Skip This
कञ्चनपुर कारागार : पञ्चायतकालीन पुरानो भवन, क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण २७ मंगलबार o९:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुर कारागार : पञ्चायतकालीन पुरानो भवन, क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार o९:४५:oo

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेका छन्। ६ दशक अघि बनेको कारागार भवन जीर्ण हुनुका साथै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।  ०२३ सालमा निर्माण भएको पहिलो कारागार भवनमा २० महिला, ७५ पुरुषसहित ९५ कैदीबन्दी क्षमताको कारागारमा साढे चार सयभन्दा बढी कैदीबन्दी रहेका छन् । दुई वर्षअघि मात्रै नयाँ भवन निर्माण भएपछि थप ६५ जना अट्ने क्षमता विस्तार भएको छ । 

अहिले २० महिलासहित १४० गरेर १६० क्षमता रहेको कारागारमा ४७५ कैदीबन्दी रहेका छन्। केही निश्चित मुद्दामा प्यारोल सुविधामा हालसम्म ४६ कैदीबन्दी छुटेका छन्। कारागारको तथ्यांकअनुसार सबैभन्दा बढी लागुऔषध १७८, कर्तव्य ज्यान ५७, मानब बेचबिखन १९, जबर्जस्ती करणी ९९, चोरी ६७, ज्यान मार्ने उद्योग सात, ठगी तीन, बैकिङ कसुर सात, वन दुई, सार्वजनिक अपराध ६ सवारी ज्यान आठ, वन्यजन्तु एक, बहुविवाह ११, विविध सात कैदीबन्दी रहेका छन्। 

कारागारको नाममा पाँच बिघा जमिन छ, जमिन पर्याप्त हुँदाहुँदै पनि भवन निर्माणमा सरकारले चासो दिएको छैन । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले क्षमताभन्दा तीन गुनाभन्दा बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा समस्या भएको बताए। ‘हामीले उपलब्ध  स्रोतसाधनको अधिकतम प्रयोग गरेर व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘नयाँ भवन निर्माणका लागि हामीले डिपिआर बनाएर विभागमा पठाएका छौँ।’ 

उनले १५ सय क्षमताको भवन निर्माणका लागि पठाएको बताए। आइतबार कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी, जिसस प्रमुख दुर्गादत्त बोहरा, नेपाल पत्रकार महासंघ अध्यक्ष सुरेशसिंह धामी, अधिकारकर्मी भगवती थापाले स्थलगत अनुगमनका क्रममा कैदीबन्दीले कारागारमा थुप्रै समस्या रहेको दर्शाएका थिए। 

उनीहरुरूमक्ष कैदीबन्दीले बस्ने भवन, शौचालय, शुद्ध खानेपानीको माग अघि सारेका थिए। माफी मिनाह प्यारोलजस्ता सुविधा सबै मुद्दाका कैदीबन्दीहरूलाई समान सुविधा दिनुपर्ने, कैदीबन्दीमाथि आश्रित बालबालिकाको उचित व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागार सुरक्षाका लागि प्रशासनसहित सुरक्षा निकाय तैनाथ रहेको बताए। प्रजिअ ढकालले अन्यन्त्र कारागारजस्तो कञ्चनपुरमा अवस्था जटिल नभएको दाबी गर्दै कुनै सामान्य समस्या आए तुरुन्तै समाधानका लागि त्यही अनुरूप तयारी रहेको बताए ।