
काठमाडौंको तारकेश्वर नगरपालिका– ११, नेपालटारमा आज करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
स्थानीय हिलेटोल हाइटस्थित फाइबर वर्ल्ड कम्युनिकेसन प्रालिमा काम गर्ने सोही नगरपालिका– ४, पुरानो गुह्येश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका– ८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए ।
नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।
यसैबिच काठमाडौं महानगरपालिका– २०, कोहिटी डेरा गरी बस्ने दाङ गढवा गाउँपालिका– ६ घर भएकी ३० वर्षीया सुनिता योगीको कोठाबाट ल्यापटप एक थान, मोबाइल एक थान र नगदसमेत गरी करिब रु. एक लाखबराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।