
तनहुँमा वन्यजन्तुबाट क्षति भएका सर्वसाधारणलाई डिभिजन वन कार्यालय तनहुँले करिब ३७ लाख राहत वितरण गरेको छ ।
डिभिजन वन कार्यालय तनहुँले मानवीय र पशुधनको क्षतिबापत रु. ३६ लाख ९३ हजार ४३९ राहत वितरण गरेको हो ।
आर्थिक वर्ष ०८१/८२ मा चितुवाको आक्रमणबाट मृत्यु भएका तीन बालबालिकाको परिवार र वन्यजन्तुबाट क्षति भएका पशुधनको राहतपीडितलाई उक्त सहयोग गरिएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए।
चितुवाको आक्रमणबाट उक्त आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाका तीनजना बालबालिकाको मृत्यु भएको थियो । ०८१ साउन ३ गते बन्दीपुर गाउँपालिका- ५, कामीडाँडाका १३ वर्षीय सुन्दर कुमाल, चैत २९ गते बन्दीपुर गाउँपालिका- २, कामीडाँडामा १० वर्षीया अनुजा विक र गत जेठ २६ गते बन्दीपुर गाउँपालिका- २, कुवादीमा ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
मृतकका परिवारलाई जनही रु. १० लाखका दरले राहत रकम प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले बताए । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।
यस्तै, चितुवाको आक्रमणबाट घाइते म्याग्दे गाउँपालिका- २ का मानबहादुर गर्जामगरलाई उपचारका लागि रु. एक लाख सात हजार र भालुको आक्रमणबाट घाइते भानु नगरपालिका- १२ की कल्पना गिरीलाई रु. २४ हजार ४३९ सहयोग गरिएको छ ।
चितुवाको आक्रमणबाट क्षति भएका पशुधनको राहतबापत रु. पाँच लाख ६२ हजार वितरण गरिएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार त्यस अवधिमा चितुवाको आक्रमणबाट ४७ बाख्रा, एउटा भैँसी, १२ वटा गाईगोरु मरेका थिए ।
भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतंक छ । चितुवाको आक्रमणबाट पछिल्लो आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय तनहुँले चितुवाबाट जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरूको विशेष ख्याल र रेखदेख गर्न आग्रह गर्दै आएको छ ।