
काठमाडौं जिल्ला क्रिकेट संघले पाँच क्रिकेटकर्मीलाई सम्मान गरेको छ । बुधबार धुम्बाराहीस्थित होटेल स्मार्टमा भएको छैटौँ साधारणसभाबाट जिल्ला क्रिकेटको विकासमा पुर्याएको योगदानको आधारमा सम्मान गरेको अध्यक्ष दिवाकर घलेले जानकारी गराए ।
सम्मानित हुनेमा दुई खेलाडी छन् । नेपाल यू–१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसी र कृष्मा गुरुङ रहेका छन् । काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यू–१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतसहित २४६ रन प्रहार गरेका थिए ।
यस्तै, महिला टिमकी खेलाडी कृष्मा गुरुङलाई पनि सम्मान गरिएको थियो । दुवैले समान जनही पाँच हजार प्राप्त गरे । त्यस्तै, आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो ।
उनीहरूलाई बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, केन्द्रीय सदस्य दुर्गानाथ पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेललगायतले सम्मान गरेका थिए ।
छैटौँ साधारणसभामा बोल्दै अध्यक्ष घलेले वर्षभरि ६ कार्यक्रम गराउन सफल भएको बताए । घलेको नेतृत्वमा काठमाडौं क्रिकेट संघले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, वाइवाइ यू– १९ पुरुष छनोट, दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसिसी यू–१६ इस्ट जोन कप छनोट), आइसिसी यू–१९ महिला विश्वकप र एसिया कप छनोट तथा ‘०’ लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना गराएको थियो ।
घलेले काठमाडौं जिल्लाले जिल्लाको मात्र नभई नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै खेलाडीहरूलाई उच्चस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्नु संघको दायित्व भएको जानकारी गराए । क्यानका सचिव खड्काले काठमाडौं जिल्ला क्रिकेट, बागमती प्रदेश हुँदै केन्द्रमा पुग्न सफल भएको स्मरण गरे । उनले जिल्ला र प्रदेश क्रिकेटकै मेरुदण्ड भएको बताउँदै आर्थिक रूपमा पनि बलियो हुँदै गएको बताए । सचिव खड्काले आगामी दिनमा जिल्ला र प्रदेशले धेरै कार्यक्रम गर्नुपर्ने तथा चुनौती सामना गर्न पनि तयार रहन अनुरोध गरेका छन् ।