
रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले अड्डासारको अनुमति दिएको ७९औँ दिनमा बल्ल ललितपुरको नक्खु कारागार सारिएको छ । अदालतले अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले रुपन्देही कारागारमै राखेको थियो । २६ साउनमा मानव अधिकार आयोगको टोलीले कारागारमै पुगेर लामिछानेको अवस्थाबारे स्थलगत निरीक्षण गरेपछि स्वास्थ्य, सुरक्षा र मानव अधिकार कुनै पनि दृष्टिमा उपयुक्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।
शनिबार भैरहवा विमानस्थलबाट ५:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका लामिछानेलाई सिधै नक्खु कारागार पुर्याएर सिआरसी ब्लकमा राखिएको छ । सिआरसी आमकैदीबन्दी राखिने ब्लक हो । नक्खु कारागारका जेलर भीमराज कोइरालाले अर्को व्यवस्था नभएसम्मका लागि लामिछानेलाई सिआरसी ब्लकमा राखिएको बताए ।
‘हतारहतार लामिछानेलाई नक्खु कारागार ल्याइयो, अहिले सिआरसी ब्लकमा राखिएको छ, जहाँ आमकैदीबन्दी रहने गर्छन् । कानुनले दिएको परिधिभित्र रहेर उहाँलाई केही दिनभित्रै अर्को व्यवस्था हुनेछ । त्यस्तो व्यवस्था नहुँदासम्मको अवधिभर उहाँ सिआरसी ब्लकमै रहनुहुनेछ,’ उनले भने ।
२५ चैतदेखि भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई शनिबार कडा सुरक्षाबिच भैरहवा विमानस्थल पुर्याई काठमाडौं पठाइएको थियो । अड्डासारको तयारीबिच भैरहवा कारगार पुगेका पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र प्रवक्ता मनीष झालाई पनि भेट्न दिइएको थिएन । प्रशासनसँग निकै अनुरोध गरेपछि उनीहरूलाई केहीबेर विमानस्थलमा भेट्न दिइएको थियो । विमानस्थलमा सभापति लामिछानेसँग दुई मिनेट भेट्न पाएको प्रवक्ता झाले बताए । भेटमा लामिछानेले आफूमाथि सत्ताधारी दलले राजनीतिक प्रतिशोध साधेको, तर विचलित नभएको बताएको झाले बताए ।
‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिनँ, यो त मेरो देश हो, मेरो भूमि हो । जसरी सक्छन्, जता सक्छन्, लग्न देऊ । केही फरक पर्दैन । पूरै नेपाल मेरो घर हो । सबै नेपाली आफन्त हुन्, सबैको माया छ, सद्भाव छ, हामीमाथिको विश्वासप्रति आभार छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता झाले भने ।
काठमाडौं उड्नुअघि लामिछानेले भैरहवाका जनता, प्रहरी र कारागार प्रशासनलाई धन्यवाद दिएका थिए । ‘भैरहवाको हावापानी, यहाँको आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैप्रति कृतज्ञ छु । मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू, मलाई १२६ दिनसम्म जे–जस्तो हुन्छ खाने अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासनलगायत सबैप्रति आभारी छु,’ लामिछानेलाई उद्धृत गर्दै झाले भने ।
त्यस्तै, १२६ दिनसम्म बसेको कारागारको भित्तामा समेत सन्देश लेखेको भनेर सभापतिले बताएको प्रवक्ता झाले सुनाए । झाले लामिछानेलाई उद्धृत गर्दै कारागारको भित्तामा लेखेको व्यहोरो सुनाए, ‘अब यहाँ कृष्णहरू जन्मिनेछैन, जन्मेकाहरूले नै कृष्णझैँ बन्नुपर्नेछ ।’ काठमाडौं उड्नुअघि सुरक्षाकर्मीले छुट्टिने अनुरोध गरेको, लामिछानेले ‘अब काठमाडौंमा भेटौँला है’ भनेर बिदा भएको र जवाफमा सुरक्षाकर्मीले ‘राम्ररी पुग्नु है’ भनेको प्रसंगसमेत झाले बताए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा पुर्पक्षका लागि थुना राख्ने आदेश गरेपछि लामछिनेलाई गत २२ चैतमा काठमाडौंको बुढानीलकण्ठस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राति ९ बजे निवास पुगेको प्रहरीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखेको थियो । त्यसपछि रुपन्देही लगे पनि दुई दिन सार्वजनिक बिदा परेकाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखेर २५ चैतमा मात्रै कारागार चलान गरिएको थियो ।
