मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २९ बिहीबार o६:o६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर कैदी फरार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार o६:o६:oo

सुनसरीको झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहान एकजना कैदी फरार भएका छन् । सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाट फरार भएको जेलर सुवासकुमार लामिछानेले बताए ।

उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएको जेलर लामिछानेले बताए । ‘मुढा बुन्ने बाँसहरूको सहयोगमा अप्रत्याशित रूपबाटै भागेको देखिन्छ,’ उनले भने, ‘योजनासहित करिब १८ फिट अग्लो पर्खाल नाघेर भागेको पाइएको छ ।’ वर्षा भइरहेकाले उनी भागेको थाहा हुन नसकेको लामिछानेको भनाइ छ । फरार कैदीको खोजी रहेको उनले बताए । जिल्ला अदालत सुनसरीले गत २५ चैतमा खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसअघि उनी २१ साउन ०८१ बाट पुर्पक्षका लागि कारागारमा थिए ।

यसअघि २३ कात्तिक ०६९ मा पनि झुम्का कारागारबाट सुरुङ खनेर १२ जना कैदी फरार भएका थिए । जसमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर गत २४ कात्तिक ०८१ मा सार्वजनिक गरेको थियो । ११ जना अझै फरार छन् । एक हजार ६ सय कैदीबन्दी क्षमता रहेको झुम्का कारागारमा हाल एक हजार ७९५ छन् । 

छानबिन समिति गठन
कैदी रूपक पौडेल खत्री फरार भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा प्रहरी निकाय, राष्ट्रिय अनुसन्धान विभाग, कारागारलगायत क्षेत्रका प्रतिनिधिलाई सदस्यका रूपमा राखिएको छ । समितिले कारागारको वस्तुस्थितिको अध्ययन गर्ने र कैदी फरार भएको सन्दर्भसमेत समेटेर प्रतिवेदन तयार पार्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ‘कैदी फरार भएपछि सबै निकाय समेटेर छानबिन समिति गठन गरेका छौँ,’ उनले भने, ‘समितिले काम गरिरहेको छ, चाँडै प्रतिवेदन तयार गर्छौँ, दोषी पत्ता लागेपछि कारबाही हुन्छ ।’