
ललितपुर महानगरले ०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको छ । महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय आठजना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो ।
सामुदायिक विद्यालयतर्फ ३.९५ भन्दा माथि ल्याउने र संस्थागततर्फ ४ जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको हो । महानगरले शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई जनही दुई लाख रूपैयाँ हस्तान्तरण गरेको छ । यसैगरी, प्रत्येक सामुदायिक विद्यालयलाई चार लाख रूपैयाँ दिइएको छ ।
संस्थागततर्फ धापाखेलको जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सामुदायिकतर्फ बुङमतीको आदर्श सौल युवक माध्यमिक विद्यालयका तीनजना विद्यार्थीमध्ये एकजनाले ४ जिपिए र दुईजनाले ९.९६ जिपिए ल्याएका छन् । ललितपुर महानगरपालिकामा शैक्षिक सत्र ०८१ को एसइई परीक्षामा ९१.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ भने ८१.०५ प्रतिशत र संस्थागततर्फ ९४.९० प्रतिशत उत्तीर्ण भएका छन् ।
महानगर प्रमुख चिरिबाबु महर्जनले एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र संस्थाका कारण महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए । उनले भने, ‘यो विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला हो।’ कोरोनाका कारण विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न गरेको निर्णय विद्यार्थी र विद्यालयका लागि हौसला बनेको प्रस्ट पारे । महर्जनले महानगरले गरेका असल अभ्यासमध्ये यो पुरस्कार र सम्मान एक भएको बताउँदै मोफसलका पालिकाहरूले पनि यो अभ्यासलाई अनुशरण गरेको बताए ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यालय र विद्यार्थीलाई बधाई दिँदै जीवनका अझै ठुल्ठुला परीक्षा पास गर्न तयार रहन सुझाव दिइन् । प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले विद्यार्थी, विद्यालय र अभिभावकको मिहिनेतका कारण सफलता प्राप्त भएकाे बताइन् । सफल विद्यार्थीलाई शुभकामना दिँदै जीवनमा आइपर्न सक्ने सबै खालका चुनौतीसँग लड्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको बताइन् ।
महानगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जनले शैक्षिक गुणस्तर सुधारका लागि कोरोनालगत्तै महानगरले सुरु गरेको सम्मान र पुरस्कारले विद्यार्थी र विद्यालयलाई प्रेरित गरेको बताए । उक्त सम्मान र प्रेरणालाई पुष्टि गर्ने आधारमध्ये एक विद्यार्थीले एसइईमा प्राप्त गरेको जिपिए भएको प्रस्ट पारे।
जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुयाँलले महानगरले संस्कृति संरक्षण, हरियाली प्रवर्द्धनसँगसँगै शिक्षा क्षेत्रमा गरेको यो असल अभ्यास भएको बताए ।ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिँदै सकारात्मक सोचसहित जिम्मेवार र इमानदार बन्न अनुरोध गरे । कार्यक्रममा पुरस्कृत विद्यार्थी र अभिभावकले मन्तव्य राखेका थिए ।