लामिछानेले गत १४ जेठमा कारागारमा सुरक्षा प्रबन्ध ठिक नभएको भन्दै काठमाडौंमा अड्डासारका लागि जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । अदालतले पर्सिपल्ट अर्थात् १६ जेठमै अड्डासारका लागि अनुमति दिएको थियो । लामिछानेले अदालतको अनुमतिपत्र भोलिपल्टै कारगार प्रशासनमा पेस गरेका थिए । कारागारले निर्णयार्थ अदालतको अनुमतिपत्र कारागार व्यवस्थापन विभाग पठाएको थियो । तर, गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि विभागले लामिछानेको आड्डासारलाई स्थगित गराएको थियो । न्यूनतम सुविधाबाट समेत वञ्चित गरेर कारागारमा राखिएको तथ्य सार्वजनिक भएपछि सरकारको चौतर्फी विरोध भएको थियो । गृहमन्त्री रमेश लेखकले अदालतले अनुमति दिएको ७६ दिनपछि बल्ल लामिछानेको अड्डासारको सम्बन्धमा मुख खोलेका थिए । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गत २८ साउनमा गृहमन्त्री लेखकले लामिछानेको आड्डासारमा गृह मन्त्रालय सकारात्मक भएको जवाफ दिएका थिए । त्यसको पर्सिपल्ट ३० साउनमा विभागले लामिछानेलाई आड्डासार गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि उनलाई भैरहवा कारागारबाट लतिलपुरको नक्खु कारागारमा आड्डासार गरिएकोे हो ।
कारागार विभागका महानिर्देशक लिला प्रसाद शर्मालेले अड्डासारमा भएको ढिलाप्रति प्रतिक्रिया दिन चाहनेन् । उनले कारागारमा कानुनले दिएको सुविधा उपलब्ध गरिने बताए । ‘लामिछानेको आड्डासार गर्ने प्रसंग म विभागमा आउनुभन्दा अघिकै हो । त्यस विषयमा मेरो कुनै टिप्पणी छैन । यति हो, उहाँको अहिले अड्डासार भएको छ । अन्य कैदीबन्दीले जुन सुविधा पाउँछन्, त्यसबाट तलमाथि नहुने गरी प्रबन्ध हुन्छ । कानुनअनुसार प्राप्त हुने सुविधा उहाँले प्राप्त गर्नु हुनेछ,’ उनले भने ।
समर्थकको भिड, रविको अभिवादन
लामिछाने काठमाडौंमा अपराह्न ५ बजे अवतरण गर्ने सूचनापछि समर्थकहरू दिउँसैबाट त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल परिसर पुगेका थिए । समर्थकको भिडमा लामिछानेपत्नी निकिता पौडेल पनि थिइन् । समर्थकबाट नाराबाजी हुन सक्ने देखेपछि लामिछानेलाई प्रशासनले विमानस्थल परिसरकै आयल निगमको गेटबाट बाहिर निकालेको थियो । त्यसपछि समर्थकहरू नक्खु कारागारतिरै हान्निएका थिए । लामिछानेलाई पुर्याउनुअघि नै उनीहरू कारागार क्षेत्रमा पुगिसकेका थिए । पाँच सयभन्दा धेरै समर्थकको भिड छिचोल्दै लामिछानेलाई राखिएको सुरक्षाकर्मीको भ्यान मुस्किलले कारागार छिरेको थियो । लामिछानेले भ्यानभित्रबाटै हात हल्लाएर समर्थकलाई अभिवादन गरेका थिए ।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेका तत्कालीन सचिवालय सदस्य प्रमोद न्यौपानेले स्वस्फूर्त समर्थक जम्मा भएको बताए । उनले भने, ‘रविदाइ आउने खबरपछि दिउँसैबाट समर्थक विमानस्थल पुगेका थिए । तर, प्रशासनले उहाँलाई आयल निगमको गेटबाट सुटुक्क बाहिर निकाल्यो । समर्थक नक्खु कारागारबाहिर जम्मा भए । दुवै ठाउँमा गरी आठ सयभन्दा धेरै समर्थक हुनुहुन्थ्यो ।’