
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिलाई सेवा र धर्मको रूपमा स्थापित गर्ने बताएका छन् । बुधबार बिहान कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले राजनीति केवल व्यापार होइन, सेवा र धर्म हो भन्ने आफ्नो विश्वासलाई स्थापित गर्ने बताए । ‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हाेइन,’ उनले भने, ‘व्यापारमा नाफा र नोक्सान हेरिन्छ । राजनीतिले न्याय दिनुपर्छ । र, हामी जनतालाई न्याय, शान्ति र विकास दिनका लागि राजनीतिमा लागेका हौँ ।’
उनले जनताको सेवा र गरिब, निमुखा नागरिकहरूको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । ‘मैले यो बाटोमा एक दिन पनि अलमलिनुछैन, सदैव सत्य र न्यायका लागि उत्तरदायी र जिम्मेवार भएर काम गर्नेछु,’ उनले प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले आफ्ना निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नं. २ (ख) का गरिब र विपन्न परिवारहरूको घर निर्माणका लागि आफूले प्राप्त गर्ने तलब र भत्ताबाट सहयोग गर्ने घोषणा पनि गरे । उनले प्रदेश सरकारले यहाँका नागरिकप्रति उत्तरदायी, जिम्मेवार र पारदर्शी भएर परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कांग्रेसका तर्फबाट सरकारमा सहभागी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र विनाविभागीमन्त्री शिवराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।