
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने ९० किलोमिटर लामो चार सय केभीको न्यु दमौली–न्यू बुटवल प्रसारणलाइन निर्माणको ठेक्का नेपाली कम्पनीले हात पारेको छ । नेपालको वाइवा–सलार जेभीले सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा उक्त परियोजना निर्माणको ठेक्का पाएको हो ।
एमसिसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले हात पारेको यो नै पहिलो ठेक्का हो । यसअघि एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणमा भएको ठेक्का विदेशी कम्पनीले पाएका छन् । मंगलबारको विनिमिय दर (प्रतिडलर १४०.५६ रुपैयाँ)अनुसार वाइवा–सलारले १० अर्ब ८२ करोड ७३ लाख रुपैयाँमा उक्त परियोजना बनाउनेछ ।
यो परियोजना निर्माणका लागि चार कम्पनी प्रतिस्पर्धामा थिए । भारतको ट्रान्सरेल लाइटिङले १० करोड १४ लाख २८ हजार डलर र एन्जेलिक–स्किपर जेभीले सात करोड ८९ लाख १६ हजार डलरमा काम गर्ने गरी टेन्डर हालेका थिए । भारतकै केइसी इन्टरनेसनलले वित्तीय प्रस्ताव उल्लेख नगरी टेन्डर पेस गरेको थियो । नेपाली स्वामित्वको वाइवा–सलार जेभीले भने सबैभन्दा कम अर्थात् सात करोड ७० लाख २६ हजार डलरमा काम गर्ने गरी टेन्डर पेस गरेको थियो । प्राविधिक रूपमा समेत उत्तीर्ण भएपछि कम्पनीले यो ठेक्का पाएको हो ।
आउँदो बिहीबार (२९ साउनमा) काठमाडौंमा एक समारोहबिच ठेक्का सम्झौता गर्ने तयारी छ । बिहीबार नै थप अर्काे प्रसारणलाइन निर्माणका लागि पनि ठेक्का सम्झौता हँुदै छ । ९० किमि लामो चार सय केभी क्षमताको रातमाटे–न्यु दमौली प्रसारणलाइन निर्माणका लागि भारतको एन्जेलिक–स्किपर जेभी छनोट भएको छ । उक्त कम्पनीसँग सात करोड ७४ लाख ८० हजार डलरमा ठेक्का सम्झौता गर्न लागिएको छ ।
एमसिसीअन्तर्गत चार सय १५ किमि प्रसारणलाइन बन्दै
एमसिसी अनुदानमा चार सय केभीका चार सय १५ किमि लामा चार प्रसारणलाइन बन्दै छन् । त्यसको निर्माणका लागि पहिलोपटक १२ मंसिर ०७९ देखि ७ जेठ ०८० सम्म ग्लोबल टेन्डर आह्वान गरिएको थियो । त्यसमा कम्पनीहरूले प्रस्ताव गरेको न्यूनतम वित्तीय प्रस्ताव अनुमानित लागतभन्दा ६६ प्रतिशत महँगो भएपछि २६ असोज ०८० मा उक्त टेन्डर रद्द गरेको थियो । त्यसपछि यसको डिजाइन परिवर्तन गरेर लागत घटाइएको थियो ।
१८ किलोमिटर लामो चार सय केभी क्षमताको ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारणलाइन बनाउन भने १४ भदौ ०८० मा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । एक करोड २३ लाख ६० हजार डलरमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । त्यसपछि बाँकी दुई सय ९७ किमि प्रसारणलाइन निर्माणका लागि १२ मंसिरदेखि ७ फागुनमा टेन्डर आह्वान गरिएको थियो । त्यसमा आवश्यक प्रक्रिया पूरा गरेर दुई प्रसारणलाइनको ठेक्का सम्झौता गर्न लागिएको हो ।
लप्सीफेदी–हेटौँडा प्रसारणलाइनमा ६ कम्पनीको प्रस्ताव
प्रसारणलाइनतर्फ अब एक सय १७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारणलाइनको ठेक्का लाग्न बाँकी छ । यस परियोजना निर्माणका लागि ६ कम्पनीको प्रस्ताव आएको छ । नेपालका आशिष–बोजलार जेभीले १६ करोड १४ लाख ९४ हजार डलर र सगुन–सलार जेभीले ११ करोड १५ लाख आठ हजार डलरमा परियोजना बनाउने गरी प्रस्ताव पेस गरेका छन् । त्यस्तै, चिनको छिङदाओ हुइचिन्तोङ पावर इक्विपमेन्ट कम्पनीले नौ करोड ५८ लाख ५९ हजार डलर, टर्कीको सारा इनेर्जी इन्साट टिकेर एन्ड सारा टेक्नोलोजी जेभीले १४ करोड ९८ लाख १८ हजार डलर र भारतको ट्रान्सेल लाइटिङले १२ करोड १९ लाख ६९ हजार डलरमा काम गर्ने गरी प्रस्ताव पेस गरेको छ । भारतको केइसी इन्टरनेसनलले प्रस्ताव पेस गरे पनि वित्तीय प्रस्ताव उल्लेख गरेको छैन । हाल ठेकेदार छनोटको प्रक्रिया अघि बढिरहेको बताइएको छ ।