मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
२o८२ श्रावण २१ बुधबार १३:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा फेरि सारियो लगानी सम्मेलनको मिति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १३:४o:oo

सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको मिति पुनः सारेको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी असोजमा गर्ने तय भएको लगानी तथा विकास सम्मेलन आगामी १ र २ मंसिरमा सार्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार तयारी नपुगेको कारण लगानी सम्मेलनको मिति सारिएको हो । 

यसअघि आगामी असोज १ र २ मा लगानी सम्मेलन गर्ने निर्णयसहित सरकारले तयारी गरेको थियो । सम्मेलनको तयारीस्वरूप सरकारले गत जेठमा तयारी सम्मेलनसमेत सम्पन्न गरिसकेको छ । नेपाल सरकारका मन्त्रीहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, दातृ निकाय, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागितामा धनगढीमा पूर्वतयारी सम्मेलन भएको थियो ।

सुदूरपश्चिममा लगानी र लगानीकर्ता भित्र्याउने उद्देश्यले २३–२४ फागुन २०८० मै लगानी सम्मेलन गर्ने सरकारको तयारी तथा निर्णय थियो । तर, आवश्यक सबै तयारी नपुगेको कारण देखाएर सम्मेलनको मिति २१–२२ असोज २०८१ लाई सारियो । उक्त मितिमा पनि सम्मेलन हुन सकेन । एक वर्षपछि सारिएको सम्मेलनको मिति तयारी नपुगेको भन्दै अहिले पुनः सारिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गरी प्रदेशको आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने उद्देश्यले लगानी सम्मेलन सम्मेलन गर्ने तयारी रहेको बताए । केही समयअघि भारतको औपचारिक भ्रमणमा गएका मुख्यमन्त्री शाहले उक्त भ्रमणले लगानी तथा विकास सम्मेलनलाई समेत टेवा पुर्‍याउने दाबी गरे ।

लगानी सम्मेलनलाई लक्षित गरेर नयाँ नीति तथा कानुन निर्माण एवं मौजुदा कानुनको संशोधनको तयारी भइरहेको उनले बताए । यसबाट लगानीमैत्री वातावरण निर्माण हुने शाहको भनाइ छ । त्यस्तै, परियोजना पहिचान गर्ने र सम्मेलनको प्रचारप्रसारका कामहरू भइरहेका मुख्यमन्त्री शाहले जानकारी दिए । एसियाली विकास बैंकले सुदूरपश्चिम प्रदेशको एकीकृत आर्थिक तथा पर्यटन विकास सम्बन्धमा अध्ययन गरी प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । प्रतिवेदनमा उल्लेखित पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययनसमेत गरिएका सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्त्वपूर्ण पाँचवटा परियोजनालाई प्रदेशले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनमा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने सरकारको तयारी छ ।

एसियाली विकास बैंकले लगानी तथा विकास सम्मेलन सफल बनाउन आयोजनामा लागत साझेदारी तथा अन्य सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको मुख्यमन्त्री शाहले जानकारी दिए । सरकारले विभिन्न समिति र उपसमिति गठन गरेर लगानी सम्मेलनको तयारीका कामहरू गरिरहेको छ ।