
एनसेल भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपालबाहिर जाने ग्राहकका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको हो ।
यससँगै अब ग्राहकले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी ‘सधैँ अन’ रहन सक्नेछन् ।
एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको जनाएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार गर्दै सोमबारबाट लागू हुने गरी भारत जाने ग्राहकका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो । ग्राहकलाई भारत भ्रमणका वेलामा गुणस्तरीय सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गर्न पाएकोमा कम्पनी खुसी रहेको र थप अन्तर्राष्ट्रिय मोबाइल सेवाप्रदायकसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षण गरिरहेको एनसेलले जनाएको छ ।
भोल्टे दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । यसले फोरजी नेटवर्कमार्फत अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्छ ।
एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल र भरिजोन, जापानका सफ्टबैंक र एनटिटी डोकोमो, चीनको चाइना मोबाइलसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको छ ।