
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीबन्दीहरूले पाइरहेको सुविधा दिइएको उनले स्पष्ट पारे । लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ कि भनेर सोध्ने गरेको पनि उनले बताए ।
‘माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । त्यसबारे उहाँ त्यहाँ बस्नुभएको छ । मानवोचित र सबै कैदीबन्दीहरूले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन,’ गृहमन्त्री लेखकले भने ।
उनले लगातार रुपन्देही कारागार प्रशासनसँग समस्या समाधानका लागि केही गर्नुपर्ने भए आफूले सोधखोज गरिरहेको बताए ।
‘अब मानव अधिकार आयोगले पनि गएर केही रिपोर्टहरू दिएको छ । जेलहरू कन्जस्टेड छन् । उहाँलाई सानै भए पनि अलग्गै कोठामा राखिएको छ । उहाँ बस्नुभएको छ,’ लेखकले भने, ‘उहाँलाई लगातार त्यहाँको कारागार प्रशासनले केही समस्या छ कि, केही गर्नुपर्छ कि भनेर सोधेकै अवस्था छ । उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन । तर, न्यूनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन ।’
कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने पनि उनले बताए । कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको उनले बताए ।