मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २७ मंगलबार १३:४७:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आर्हीले ल्याइन् अंग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १३:४७:oo

अभिनेता आर्यन सिग्देलकी भान्जी आर्हीले अंग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छिन् । अस्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बार्न्सले गरेका छन् भने संगीत फोसिल र नेप्सेकले तयार पारेका छन् । गीतमा डार्क–पप, हिप–हप र नेपाली/एसियाली संगीतको प्रभाव समेटिएको गायिका आर्हीले बताइन् ।

‘टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो । यो गीत मैले त्यतिवेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ । गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्त्वहरू समावेश छन् । यसले विषाक्त सम्बन्धको कथा भन्छ, जहाँ कसैलाई देखाइने भावनाहरू सधैँ साँचो हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ,’ उनले भनिन् । 

बाल्यकालदेखि नै गीतसंगीतप्रति लगाव रहेको बताउँदै आर्हीले गायनमा रुचि बढेको स्मरण गरिन् । उनले भनिन्, ‘बाल्यकालमा गीत गुनगुनाउँदा गायनलाई निरन्तरता दिन सुझाव प्राप्त भएको थियो । मेरो जीवनको हरेक अवस्थामा एउटा गीतले साथ दिएको छ । गीतसंगीतको यही पक्षले मलाई यो पेसामा अगाडि बढ्न प्रेरित गरेको छ ।’

‘टक्सिक ट्रुथ’मार्फत सांगीतिक यात्रा सुरु गरेकी आर्हीले संगीत र कलाप्रति आफ्नो लगाव कहिल्यै कम नहुने बताइन् । उनले थपिन्, ‘अवसर प्राप्त भएमा नेपाली गीत गाउनुका साथै नेपाली परियोजनाहरूमा सहभागी हुनेछु । नेपाली गीतसंगीतले मेरो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । संगीतमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनु मेरो सपना हो ।’

गीतको भिडियोमा आर्ही स्वयं फिचर्ड छिन् । भिएफएक्सको भरपूर प्रयोग गरिएको यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका छन् । एक दशकअघि भिडियो निर्देशनमा सक्रिय दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा व्यस्त छन् । निर्देशक केसीले भिडियोमा इन्स्टलेसन आर्टको प्रयोग गरिएको बताए । उनले भने, ‘गीत सुनेपछि यो इन्स्टलेसन आर्टको माध्यमबाट प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्यो । यो त्रि–आयामिक कला शैली हो, जसले दर्शकलाई कलाकृतिभित्रको वातावरणमा प्रवेश गराएर अनुभव प्रदान गर्छ । इन्स्टलेसन आर्टले दर्शकलाई केवल हेर्ने मात्र नभई कलाभित्र प्रवेश गरेर अनुभूत गर्न प्रेरित गर्छ, जसले भावनात्मक, बौद्धिक वा सामाजिक सन्देश प्रवाह गर्छ । भिडियोमा प्रयोग भएको भिएफएक्सको प्रशंसा भएको छ, जसलाई हाम्रो टिमले निकै मिहिनेतले तयार गरेको हो ।’

डेभ डी प्रोडक्सनले निर्माण गरेको उक्त भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका छन् भने छायांकन विनोद श्रेष्ठले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन पोस्ट प्रोमा सम्पन्न भएको छ । उक्त भिडिओलाई आर्हीकै युट्युबबाट सार्वजनिक गरिएको छ ।