ने कुरालाई पनि परिभाषित गरिदिएको छ ।
उसो त विश्वविद्यालयले पनि आफ्ना अनुसन्धानकर्तालाई के गर्न पाउने वा नपाउने भनेर नियमद्वारा निर्देशित गरेको हुन्छ । यस्तोमा विकिमिडियाले आफ्नो प्ल्याटफार्ममा ल्याएको नयाँ मार्गनिर्देशनको किन चर्चा हुँदै छ त ? कारण हो, अब विकिपिडियामाथि हुने अनुसन्धानमा विकिमिडिया फाउन्डेसनको उल्लेख्य नियन्त्रण हुनेछ । यसले कोसँग काम गर्ने, कसले अनुसन्धान खर्च पाउने, कसको कामलाई प्रवद्र्धन गर्ने, कसले आन्तरिक डेटामा पहुँच पाउने निर्णय गर्नेछ । अर्थात्, यसले कुन अनुसन्धान गरिनेछ, र कुन गरिँदैन भन्ने कुरालाई प्रभावित पार्न सक्छ । अब फाउन्डेसनले तटस्थता कसरी अध्ययन गर्नुपर्छ भन्ने सर्तहरूसमेत तय गर्नेछ ।
खोटयुक्त मार्गनिर्देशन
१. तिनले तटस्थतासम्बन्धी विकिपिडियाको परिभाषा मात्र मान्य हुने ठानेका छन् । विकिपिडियाको अंग्रेजी संस्करणमा उल्लिखित नियमले कुनै आलेखले भरपर्दो स्रोतद्वारा प्रकाशित सबै महत्वपूर्ण दृष्टिकोणलाई निष्पक्ष र समानुपातिक रूपमा प्रतिनिधित्व गरे मात्र त्यसले तटस्थता प्राप्त गर्ने भनेको छ । तर, ‘न्याथानियल टिकाक्ज’जस्ता अनुसन्धानकर्ताले यो विचार पूर्ण वा सर्वमान्य नभएको देखाएका छन् । हरेक विषयलाई सधैँ फरक तरिकाले व्यक्त गर्न सकिन्छ । उदाहरणका लागि, ‘विश्वसनीय स्रोत’ भन्ने विषयमै बहस हुन सक्छ । त्यही कुरा ‘स्रोतमा सहमति’ केलाई भन्ने कुरामा पनि लागू हुन्छ ।
२. तिनले तटस्थतालाई लिएर जारी बहस टुंगिएझैँ गरिरहेका छन् । मार्गनिर्देशले विकिपिडियामा लेखिएको भाषा वा आलेखको वर्गजस्ता केही पक्षलाई तटस्थतालाई आकार दिने प्रमुख पक्ष मानेको छ । तिनले विकिपिडिया समयसँगै थप तटस्थ हुने पनि दाबी गरेका छन् । तर, निरन्तर सुधार हुने तर्कमा दम छैन । आलेखहरू जब राजनीतिक विवाद वा समन्वित आक्रमणको निसाना बन्छन्, तब ती कम तटस्थ बन्न सक्छन् । ‘गेमरगेट विवाद’ र ‘राष्ट्रवादी सम्पादन’ प्रकरणमा त्यो कुरा देखिइसकेको छ । मार्गनिर्देशले राजनीति, संस्कृति र राज्य प्रभावजस्ता महत्वपूर्ण कारकलाई पनि बेवास्ता गरेको छ ।
३. तिनले अनुसन्धानकर्तालाई अनुसन्धान कसरी गर्ने भनेर निर्देशन गर्दै छन् । मार्गनिर्देशमा अनुसन्धानकर्ताले आफ्ना निष्कर्ष विकिपिडिया समुदायसँग साझा गर्नुपर्ने भनिएको छ । हरेक आलोचनामा सुधारका लागि सुझाव पनि समावेश गरिनुपर्छ भनिएको छ । यो अनुसन्धान कस्तो हुनुपर्छ भन्ने संकीर्ण दृष्टिकोण हो । उदाहरणका लागि हामीले चलाउने ‘विकिहिस्टोरिज’ परियोजनामा, हामी अस्ट्रेलियासम्बन्धी आलेखमा रहेका पूर्वाग्रहबारे आममानिसलाई शिक्षित गर्नमा केन्द्रित हुन्छौँ । हामी वेबसाइट सुधार गर्न चाहने सम्पादकलाई समर्थन प्रदान गर्छौं । सँगसँगै अनुसन्धानकर्ताले आफ्ना निष्कर्ष जनतासँग साझा गर्न स्वतन्त्र हुनुपर्छ भन्ने विश्वास राख्छौँ । भलै यसका लागि उनीहरू असहज नै किन नहुन् ।
विकिमिडिया फाउन्डेसनले स्वतन्त्र र आलोचनात्मक अनुसन्धानलाई खतराका रूपमा हेर्न सक्छ । तर वास्तवमा, यही अनुसन्धानले नै विकिपिडियालाई सत्यनिष्ठ र प्रभावकारी राख्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । आलोचनात्मक अनुसन्धानले विकिपिडियासँग आबद्धहरू केमा तटस्थ हुने प्रयास गर्दागर्दै पनि असफल भएका छन् भन्ने कुरा देखाउन सक्छ । यसले विकिपिडियाको ‘डि–फन्डिङ’ (बजेट कटौती) वा यसका सम्पादकलाई निसाना बनाउँछ नै भन्ने हुँदैन । तटस्थता स्वचालित वा पूर्ण हुँदैन भनेर बुझ्नुपर्छ । तटस्थताका लागि मिहिनेत लगाउनुपर्छ । र, मिहिनेतमा बढी पारदर्शिता र आत्मजागरुकता समावेश गरिनुपर्छ, कम होइन । र, यसले स्वतन्त्र आवाजका लागि पनि स्थान राखिदिनुपर्छ ।
(फोर्ड युनिभर्सिटी अफ टेक्नोलोजी, सिड्नीकी सञ्चार विषयकी प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट